एनआरएनए क्यानाडाको प्रसङ्ग आउनसाथ हामीलाई दुई नामहरू सधैँ स्मरण रहन्छ र रहनुपर्छ पनि। पहिलो नाम हो– शम्भु धमला, जसले एनआरएन क्यानाडा दर्ता गराएर यसको जग बसाल्ने काम गर्नुभयो। दोस्रोमा डा. कुञ्जर शर्मा (एनआरएनएका एक संस्थापक), जसले एनआरएन क्यानाडालाई सही मार्गमा ल्याउन प्रारम्भदेखि नै सहयोग पुर्याउनुभयो।
वहाँकै सहभागिता, सहयोग र प्रयासबाट एनआरएनए क्यानाडाको पहिलो चुनाव (चुनाव आयुक्तको रूपमा) सम्पन्न भएको थियो। दुर्भाग्यवश, एक महिनाको अन्तरालमा वहाँहरू दुवैले हामीलाई छोडेर जानुभयो। दुवैप्रति हार्दिक श्रद्धाञ्जली।
एनआरएनए क्यानाडा प्रायः चुनावको समयमा मात्र सक्रिय देखिन्छ। अन्य समयमा भने ‘गोफण्ड’ उठाउँदा सहयोग पुर्याउन र सहयोग गर्नमा सक्रिय हुन्छ। राम्रो काम गर्न हामी पनि सँगसँगै रहँदै आएका छौँ र रहँदै आउनेछौँ। त्यसैले एनआरएन क्यानाडाका सदस्यहरू नै सर्वाेपरि हुन् भन्दा अत्युक्ति नहोला।
पृष्ठभूमि
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि नै नरेश कोइराला क्यानाडाको प्रतिनिधित्व गर्दै यसको संयोजकका रूपमा रहनुभएको थियो। २००५ को सम्मेलनमा उपेन्द्र महतो दोस्रो कार्यकालका लागि सर्वसम्मतिबाट अध्यक्ष चुनिनु भयो।
त्यस सम्मेलनमा नरेश कोइरालालाई पुनः क्यानाडाको संयोजक बनाइएको घोषणा भयो। त्यसै क्रममा नरेशजीसँग भेट्ने मौका मिलेको थियो। कुराको क्रममा क्यानाडाको छुट्टै राष्ट्रिय समन्वय समिति बनाउनका लागि पहल गर्नुपर्ने कुरा भएको थियो। अझ उत्तर अमेरिकाभित्र राखिएको एनआरएनए क्यानाडामा एकजना उपाध्यक्ष राख्ने बारे पनि चर्चा हुन थालेको थियो।
तर, २००७ मे १० का दिन एनआरएन क्यानाडाको नाममा संस्था दर्ता भएको जानकारी सामूहिक इमेलमार्फत आएपछि विभिन्न संघसंस्थामा आबद्ध भएकाहरूले त्यसलाई आधिकारिक मानेनन्। त्यसपछि फेरि २००८ जनवरी ८ मा त्यही नयाँ गठित एनआरएन क्यानाडाको तदर्थ समितिको नामबाट जुलाई २००८ मा एनआरएन क्यानाडाको राष्ट्रिय सम्मेलन गरिने भन्दै सामूहिक इमेलबाट प्रतिनिधित्वका लागि आह्वान गरियो।
त्यसको व्यापक विरोधपछि २००८ मार्च १६ मा मिसिसागामा भएको समुदायको बैठकबाट एनआरएन क्यानाडाको पहिलो सम्मेलन गरेर निर्वाचनबाट कार्यकारिणी रोज्नेबारे निर्णयका साथ ९ जनाको तदर्थ समिति बनाइयो।
यसलाई आधिकारिकता दिन २००८ मार्च २३ मा क्यानाडाका लागि नेपालका तत्कालीन अवैतनिक महावाणिज्यदूत तथा एनआरएनए क्यानाडाका संस्थापक मध्येका एक डा. कुञ्जर शर्माको पहलबाट वहाँकै कार्यकक्षमा दुवै पक्षबीच सहमति भएपछि आजको एनआरएनए क्यानाडाको पहिलो सम्मेलन गर्ने निर्णय भयो। त्यसपछि तदर्थ समितिले दिनरात खटेर एनआरएनए क्यानाडाको सदस्यता वितरण गर्न थाल्यो।
अगस्ट २००८ मा एनआरएनए क्यानाडाको पहिलो टोरन्टो सम्मेलन सम्पन्न भएको थियो। प्रारम्भदेखि नै तदर्थ समितिको सदस्य र पहिलो राष्ट्रिय सम्मेलनको संयोजक भएर सेवा गर्ने मौका पाएकोले एनआरएनए क्यानाडा मलाई आफ्नै सन्तान जस्तै लाग्छ। अनि यसमा देखिने विसङ्गतिले मन कटक्क पार्ने गर्छ। पहिलो सम्मेलनबाट नवराज गुरुङ अध्यक्षमा निर्वाचित हुनुभयो। त्यसपछि एनआरएनए क्यानाडा आजको मितिसम्म आइपुग्दा धेरै नै आरोह–अवरोह देखा पर्दै गएका छन्। यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो।
विसङ्गतिपूर्ण वर्तमान
एनआरएनए क्यानाडामा विस्तारै विसङ्गतिहरू देखा पर्दै जान थाले। दलीय राजनीतिले गिजोल्न थाल्यो। कार्यकारिणीमा आउने होड सुरु भयो। चुनावमा प्रतिस्पर्धा गर्नेले वेलस्लीको २६० र २४० बिल्डिङमा गएर सबैलाई सदस्यता बनाउन थाल्यो भन्ने हल्ला पनि चल्यो।
यो सदस्यता शुल्क दान गर्ने प्रवृत्ति अन्य प्रान्तका शहरहरूबाट पनि आउन थाल्यो। अझ सदस्य बनाएर जिताउनेलाई सल्लाहकारमा राख्ने हल्ला पनि नसुनिएको होइन। यो सल्लाहकार राख्ने चलन पनि गजबको हुँदो रहेछ। पहिलो एनआरएनए क्यानाडाले नै नेपालबाहिरका व्यक्ति (व्यापारी) लाई सल्लाहकारमा राखेपछि मैले शब्दहरू खर्चेर विरोध छापेको थिएँ।
त्यसपछि एनआरएनए क्यानाडाजस्तो राष्ट्रिय स्तरको संस्थाको सल्लाहकार भएर बसेको व्यक्ति आफ्नो कार्यकालपछि एउटा क्षेत्रीय प्रतिनिधित्व गर्ने संस्थाको सदस्य बन्न चुनाव प्रतिस्पर्धा गरेको पनि देखेर लेखेको थिएँ।
एनआरएनले २०१० मा एनआरएनए कार्ड दिने निर्णय गरेपछि सम्बन्धित दूतावासबाट आप्रवासी नेपालीहरूले एनआरएनए कार्ड बनाएर ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई चरितार्थ पार्न र भिसा शुल्क मिनाहा गराउन एनआरएनए कार्ड बनाउन थाले र बनाइरहेका पनि छन्।
त्यस्तै, २०२३ देखि दोहोरो नागरिकता लिनेहरूको पनि लाइन बढ्दै गइरहेको छ। मैले एनआरएन कार्ड लिन चाहने आप्रवासी नेपालीले पहिला एनआरएनएको सदस्यता अनिवार्य लिनुपर्ने र त्यही एनआरएन सदस्यताको प्रमाण देखाएर एनआरएन कार्ड पाउने नियम बनाउँदा राम्रो हुने भनेर शब्द खर्चेको थिएँ।
त्यस्तै, दोहोरो नागरिकता लिन चाहनेले सम्बन्धित निकायमा अनिवार्य एनआरएनएको सदस्य बनेको र नवीकरण भएको प्रमाण पेश गर्नुपर्ने अनिवार्यता राख्नुपर्छ भन्ने लागेको छ। साथै, यो सदस्यता बन्ने र बनाउने भन्दा पनि आप्रवासमा बसेका नेपालीले एनआरएनएको कुनै पनि सुविधा प्रयोग गर्न चाहेमा अनिवार्य सदस्य बन्नुपर्ने प्रावधान राख्नुपर्छ।
सदस्यता अनिवार्य गर्दा सबै आप्रवासीहरू स्वतः यसका सदस्य बन्दै जानेछन् भन्ने विश्वास लिन सकिन्छ। यसो गर्दा चुनावका लागि मात्र सदस्य बन्ने र बनाउने प्रवृत्तिको अन्त्य हुन सक्छ। अनि यस वर्षको चुनावमा मत दिने अधिकार गत वर्ष सदस्य बनेकाहरूले मात्र पाउने र यस वर्ष सदस्यता लिएकाहरूले अर्को वर्षको चुनावमा मात्र मत दिन पाउने व्यवस्था गर्न सके यो प्रत्येक वर्षको जित्नलाई दाउपेच खेल्ने काम नै हुने थिएन।
एनआरएनए क्यानाडाको संस्थापक भएकोले यसको उन्नति र प्रगतिको चाहना राख्दै आएको छु। हामीले सदस्यताका लागि तिर्ने गरेको सदस्यता शुल्कको ५० प्रतिशतको सट्टा ७०–८० प्रतिशत सम्बन्धित राष्ट्रले नै राख्न पाए एनआरएनए क्यानाडाले सदस्यता लिएकाहरूलाई ‘नेपाल घर’ बनाउने सम्भावना त देखाउन सक्थ्यो।
अहिले फेसबुकमा हामी आफैँ एनआरएनए क्यानाडाको कमीकमजोरीलाई लिएर हिलोको होली खेल्दै छौँ। नियम उल्लङ्घनर विभिन्न वेथिति बारे थाहा पाएर पनि कारबाही गरेको वा गर्ने भन्नेमा सदस्यहरूको चित्त बुझाउन सकिएको छैन। यसै सन्दर्भमा चुनाव गराउने र स्थगित गर्नेमा पनि बहस चलेको छ।
चुनावमा भाग नलिनेहरूको पनि बेग्लै जमात देखा परेको छ। एकैजनाले अर्थात् एउटै क्रेडिट कार्डबाट सयौँको संख्यामा सदस्यता बनाइएको पाइएको छ। यसको निरूपण गर्ने र समाधान खोज्ने काम वर्तमान कार्यसमितिको काँधमा आउँछ। बजारमा चलेको र फेसबुकमा लेखिएका कुराहरूको समाधान जबर्जस्ती चुनाव गरेर सम्भवतः नहोला। यसलाई ‘इन्द्रे’ र ‘चन्द्रे’ले आएर मिलाउने पनि होइन। यसलाई कसरी मिलाउने भन्नेबारे छलफलबाट समाधान खोज्नुपर्छ।
एनआरएनए क्यानाडाको स्थापनाकालदेखि नै भुटानी मूलका नेपाली सदस्य मात्र नभएर समन्वय समितिमा समेत बसेको उदाहरण हुँदाहुँदै फेरि किन भुटानी मूलका नेपालीलाई सदस्यता दिनेमा प्रश्न उठाइन्छ? हामी नेपाल र भुटानबाट धेरै टाढा सात समुद्र पारि पुगिसकेका छौँ।
यहाँ त ‘एकपटकको नेपाली सधैँको नेपाली’ को नारालाई समातेर अघि बढ्नुपर्छ। हो, भुटान, बर्मा वा भारतमा एनआरएनएको समन्वय समिति बन्न सक्दैन तर भुटान मात्र नभएर हामीले बर्मा र भारतका नेपालीलाई पनि गाँस्न सके हाम्रो जनघनत्व अझ बढ्छ र संस्था अझ फराकिलो हुन जान्छ। हामीले हाम्रा सन्ततिलाई भूगोलमा नबाँडेर नेपाली मूलका सन्तति बनाउनुपर्छ।
-टोरन्टो, क्यानाडा

प्रतिक्रिया