अमेरिकाको कोलोराडोस्थित बोल्डर सहरमा आयोजित ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कलाकर्मीहरूलाई सम्मान तथा विशेष सांगीतिक प्रस्तुतिसहित भव्यतापूर्वक सम्पन्न भएको छ। नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन तथा Philip Harmony Orchestra Boulder को संयुक्त आयोजनामा भएको कार्यक्रम बोल्डर थिएटरमा दर्शकहरूले खचाखच भरिएको बीच सम्पन्न गरिएको हो।
यो वर्षको दीर्घसाधना सम्मान करिब पाँच दशकदेखि नेपाली कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ। साथै अभियान श्री अवार्ड, स्मृति सम्मान, उत्कृष्ट चलचित्रदेखि उत्कृष्ट अभिनेता–अभिनेत्रीसम्मका विभिन्न विधामा अवार्ड वितरण गरियो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पदम विश्वकर्मा अभियान श्री अवार्डबाट सम्मानित भए। चलचित्र विकास बोर्ड तथा नायिका स्वस्तिमा कार्की क्रमशः गिहिन्द्र धिमाल र रामकेशर बोगटी स्मृति सम्मानबाट सम्मानित भए। चलचित्र पुर्णबहादुरको सारंगी का नायक विजय बराललाई जूरी अवार्ड प्रदान गरिने घोषणा गरिएको छ।
NFS Felicitation Award Diaspora भने विदेशी भूमिमा बसोबास गर्ने नेपालीहरूको लगानीमा बनेका चलचित्र डोरी र कर्मालाई प्रदान गरियो। त्यस्तै तेलभिसा र त्यसका निर्देशक शंकर घिमीरे पनि सम्मानित भए।
फिल्म अफ दी इयरमा पुजार सार्की, डाइरेक्टर अफ दी इयरमा निर्देशक दिनेश रावत, एक्टर अफ दी इयरमा अभिनेता प्रदिप खड्का, अभिनेत्री पुरस्कारमा बोक्सीको घरकी केकी अधिकारी, वेष्ट सपोर्टिङ रोलमा छक्का पञ्जा ५ का केदार घिमिरे, स्टार अफ डिकेडमा दिलीप रायमाझी, डेब्यू एक्टरमा समिर भट्ट बारगाउँ, लण्डन टु पेरिसबाट गरिमा शर्मा, र कमिङ अप स्टारमा दिव्या रायमाझी सम्मानित भए।
समारोहका विशेष अतिथीहरू वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य सम्राज्ञी बसुन्धरा भुषाल, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, तथा आङ तेम्वा शेर्पालाई विशेष अतिथि सम्मान प्रदान गरियो। साथै सुनिल पाठक, गजेन्द्र कार्की, कृष्ण सुनार, गौतमबुद्ध महर्जन तथा IBC Independent Buyer Company लाई विशेष प्रशंसा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम नेपालको र अमेरिकाको राष्ट्रियगान बजाएर सुरु गरिएको थियो। मुख्य अतिथि बोल्डर सिटीका मेयर Aaron Brockett तथा विशेष अतिथि बोल्डर काउन्टी कमिस्नर Martha Loachamin लगायतका अतिथीहरूले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए। अमेरिकासहित बाहिरका विभिन्न देशबाट आएका नेपाली कलाकारहरूको उल्लेखनीय उपस्थिति कार्यक्रमभरि देखिन्थ्यो।
संयोजक तथा वक्ताहरू—मेयर Brockett, कमिस्नर Loachamin, अलस्टेट इन्स्योरेन्सका शुनिल पाठक, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले कलाकर्मीलाई सम्मान गर्ने यस्तो अन्तर्राष्ट्रिय समारोहमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे।
ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष तथा अभिनेता नवराज श्रेष्ठले कार्यक्रम भव्यतापूर्वक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष कृष्ण मल्लका अनुसार ‘नेपाली फिल्म, भिलेज टु ग्लोबल’ नाराका साथ २०१६ देखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड यसपटक पनि सफलतापूर्वक सम्पन्न भएको हो। अघिल्ला संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्कमा सम्पन्न भएको थियो।
यस वर्ष पनि दर्शकको अपार माया र सद्भावका कारण कार्यक्रम अत्यन्त सफल भएको आयोजकले जनाएको छ। तर सिट अभावका कारण करिब १५० भन्दा बढी अतिथिलाई फर्किनुपर्ने परिस्थितिप्रति क्षमायाचनासमेत गरिएको छ।
कार्यक्रम निशा पाठक र फिरोज तिमल्सेनाले सञ्चालन गरेका थिए। कलाकार केदार घिमिरे, शम्भुजित बास्कोटा, कृष्णमुरारी ढुंगेल, महादेव त्रिपाठी, मनोजराज शिवाकोटी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका गीत–संगीत, नृत्य र कलात्मक प्रदर्शनले दर्शकको मन जित्न सफल भएका थिए।











प्रतिक्रिया