प्रिय केही “आफ्ना” मान्छेहरू,
अहँ, मलाई दिन केही पर्दैन,
तिमीहरूलाई थाहा नै छ,
म त सङ्घर्षको मैदानबाट
अरू कसै सँग होइन,
आफैले आफै सँग सङ्घर्ष गर्दै,
कैयौँ वसन्त देखि,
एक्लै यात्रा गर्दै आएको देखेकै छौ,
म त कसैको आशा गर्ने मान्छे पनि होइन,
कसैको भर मात्र पर्ने मान्छे पनि होइन,
म त भुँइमान्छे हुँ
आफ्नो कर्म गर्छु
आफ्नो धर्म निभाउँछु
खान पाइयोस् होइन,
दिन पाइयोस् भन्छु,
यता बसूँ कि उता,
हिजो पनि,
आज पनि,
र भोलि पनि !
तर,
तिमीहरू तिम्रा विगत भुल्न खोज्छौ होला
बिर्सिए जस्तो गर्छु भन्ने सोच्छौ होला
कृतघ्नको कोटीमा आफै पर्छौ होला,
तिम्रा विगत भुलेको नाटक पनि गर्छौ होला,
यसो बेला बखत,
पछाडि मान मर्दन गर्न अघि पनि सर्छौ होला,
बाहिर जतिसुकै फुर्ति लगाऊ
तिम्रो विगत तिमीलाई जति,
अरू कसलाई पो थाहा हुन्छ र !
सोध तिमी आफैले आफैलाई,
बुझ तिमी आफैले आफैलाई,
पर्दा तिमीलाई हात दिने,
सधै तिमीलाई साथ दिने,
टेक्ने डाली दिने,
समाउने हाँगो दिने,
तिम्रा आँसु पुछने मान्छे,
आजकल तिमीलाई प्रिय नलाग्न पनि सक्छ
किनकि,
कृतघ्नहरूको स्वभावै यस्तै हुन्छ रे !
आफू कृतज्ञ हुनेमा परियो,
परिएन कृतघ्न हुने मान्छे,
तर पनि,
सुनेको छु, देखेको पनि छु,
दोहोर्याएर भन्छु :
प्रिय केही “आफ्ना” मान्छेहरू,
अहँ, मलाई दिन केही पर्दैन,
यदि तिमी मलाइ दिन चाहन्छौ भने,
मात्र “आफ्नो पन” को अलिकति आभास दिए पुग्छ,
मात्र आभास, चाहिँदैन अरू केही पनि !
त्यो पनि बेला र बखत हेरी,
प्रिय केही “आफ्ना” मान्छेहरू,
सधै राम्रो देख्न पाउँ तिम्रो
सधै राम्रो सुन्न पाउँ तिम्रो
कपाल नदुखोस् कहिल्यै पनि तिम्रो !
प्रतिक्रिया