परदेशमा छु म तर याद छ नेपालमा आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन । बुवा, आफै बुवा भएर जिम्मेवारी निभाउँदा बल्ल थाहा हुने रहेछ बुवा भन्ने चिजको महत्त्व र अर्थ। हजुर जीवित हुँदै पनि अलिकति बुझेर छोराको भूमिका निर्वाह गर्दै थिएँ, अचानक तपाईँ हामीहरूलाई छाडेर सदाका लागि स्वर्ग प्रस्थान गर्नुभएको पनि आज २९ वर्ष भएछ ।
आफै बुवा बनेपछि दिनहरू जति ढल्दै जान्छन् त्यति बुवालाई बुझ्दै छु, बुवा तपाईँको योगदान मनन गर्दै छु। म हरेक दिन मात्र होइन, हरेक पल पल तपाईँ लाई मिस गरिरहेको छु । तपाईँको अभाव सधै सधै खड्की रहेको छ । मेरा स्वर्गीय बुवा भविश्वर खनाल सहित सबै सबै बुवाहरूमा हार्दिक मङ्गलमय शुभकामना र उच्च सम्मान व्यक्त गर्दछु ।
बुवा तपाईँका हरेक बचनहरू मलाई महावाणी सरह लाग्छन् । आजको दिन मात्र होइन तपाईँको तस्बिर हरेक दिन मन भित्र, मैले पुज्ने देवी देवताको मन्दिरमा देवी देवता सरह सँगै राखेर र मानेर पुज्ने गरेको छु । तपाईँको सपना पुरा गर्न सत्कर्ममा निरन्तर खटिरहेको छु । तपाईँ भौतिक रूपमा हामी बिच नरहे पनि हाम्रो मन मस्तिष्कमा सधै सधै साथ हुनुहुन्छ बुवा । बुवा आमा भन्दा ठुला देवी देवता मैले आज सम्म देखेको छैन । आजको दिनमा मेरा आफन्तजन लगायत हरेक हरेकलाई यही भन्न चाहन्छु – बुवा आमाको मन नदुखाऔँ । वहाँहरूको सम्मान गर्दै वहाँहरूको छत्रछाया, माया र आशीर्वादमा अगाडि बढौँ । साथमा नहुनेले पनि बुवाको स्मरण गरौँ ।
बुवा घरका धुरी हुन, छाना हुन, तार बार हुन, खुसी हुन, माहुरी हुन, सब थोक हुन । आफू रोएर पनि श्रीमती र सन्तान हाँसेको देख्न चाहने अचम्मका प्राणी हुन । सर्वस्व मानिने आमाका पनि महा सर्वस्व हुन, संरक्षक हुन । जो जसका बाबु जीवित हुनुहुन्छ वहाँहरू संसारका भाग्यमानी, जो जसका बाबु र आमा दुवै जीवित हुनुहुन्छ वहाँहरू संसारका सबैभन्दा भाग्यमानी मान्छे हुनुहुन्छ मलाई त्यस्तो लाग्छ ।
कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना। सबै सबैको जय होस ।
प्रतिक्रिया