Washington DC, US : August 21, 2026, Friday 09:48 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा !|विदेशी हतियारमाथिको निर्भरता घटाउँदै युक्रेन, आफ्नै ‘Equalizer’ ग्लाइड बम !|ट्रम्पको इतिहासकै ठुलो धम्की पछि इरानको जबाफ, चीनले गर्यो बिरोध, अब के हुन्छ ?|न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस|ट्रम्पको ‘आर्थिक युद्ध’ असफल हुने तेहरानको दाबी|इरान विरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर आर्थिक अभियान’ घोषणा गर्दै ट्रम्प|अमेरिकी B1/B2 भिसामा नेपालीमाथि बढ्दो कडाइ|अमेरिका,क्यानडा व्यापार सम्झौता अन्तिम चरणमा|रबि भन्छन ‘बालेनसंग कुनै मतभेद छैन, मन्त्री फेरबदलको कुनै तयारी छैन, रास्वपाभित्र गुटबन्दी छैन’|Cartoon

हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा ! - रामप्रसाद खनाल

  NepalMother.com | ५ भाद्र २०८३, शुक्रबार ०९:१९

माया गरौँ, साथ दिऔँ तर आत्मसम्मान गुमाएर होइन, एकतर्फी सम्बन्धभन्दा सम्मानपूर्ण दूरी कहिलेकाहीँ धेरै स्वस्थ हुन्छ।

“तपाईँले उनीहरूबाट कुनै आशा, अपेक्षा वा रिटर्न नखोज्नुस्, तर परेको बेला तपाईँले हात दिँदा, साथ दिँदा, माया गर्दा, विश्वास गर्दा, सम्मान गर्दा, आफ्नो पनको आभास दिँदा वा दिन खोज्दा तपाईँलाई नबुझ्नेहरू, तपाईँकै ब्याक बाइटिंग गर्न पछि नपर्ने ती आफ्ना होउन् वा साथीभाइ, वा जो सुकै, त्यस्तालाई सके सम्म असल नियतले आँखा देखाउने, सम्झाउने प्रयास गर्नुस्, यदि उनीहरू तपाईँलाई बुझ्दैनन् वा बुझ्न चाहन्नन् भने, आफ्नो पन बुझ्दैनन् भने त्यस्ता मान्छेहरूलाई अलि परै दूरी बनाएर राख्नुस्, वास्ता नगर्नुस् , फेरि फर्केर पनि तिनीहरुलाई महत्व नदिनुस् तपाईँको कल्याण हुन्छ। त्यस्ता एकतर्फी सम्बन्धहरू राख्नु भन्दा तोड्नु नै उत्तम हुन्छ। जिन्दगीका कैयौँ वसन्तहरूले सिकाएको पाठ हो यो ।”

मानिस सामाजिक प्राणी हो। जन्मदेखि मृत्युसम्म ऊ परिवार, आफन्त, साथीभाइ, सहकर्मी, छिमेकी र समाजका अनेक सम्बन्धको घेराभित्र बाँच्छ। जीवन सुन्दर बनाउने पनि यिनै सम्बन्ध हुन्, र कहिलेकाहीँ जीवनका सबैभन्दा गहिरा चोट दिने पनि सम्बन्धकै मानिस हुन्छन्।

जीवनमा सकेसम्म कसैबाट धेरै आशा, अपेक्षा वा प्रतिफल खोजेर सम्बन्ध राख्नु हुँदैन। कसैलाई सहयोग गर्दा “भोलि उसले मलाई पनि गर्ला” भनेर हिसाब राखेर सहयोग गरियो भने त्यो आत्मीयताभन्दा परको कुरा हुन्छ। माया गर्दा बदलामा माया नै चाहिन्छ भन्ने सर्त राख्नु आवश्यक छैन तर एक हातले तालि बज्दैन । कठिन समयमा कसैलाई हात दिनु, दुःखमा साथ दिनु, विश्वास गर्नु, सम्मान गर्नु र “तिमी एक्लो छैनौ” भन्ने आफ्नोपन दिन सक्नु मानिसको सुन्दर गुण हो।

तर यसको अर्को पाटो पनि छ, असल हुनु र आफूलाई बारम्बार प्रयोग हुन दिनु एउटै कुरा होइन।

तपाईंले कसैलाई त्यो आफन्तजन होस् वा इस्टमित्र वा जो सुकै, सधैँ साथ दिइरहनुभएको छ, उसका अप्ठ्यारा दिनमा उसंगै उभिनुभएको छ, उसको प्रतिष्ठाको रक्षा गर्नुभएको छ, विश्वास गर्नुभएको छ, सके जति हात र साथ् दिनुभएको छ, उसको सफलता मा खुसी हुनुभएको छ; तर त्यही व्यक्तिले तपाईंको अनुपस्थितिमा तपाईंको बदख्वाइँ गर्छ, कुरा काट्छ, तपाईंको सद्भावलाई कमजोरी ठान्छ, आवश्यक पर्दा मात्र सम्झिन्छ र तपाईंको सम्मान गर्नसमेत आवश्यक ठान्दैन भने त्यस्तो सम्बन्धबारे पुनर्विचार गर्नु स्वाभाविक मात्र होइन, आवश्यक पनि हुन सक्छ।

सम्बन्ध कुनै बैंकको खाता होइन, जहाँ जति जम्मा गर्‍यो उति नै फिर्ता आउनुपर्छ। तर सम्बन्ध सधैँ एउटैले दिने र अर्कोले लिइरहने व्यवस्था पनि होइन।

समाजशास्त्र र मनोविज्ञानमा यसलाई reciprocity अर्थात् पारस्परिकताको दृष्टिले अध्ययन गरिएको छ। अनुसन्धानहरूले परिवार, मित्रता र विश्वासमा आधारित सम्बन्धहरूमा लामो समयसम्म पारस्परिकताको अभाव हुँदा असन्तुष्टि र नकारात्मक भावनासँग सम्बन्ध देखिएको बताएका छन्। ५०५ युवामाथि गरिएको एक अध्ययनमा आफूले धेरै सहयोग दिइरहेको तर पर्याप्त सहयोग नपाइरहेको अनुभव गर्नेहरूमा असन्तुष्टि बढी देखिएको थियो।

ब्रिटेनको Whitehall II अध्ययनका हजारौँ सहभागीमाथि गरिएको विश्लेषणले पनि निकट सम्बन्धमा निरन्तर पारस्परिकताको अभावलाई कमजोर मानसिक तथा शारीरिक स्वास्थ्यका विभिन्न सूचकसँग सम्बन्धित पाएको थियो। सन् २०२६ मा प्रकाशित जापानी वृद्धवृद्धासम्बन्धी अर्को अध्ययनले समेत सामाजिक सहयोगको पारस्परिकता र मानसिक स्वास्थ्यबीच सम्बन्ध रहेको देखाएको छ।

यसको अर्थ “मैले तपाईंलाई एक पटक फोन गरेँ, तपाईंले पनि गर्नैपर्छ” भन्ने होइन। स्वस्थ सम्बन्ध दैनिक हिसाबकिताबमा चल्दैन। कुनै बेला तपाईंलाई बढी सहयोग चाहिन्छ, कुनै बेला अर्को व्यक्तिलाई। बिरामी हुँदा, आर्थिक कठिनाइमा पर्दा, पारिवारिक समस्या हुँदा वा मानसिक रूपमा कठिन चरणमा रहँदा सम्बन्ध अस्थायी रूपमा एकतर्फी देखिन सक्छ। साँचो सम्बन्धको मूल्यांकन एउटा घटनाले होइन, लामो समयको व्यवहारले गर्नुपर्छ।

समस्या तब सुरु हुन्छ जब एकतर्फीपन अपवाद होइन, चरित्र र निरन्तर प्रवृत्ति बन्छ।

तपाईं चाहिँ सधैँ फोन गर्ने, तपाईं नै भेट्न जाने, तपाईं नै सम्बन्ध बचाउने, तपाईं नै माफी माग्ने, तपाईं नै अप्ठ्यारोमा सहयोग गर्ने; तर अर्को पक्षलाई तपाईंको भावना, सम्मान वा अस्तित्वसँग खासै सरोकार छैन भने त्यहाँ सम्बन्धको नाम त बाँकी रहला, सम्बन्धको आत्मा भने कमजोर भइसकेको हुन सक्छ।

झन् विडम्बना त त्यतिबेला हुन्छ जब तपाईंको सामुन्ने अत्यन्त आत्मीय देखिने व्यक्ति तपाईं फर्किएपछि तपाईंविरुद्ध कुरा काट्न थाल्छ। मनोविज्ञानसम्बन्धी अनुसन्धानमा अफवाह फैलाउने, सामाजिक रूपमा अलग पार्ने वा विश्वासघातमार्फत चोट पुर्‍याउने व्यवहारलाई relational aggression को रूप मानिएको छ। गसिपले मानिसको प्रतिष्ठा र अरूले उसमाथि गर्ने विश्वासमा समेत प्रभाव पार्न सक्ने अध्ययनहरूले देखाएका छन्।

नेपाली समाजमा यो विषय अझ जटिल !

हाम्रो संस्कारले “आफन्त भनेको आफन्त हो”, “साथीलाई छोड्नु हुँदैन”, “नातागोता बिगार्नु हुँदैन”, “मान्छेले के भन्लान्?” जस्ता धारणालाई ठूलो महत्त्व दिन्छ। परिवार र समुदायप्रतिको उत्तरदायित्व हाम्रो समाजको सुन्दर पक्ष हो। दुःखमा मलामी जाने, बिरामी पर्दा भेट्न जाने, विवाहदेखि शोकसम्म साथ दिने, समस्यामा आर्थिक र भावनात्मक सहयोग गर्ने परम्पराले नेपाली समाजलाई बाँधेर राखेको छ।

तर यही संस्कारको गलत अर्थ लगाएर कसैले निरन्तर अपमान सहनुपर्छ भन्ने होइन।

आफन्त भएकै कारण तपाईंलाई होच्याउने अधिकार कसैलाई हुँदैन। पुरानो साथी भएकै कारण तपाईंको विश्वास तोडिरहने छुट कसैले पाउँदैन। तपाईंले कुनै बेला सहयोग गर्नुभएको व्यक्तिलाई तपाईंको प्रतिष्ठामाथि प्रहार गर्ने लाइसेन्स प्राप्त हुँदैन।

त्यसैले कुनै सम्बन्धमा समस्या देखियो भने पहिलो उपाय सम्बन्ध तोड्नु होइन बरु सम्झाउनु हो। असल नियतले कुरा गर्नुस्। “तपाईंको यो व्यवहारले मलाई दुख्यो” भन्नुस्। गलतफहमी छ भने हटाउने प्रयास गर्नुस्। कसैले अरूबाट सुनेको कुरामा विश्वास गरेको छ भने वास्तविकता स्पष्ट पार्नुस्।

तपाईं स्वयं गलत हुनुहुन्छ भने स्वीकार गर्नुस्, माफी माग्नुस् र सुधार गर्नुस्। किनकि आत्मसम्मानको अर्थ अहंकार होइन। आफूले कहिल्यै गल्ती गर्दिनँ भन्ने व्यक्ति पनि स्वस्थ सम्बन्ध बनाउन सक्दैन।

तर तपाईंले बारम्बार स्पष्ट पार्दा पनि बुझ्न नचाहने, तपाईंको सद्भावलाई कमजोरी ठान्ने, तपाईंको माया, बिश्वास, सम्मान, साथ् र सहयोग को उपेक्षा गर्ने, तपाईंको उपस्थितिमा एउटा र अनुपस्थितिमा अर्को व्यवहार गर्ने, उनीहरु लाई आवश्यक पर्दा र स्वार्थका लागि मात्र नजिकिने र तपाईंको सम्मानमाथि बारम्बार चोट पुर्‍याउने मानिससँग ती आफन्त हौं वा साथि भाइ वा जो सुकै उनीहरु संग दूरी बनाउनु, टाढै राख्नु खराब काम होइन।

दूरी बनाउनु भनेको दुश्मनी गर्नु होइन।

ब्लक, बदला, गाली वा सार्वजनिक अपमान नै समाधान हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ शान्त रूपमा सम्बन्धको प्राथमिकता घटाइदिनु पर्याप्त हुन्छ। फोन कम गर्न सकिन्छ। निजी कुरा बाँड्न बन्द गर्न सकिन्छ। अनावश्यक भेटघाट घटाउन सकिन्छ। विश्वासको घेरा साँघुरो बनाउन सकिन्छ। त्यहि नै त्यस्ता अबुझ हरुका लागि एक प्रकार को सजाय पनि हो ।

सबैलाई आफ्नो हृदयको पहिलो पङ्क्तिको सिट दिनैपर्छ भन्ने छैन। कसैलाई क्षमा गर्न सकिन्छ, तर फेरि पहिले जस्तै विश्वास नगर्न पनि सकिन्छ। कसैप्रति द्वेष नराखी पनि दूरी कायम गर्न सकिन्छ। कसैको नराम्रो नचाहेर पनि उसलाई आफ्नो जीवनबाट महत्त्वहीन बनाउन सकिन्छ। यही भावनात्मक परिपक्वता हो।

हामीमध्ये धेरैलाई एउटा भ्रम हुन्छ -“मैले यति धेरै गरेँ, उसले किन बुझेन?”

उत्तर सधैँ जटिल हुँदैन। कहिलेकाहीँ मानिसले तपाईंले दिएको माया बुझेन भन्ने होइन, उसले त्यसको मूल्य नै दिएन। तपाईंले दस पटक गरेको सहयोग बिर्सेर एक पटक सहयोग गर्न नसकेको दिन सम्झिने मानिस पनि भेटिन्छन्। तपाईंले सय पटक जोगाएको प्रतिष्ठा बिर्सेर सानो असहमतिको भरमा तपाईंको कुरा काट्नेहरू पनि भेटिन्छन्।

त्यहाँ पुगेर आफूलाई एउटा प्रश्न सोध्नुपर्छ – मैले यो सम्बन्ध किन बोकेर हिँडिरहेको छु? मायाका कारण? कर्तव्यका कारण? पुरानो सम्झनाका कारण? कि “मान्छेले के भन्लान्?” भन्ने डरका कारण? सम्बन्ध केवल पुरानो छ भन्दैमा राम्रो हुँदैन। कतिपय पुराना सम्बन्ध जीवनका अमूल्य निधि हुन्छन्, कतिपय पुराना सम्बन्ध केवल पुराना मात्र हुन्छन्।

मानिसको जीवन सीमित छ। समय सीमित छ। ऊर्जा सीमित छ। विश्वास पनि सीमित छ। त्यसैले जसले तपाईंलाई साँच्चिकै बुझ्छ, तपाईं सफल हुँदा खुसी हुन्छ, कठिन समयमा तपाईंको हात समाउँछ, तपाईं उपस्थित नभए पनि तपाईंको प्रतिष्ठाको रक्षा गर्छ र तपाईंको कमजोरीलाई हतियार बनाउँदैन, त्यस्ता मानिसलाई चिनेर जोगाउनु जीवनको ठूलो बुद्धिमत्ता हो।

अनुसन्धानले पनि सामाजिक सहयोग कल्याणसँग जोडिएको देखाउँछ, तर सहयोगको सकारात्मक प्रभाव पारस्परिकताको अनुभूतिसँग अझ बलियो हुन सक्ने प्रमाण छन्। त्यसैले धेरै मानिसको भीडभन्दा थोरै तर विश्वसनीय सम्बन्ध मूल्यवान् हुन सक्छन्।

अन्ततः, जीवनले सिकाउने सबैभन्दा गहिरा पाठ विद्यालय वा विश्वविद्यालयका किताबमा हुँदैनन्। केही पाठ विश्वासघातबाट सिकिन्छन्। केही अपमानबाट। केही अत्यधिक अपेक्षाबाट। केही आफ्नै सरलताले चोट पाएपछि। समयसँगै बुझिन्छ – सबैलाई माया गर्न सकिन्छ, तर सबैलाई विश्वास गर्न आवश्यक छैन। सबैको भलो चाहन सकिन्छ, तर सबैलाई आफ्नो जीवनमा बराबर स्थान दिन आवश्यक छैन। सहयोग गर्न सकिन्छ, तर आफूलाई प्रयोग हुन दिनुपर्दैन। क्षमा गर्न सकिन्छ, तर बारम्बार एउटै चोट खान फर्किनुपर्दैन।

पहिले सम्झाउनुस्। सक्दासम्म सम्बन्ध जोगाउनुस्। गलतफहमी हटाउनुस्। आफ्नो गल्ती भए सच्याउनुस्। तर तपाईंको सद्भाव, विश्वास, माया, साथ र सम्मानलाई निरन्तर बेवास्ता गर्ने, तपाईंलाई बुझ्नै नचाहने र तपाईंको पिठ्युँ पछाडि तपाईंलाई नै कमजोर पार्ने मानिसले आफूलाई सुधार्न चाहँदैन भने उसलाई बदल्ने जिम्मेवारी तपाईंको होइन। त्यस्तो अवस्थामा शान्त रूपमा एक कदम पछाडि हट्नुस्। वास्ता कम गर्नुस्। अपेक्षा शून्यमा झार्नुस्। आफ्नो समय र ऊर्जा योग्य मानिसका लागि बचाउनुस्। किनकि कतिपय सम्बन्ध बचाउँदा जीवन सुन्दर हुन्छ, तर कतिपय सम्बन्धबाट दूरी बनाउँदा जीवन अझ शान्त हुन्छ। एकतर्फी सम्बन्धलाई जीवनभर घिसारिरहनुभन्दा सम्मानपूर्वक छोडिदिनु कहिलेकाहीँ उत्तम हुन्छ। यो रिसले सिकाएको सिद्धान्त होइन। यो बदलाको भाषा पनि होइन।

जीवनका धेरै अनुभवपछि एउटा कुरा झन् स्पष्ट हुँदै जान्छ—एक हातले ताली बज्दैन। सम्बन्ध जोगाउन, विश्वास टिकाउन, आत्मीयता कायम राख्न र मित्रता बलियो बनाउन दुवै पक्षको इच्छाशक्ति, सम्मान र सद्भाव आवश्यक हुन्छ। एउटाले मात्र सधैँ तानिरहने र अर्कोले सधैँ छोडिरहने सम्बन्ध धेरै टाढासम्म जान सक्दैन।

तपाईं कसैलाई माया गर्न सक्नुहुन्छ। विश्वास गर्न सक्नुहुन्छ। कठिन समयमा हात समात्न सक्नुहुन्छ। ऊ लड्दा उठाउन सक्नुहुन्छ। थाक्दा काँध दिन सक्नुहुन्छ। समस्या पर्दा उसको भारी आफ्नै काँधमा हालेर बोक्नसमेत सक्नुहुन्छ। आवश्यक परे आफ्नो समय, श्रम, सामर्थ्य र सुविधासमेत त्यागेर उसको पक्षमा उभिन सक्नुहुन्छ।

तर अन्ततः एउटा सीमा हुन्छ।

औँला काटेर दिन सकिन्छ, तर “अब आफैँ खाऊ वा निल” भनेर आफ्नो सम्पूर्ण अस्तित्व कसैलाई सुम्पन सकिँदैन। त्यहाँसम्म पुगेर मानिसले आफूलाई पनि जोगाउन सिक्नुपर्छ।

कसैको दुःखमा साथ दिनु महानता हो, तर उसलाई आफ्नो कमजोरी बनाएर बस्नु बुद्धिमानी होइन। कसैलाई पटकपटक उठाउनु करुणा हो, तर ऊ प्रत्येक पटक तपाईंको काँध चढेर तपाईंलाई नै तल धकेल्छ भने त्यहाँ करुणासँगै विवेक पनि चाहिन्छ।

हाम्रा बुढापाकाले भनेका छन्—गुणको मूल्य गुणीले बुझ्छ। बैगुनीलाई गुणको अर्थ हुँदैन।

तपाईंले जतिसुकै असल नियतले व्यवहार गर्नुस्, सबै मानिसले त्यसलाई एउटै आँखाले हेर्दैनन्। कसैले तपाईंको सहयोगलाई माया ठान्छ, कसैले कर्तव्य; कसैले सौभाग्य ठान्छ, कसैले आफ्नो अधिकार। अझ कसैले तपाईंको निरन्तर सद्भावलाई कमजोरी ठान्न थाल्छ।

यहीँ मानिसले फरक छुट्याउन सिक्नुपर्छ।

तपाईंलाई चाहिएको बेला मात्र सम्झिने मानिस र तपाईंलाई चाहिएको बेला साथ दिने मानिस एउटै हुँदैन।

तपाईं हाँस्दा नजिकिने मानिस धेरै भेटिन्छन्; तपाईं रोएको बेला छेउमा बस्ने मानिस थोरै हुन्छन्। तपाईं सफल हुँदा ताली बजाउने मानिस भेटिन्छन्; तपाईं असफल हुँदा “म छु” भनेर काँध थाप्ने मानिस दुर्लभ हुन्छन्। तपाईंको अगाडि मीठो बोल्नेहरू धेरै हुन्छन्; तपाईं अनुपस्थित हुँदा पनि तपाईंको सम्मान जोगाइदिनेहरू नै वास्तवमा आफ्ना हुन्।

त्यसैले आफ्नोपन शब्दले होइन, व्यवहारले चिनिन्छ।

कसैले तपाईंलाई “आफ्नो” भन्छ कि भन्दैन भन्नेभन्दा महत्वपूर्ण कुरा – उसले तपाईंलाई आफ्नोझैँ व्यवहार गर्छ कि गर्दैन भन्ने हो।

सम्बन्धमा हिसाबकिताब गर्नु राम्रो होइन। “मैले यति गरेँ, तिमीले पनि यति गर्नुपर्छ” भन्ने व्यापारिक मानसिकताले आत्मीयता कमजोर बनाउँछ। तर यसको अर्थ एउटाले जीवनभर दिइरहने र अर्कोले लिइरहने असन्तुलनलाई पनि सम्बन्ध भन्नुपर्छ भन्ने होइन।

नदी समुद्रसम्म पुग्छ किनकि बाटो हुन्छ। बाटो नै बन्द भयो भने पानीले अर्को दिशा खोज्छ। त्यसैगरी, तपाईंको माया, विश्वास र सद्भाव बारम्बार अपमानित भइरहे भने आफ्नो ऊर्जा त्यहीँ खन्याइरहनुभन्दा त्यसलाई सही ठाउँमा लगाउनु बुद्धिमानी हुन्छ।

कहिलेकाहीँ हामी मान्छे गुमाउन डराएर आफूलाई नै गुमाइरहेका हुन्छौँ। कसैलाई रिसाउला भनेर सत्य बोल्दैनौँ। सम्बन्ध बिग्रेला भनेर अपमान सहन्छौँ। आफन्त टाढा होला भनेर आफ्नै मनलाई चोट दिन्छौँ। साथी छुट्ला भनेर बारम्बार उसको गलत व्यवहारलाई सही ठहर्‍याउँछौँ। तर आफूलाई सधैँ चोट पुर्‍याएर जोगाइएको सम्बन्ध वास्तवमा कति स्वस्थ हुन्छ? सम्बन्ध जोगाउनु महत्त्वपूर्ण हो, तर आफूलाई जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण हो।

कसैलाई माया गर्नुको अर्थ आफूमाथिको माया समाप्त गर्नु होइन। कसैलाई विश्वास गर्नुको अर्थ विवेक बन्द गर्नु होइन। कसैलाई साथ दिनुको अर्थ आफ्नो आत्मसम्मान बन्धकी राख्नु होइन।

तपाईंले कसैलाई सयपटक गुण लगाउनुभयो र उसले त्यसको बदलामा गुण फर्काउन सकेन भने पनि कुनै गुनासो नहुन सक्छ। आखिर असल काम प्रतिफलका लागि गरिएको होइन। तर तपाईंले गरेको गुणकै बदलामा उसले तपाईंको बदख्वाइँ गर्छ, तपाईंको प्रतिष्ठामा चोट पुर्‍याउँछ, तपाईंको सरलतालाई प्रयोग गर्छ वा तपाईंको विश्वासमाथि बारम्बार प्रहार गर्छ भने त्यहाँ चुप लागेर बस्नु उदारता होइन।

कहिलेकाहीँ चुपचाप दूरी बनाउनु नै सबैभन्दा सभ्य जवाफ हुन्छ।

बदला नलिनुस्। घृणा नपाल्नुस्। उसको नराम्रो नचाहनुस्। तर आफ्नै जीवनमा उसलाई त्यही पुरानो स्थान पनि नदिनुस्। किनकि क्षमा र पुनः विश्वास फरक कुरा हुन्।

तपाईं कसैलाई क्षमा गर्न सक्नुहुन्छ, तर फेरि आफ्नो गोप्य कुरा सुनाउनैपर्छ भन्ने छैन। उसको भलो चाहन सक्नुहुन्छ, तर फेरि उसलाई आफ्नो जीवनको निर्णायक ठाउँमा ल्याउनैपर्छ भन्ने छैन। नमस्कार गर्न सकिन्छ, तर फेरि पुरानो आत्मीयताको ढोका खोल्न आवश्यक नहुन सक्छ।

सबैलाई दोस्रो मौका दिन सकिन्छ; तर कसैलाई अनन्त मौका दिनुपर्छ भन्ने छैन।

तपाईंले बारम्बार हात बढाउनुभयो, उसले प्रत्येक पटक त्यसै हातमा चोट पुर्‍यायो भने एक दिन हात फिर्ता लिनु पर्छ। त्यसलाई अहंकार होइन, आत्मरक्षा र आत्मसम्मान भनिन्छ।

समयले अर्को कुरा पनि सिकाउँछ – असल मान्छे हुनु र सबैका लागि सहज उपलब्ध भइरहनु एउटै कुरा होइन। तपाईंको समय, तपाईंको विश्वास, तपाईंको प्रेम, तपाईंको सद्भाव र तपाईंको उपस्थितिको पनि मूल्य छ। जसले त्यसको मूल्य बुझ्दैन, उसलाई बारम्बार प्रमाणित गरिरहनु आवश्यक छैन कि तपाईं कति असल हुनुहुन्छ।

फूलले आफ्नो सुगन्ध प्रमाणित गर्न हरेक मान्छेको पछाडि दौडिँदैन। जसमा सुगन्ध महसुस गर्ने क्षमता छ, उसले आफैँ महसुस गर्छ।

त्यसैले जीवनमा माया गरौँ, तर विवेकसहित। विश्वास गरौँ, तर आँखै चिम्लेर होइन। सहयोग गरौँ, तर आफ्नो सामर्थ्य समाप्त गरेर होइन।
अप्ठ्यारोमा हात दिऔँ। आवश्यक पर्दा काँध हालेर बोकौँ। आफ्नोपन निभाऔँ। गुण लगाऔँ।

तर एउटा कुरा सम्झिरहौँ – बैगुनी मानिसका लागि गुणको कुनै अर्थ नहुन सक्छ। उसले तपाईंको त्यागलाई त्याग होइन, सहज सुविधा ठान्न सक्छ। तपाईंको मौनतालाई शिष्टता होइन, कमजोरी ठान्न सक्छ। तपाईंको क्षमालाई परिपक्वता होइन, फेरि त्यही गल्ती गर्ने अनुमति ठान्न सक्छ।

त्यस्तो अवस्थामा मानिस बदल्ने ठेक्का आफूले लिनु हुँदैन।

सम्झाउनुस्न – बुझे दूरी बनाउनुस्।
माया दिनुस्अ – पमान नकिन्नुस्।
विश्वास गर्नुस्वि – श्वासघातलाई सामान्य नमान्नुस्।
साथ दिनुस्—तर आफू डुबेर अरूलाई बचाइरहनु पनि आवश्यक छैन।

अन्ततः जीवनको शान्ति सबैसँग सम्बन्ध राखेर आउँदैन; कसलाई नजिक राख्ने र कसलाई सम्मानपूर्वक टाढा राख्ने भन्ने बुद्धिबाट पनि आउँछ।

जिन्दगीका कैयौँ वसन्तहरूले मलाई यही सिकाएका छन् :

एक हातले ताली बज्दैन।
औँला काटेर दिन सकिएला, तर आफैँलाई खाऊ वा निल भन्न सकिँदैन।
माया गर्न सकिन्छ, विश्वास गर्न सकिन्छ, परेको बेला हात दिन सकिन्छ, काँध हालेर बोक्नसमेत सकिन्छ; तर आफ्नो आत्मसम्मान, मानसिक शान्ति र अस्तित्व नै कसैको बैगुनको मूल्यमा चढाउन सकिँदैन।

असल भइरहनुस्। मान्छेप्रतिको विश्वास पूर्ण रूपमा नमार्नुस्। तर गुण नबुझ्ने ठाउँमा गुणको भण्डार रित्त्याउँदै नहिँड्नुस्।

किनकि जीवन छोटो छ, समय अमूल्य छ, मन संवेदनशील छ र साँचो सम्बन्ध दुर्लभ छन्। त्यसैले तपाईंलाई बुझ्ने, तपाईंको अनुपस्थितिमा पनि तपाईंको सम्मान गर्ने, तपाईंको सुखमा रमाउने र दुःखमा काँध बन्ने मानिसका लागि आफ्नो समय र माया बचाएर राख्नुस्।

बाकीका लागि – न द्वेष, न बदला, न अनावश्यक गुनासो। बस्, सम्मानपूर्ण दूरी। कहिलेकाहीँ यही दूरी नै मानिसले जीवनका धेरै वसन्तपछि सिक्ने सबैभन्दा ठूलो ज्ञान हुन्छ।

जिन्दगीका कैयौँ वसन्तहरूले सिकाएको पाठ हो – माया गरौँ, साथ दिऔँ, सम्मान गरौँ, विश्वास गरौँ; तर आफ्नो आत्मसम्मान, मानसिक शान्ति र जीवनको मूल्य चुकाएर होइन।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor