Washington DC, US : April 4, 2025, Friday 04:43 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

नेपालले नचिनेको तर अमेरिकाले चिनेको “हिरा” स्वोर्गीय रक्तदाता अर्जुन प्रसाद मैनाली

  NepalMother.com | १७ फाल्गुन २०८१, शनिबार १२:०२

सन् १९८६ मा नेपाल कमर्श क्याम्पस काठमाडौंमा प्रमाणपत्र तह अध्ययन गर्दा अंग्रेजी पुस्तकमा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि मैनाली रक्तदानबारेमा जिज्ञासु हुनु भएको थियो । त्यो एक जना अमेरिकी नागरिकले रगत दिएर धेरै मान्छेलाई बचाएको कथा थियो। त्यसले उनमा ती व्यक्तिले जसरी अरूलाई बचाउन सक्छुकी भन्ने भावना विकास भयो। ‘मेरो रगत समूह कुन होला?, मानिसको रगत कसरी झिक्छन् होला, अरूको शरीरमा कसरी राख्छन् होला, रगत कसरी बन्छ होला जस्ता जिज्ञासा मनमा उत्पन्न भए।
सन् १९९० डिसेम्बर ५ मा १६ औं पटक रक्तदान गरेको एक घण्टापछि उनी देशव्यापी साइकल यात्रामा निस्किनु भयो । त्यसको उद्देश्य रगत दान गरेपछि पनि मान्छे कमजोर हुँदैन भन्ने जानकारी दिनु थियो। उनले ३१ दिन लगातार साइकल यात्रा गर्नु भयो । त्यसपछि लियो र लायन्स क्लबमा आबद्ध भएर रक्तदान अभियानको प्रवर्द्धन गर्न थाले। विभिन्न देशमा भएका सम्मेलनमा भाग लिनु भयो।सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा मैनाली अमेरिकाको वासिङ्टन डिसी पुगेका थिए। त्यसपछि उनले अमेरिकामै बसोबास गर्ने निधो गर्नु भयो।अमेरिकामा पनि उनले रक्तदान अभियानलाई निरन्तरता दिनु भयो । त्यहाँ रहेका नेपाली संघसंस्थाहरूलाई रक्तदान कार्यक्रमका लागि उत्प्रेरित गर्नु भयो ।

सन २०१३ डिसेम्बर महिनाको कुरो हो पहिलो पटक अर्जुन प्रसाद मैनाली ले सरले मलाई पठाउनु भएको यो संदेश जस्ताको तेस्तै
“प्रसान्त जी नमस्कार! तपाइले बिदेशमा रक्तदान गर्नु भएछ, खुशी लाग्यो/ तपाइको इमेल, फोन नम्बर, शहरको नाम पाउन/ प्रवासमा रक्तदान गर्ने नेपालीहरु बीच “द इन्टरनेशनल एसोसिएसन अफ नेप्लिज ब्लड डोनर्स” नामक संस्था बनाएर रक्तदान र रक्तदान बारे ब्यापक प्रचार प्रसार गर्ने सोच भै राखेको छ/ तपाइले पनि फ्रान्स र युरोपमा आफ्नो नेट वर्कले भ्याय सम्म सहयोग गर्नु हुनेछ भन्ने आशा राखेको छु/ रक्तदानमा तपाइको हितैषी,अर्जुनप्रसाद मैनाली ”

यस संवाद संगै सुरु भएको हाम्रो सहकार्य आजको दिन सम्म चलिरहेको छ निरन्तर ।पटक पटक रक्तदान अभियान बिश्व ब्यापी विस्तारको लागि हाम्रो टेलीफोन संबाद भै रहन्थ्यो।
नेपालमा अर्जुन सरले बिद्यालय स्थरमा रक्तदान समबन्धि जन चेतना कसरि बढाउने भनेर चिन्तित हुनु हुन्थ्यो। रास्ट्रिय स्थरमा रक्तदान सम्बधि बिद्यालय स्थरको निबन्ध प्रतियोगिता आयोजना गर्नु भयो त्यो पनि लाखौ रकम पुरस्कारमा राखेर आफ्नै खर्चमा ।सुदुर पश्चिममा सुत्केरी महिला पैसाको अभाबमा अलपत्र भन्ने खबर कान्तिपुर दैनिक पढे पछि दिन दुखि को पिडा आफ्नै सम्झेर आर्थिक सहयोग पठाउनु हुन्थ्यो।रक्त अभाबको समाचार पढ्ने बितिक्कै पिडाले छटपटिएर दिन रात नभनी तारन्तार नेपाल फोन गर्नु हुन्थ्यो अनि रक्तदाता खोज्नु हुन्थ्यो ।
कुनै समय जहाँ समस्या त्यहाँ अर्जुन प्रसाद मैनाली बन्नु भएको थियो । सामाजिक सेवा को लागि चाहिने रकम आफ्नै खाता बाट झिकेर खर्च गर्नु हुन्थ्यो।कसैको आशमा बस्नु हुन्नथ्यो।उहाँ अन्य समाजसेवी भन्दा फरक हुनु हुन्थ्यो।समाज प्रति उहाँले गर्नु भएको योगदान को चर्चा जति गरे पनि कम हुन्छ। आफुलाई सम्मान गर्न भनेर बोलाएको कार्यक्रममा आफ्नो सट्टामा अर्को व्यक्ति लाई सिफारिस गरेर सम्मान ब्यक्त गर्ने व्यक्तित्व हुनु हुन्थ्यो । जुन आजको दिनमा कल्पना सम्म गर्न सकिदैन। व्यक्तिगत हित भन्दा पनि सामाजिक हित को लागि लड्नु हुन्थ्यो। पद र सम्मान का लागि संघसंस्था नै मास्ने स्वार्थीहरुको भिडमा उहाँ मात्र एक असल मनकारी हुनुहुन्थ्यो।

अमेरिका बसेर पनि व्यक्तिगत खर्चमा बिभिन्न चरणमा हरेक बर्ष रक्तदानको क्षेत्रमा नेपालमा योगदान गर्नु हुने व्यक्तित्व हरुलाई नगद पुरस्कार सहित सम्मान कार्यक्रम आयोजना गर्नु हुन्थ्यो।बिश्व रक्तदाता दिवसको अबसर पारेर नेपाल भरि अन्य संघ संस्था हरु संग सहकार्य गरेर रक्तदान उत्प्रेरणा कार्यक्रम हरु आयोजना गर्नु हुन्थ्यो। सन २०२३ मा उहाँले अंग्रेजी भाषामा “द गिफ्ट ऑफ लाईफ” प्रकाशित गरि अमेरिका ३३ राज्य साथ साथै विश्व का ७८ देशमा पठाउनु भयो ।एउटा ब्यक्तीले रक्तदान अभियान संसारभरी कसरी पुर्यायो भन्ने यो किताब ‘The Gift of Life’ पढेपछि थाहा पाइने छ।अबश्य पढ्नु होला। मैनालीले ६ वटा महादेशका २० देशहरूमा पुगेर रक्तदान गर्नु भएको थियो ।विभिन्न देशमा पुगेर २०६ पटक रक्तदान गरि सक्नु भएको थियो । २०६ पटकमा उनले १ सय २ लिटर रगत दान गर्नु भएको थियो।उहाँले गर्नु भएको रगत बाट ६१८ जिबन जोगाउनु भएको थियो। । अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान प्रदान गर्‍यो। सोही वर्ष अमेरिकामा ब्लड डोनर्स अफ अमेरिका, सन् २०१४ मा इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स र सन् २०१९ मा वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली इनकर्पोरेसन स्थापना भए। तीनै संस्थाका संस्थापक अध्यक्ष मैनाली अहिले पनि यी संस्थामा क्रियाशील हुनु हुन्थ्यो ।उहाँले भारत, क्यानडा, बेलायत, बर्मुडा, मकाउ, आयरल्याण्ड, अष्ट्रेलिया, मलावी, इक्वेडर, हैटी, युगान्डा, थाइल्याण्ड, इथियोपिया, रुवान्डा, केन्या, अर्जेन्टिना, मेक्सिको र घानामा पनि रक्तदान गर्नु भएको थियो ।अर्जुन प्रसाद मैनाली विश्व भरि नै रक्तदान अभियानमा प्रख्यात हुनुहुन्थ्यो।
अमेरिकाको न्यु ओर्क सहरले उहाले रक्तदानको क्षेत्रमा गर्नु भएको महान कार्यको सम्मानमा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस- डिसेम्बर २२, २०१९’ घोषणा गर्यो।
सन २०२३ को मे महिनामा कग्रेंसनल मेडल अफ अनर सोसाइटी, संयुक्त राज्य अमेरिकाले सम्मान प्रदान गरेको थियो । उहाँ संयुक्त राज्य अमेरिकामा चर्चित व्यक्तिव हुनुहुन्थ्यो।
जुन सम्मानहरुले नेपाल अनि नेपाली समुदायको लागि गौरबको बिषय बन्यो।अफ्रीका महादेशको बिभिन्न देश हरु गएर रक्तदान उत्प्रेरणा कार्यक्रम चलाउनु हुन्थ्यो।
अफ्रिकी मुलुक हरुमा जाँदा उक्त देशका उच्ह पदस्थ अधिकारी हरुले स्वागत तथा सम्मान ब्यक्त गर्दथे ।अमेरिका भरि रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गर्नु हुन्थ्यो।

सुन्दा आश्चर्य लाग्न सक्छ उहाँ नेपाली भए पनि नेपालले नचिनेको “हिरा” हुनु हुन्थ्यो। अमेरिकामा बिभिन्न संघ संस्था हरुले धेरै पटक ठुलै सम्मान मैनाली लाई प्रदान गरेको थियो।
न्यु ओर्क सहरले “अर्जुन प्रसाद मैनाली डे”हरेक बर्ष मनाउनु पनि यसको ज्वोलंत उदाहरण हो।अमेरिका जस्तो देशमा गएर पनि आफ्नो अभियान लाई कति पनि बिचलित नभएर संसार भर
रक्तदान उत्प्रेरणा कार्यक्रम एक्लै अघि बढाउनु कुनै चान चूने कुरो होइन ।रक्तदाता अनि नेपाली को नाताले उहाँ प्रति म गर्ब गर्दछु ।नेपालमा बिभिन्न संघ संस्थाले बेला बेलामा सम्मान गरेपनि नेपाल सरकारले भने कुनै सम्मान नगर्नु दुखद अवस्था हो ।नेपालमा रक्तदान क्षेत्रमा काम गर्नु हुने सबै संघ संस्थाको आग्रहमा छिट्टै विश्व रक्तदाता अर्जुन प्रसाद मैनाली दिवस मनाउन सरकार लाई आग्रह गर्न म यो लेख बाट आब्हान गर्दछु।

आज १२ फेब्रुवरी २०२५ त्यो कालो दिन उहाँले हामीलाई छोडेर ब्रम्हलिन हुनु भएको दिन।अर्जुन सर “उइ मिस् यु अलट्स”
तपाईले १२ फेब्रुवरी २०२४ को दिन लेख्नु भएको अन्तिम पत्र जस्ताको तेस्तै:
प्यारी श्रीमती तारा,
धेरै धेरै माया!
आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?
छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।
गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ ।
म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय !
ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥

मलाई अझै पनि तपाईको नाम अगाढी स्वोर्गीय राखेर सम्बोधन गर्न गाह्रो भै रहेको छ।मलाई बिश्वास लागि रहेको छैन् तर के गर्नु भाग्यको खेल अथवा प्रकृतिको नियम ।
तर यो चाँही थाहा छ अर्जुन सर तपाईको भौतिक शरीरले हामीलाई छोडेर गए पनि तपाईले देखाउनु भएको बाटो हामीले छोडेका छैनौ ।संसार भर तपाईको अनुयायी हरु थपिएका छौ ।
करोडौ जिबन हरु हरेक बर्ष जोगिएका छन्।तपाईले जिबन भर खटेर बिश्व भर लाखौ रक्तदान उत्प्रेरक जन्माएर जानु भएको छ जसको उदाहरण म पनि एक हूँ।यो अभियानमा लाग्ने छु ।रक्तदान उत्प्रेरणा गर्न गराउन आर्थिक ,सामाजिक योगदान गर्नेछु।प्रतक्ष्य भेटघाट नभए पनि तपाई र म बीचको स्थापित यो सम्बन्ध एउटा घनिष्ठ गुरु चेलाको रुपमा रही रहनेछ। मेरा सरिरमा एक थोपा रगत बगे सम्म म रक्तदान अभियानमा लागि रहने छु अर्जुन सर “आई मिस् यु अलट्स” “यु आर अ रियल हिरो” ।
तपाईको आत्माले चिर शान्ति प्राप्त गरोस् ।
रक्तदान, जिबनदान, महादान
रगतले जोड्छ ।

प्रसान्त उप्रेती “भुइँ मान्छे”
पेरिस, फ्रान्स

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।