अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सहमति छिट्टै टुंगिने अवस्था बनेको दाबी गर्दै प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। उनले इरान र मध्यपूर्वका केही अन्य मुलुकबाट तनाव नबढाउन आग्रह आएपछि आक्रमण रोक्ने निर्णय गरिएको दाबी गरेका हुन्।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत दिएको सन्देशमा इरानसँग हुने सम्भावित सम्झौताका आधारभूत रूपरेखा (प्यारामिटर) मा सहमति नजिक पुगेको उल्लेख गर्दै, यदि वार्ता शीघ्र निष्कर्षमा पुग्यो भने सैन्य कारबाहीको आवश्यकता नपर्ने बताए। उनले यो निर्णयलाई “विश्वको हित र समृद्ध इरानको भविष्य”सँग जोडेर व्याख्या गरेका छन्।
तर ट्रम्पको उक्त दाबीलाई इरानले तत्काल अस्वीकार गरेको छ। इरानको अर्धसरकारी समाचार संस्था मेहरले तेहरानले अमेरिकासँग कुनै पनि प्रकारको सैन्य कारबाही रोक्न आग्रह नगरेको स्पष्ट पारेको छ। समाचार संस्थाले ट्रम्पको भनाइलाई “अर्को नयाँ झुट” भन्दै खण्डन गरेको छ।
यता इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले भने अमेरिका र उसका साझेदार राष्ट्रबाट आउने प्रत्येक धम्कीलाई इरानले गम्भीर रूपमा लिने बताएका छन्। उनका अनुसार ती धम्की मनोवैज्ञानिक युद्धको हिस्सा भए पनि इरान कुनै पनि अवस्थामा असावधान रहने वा निष्क्रिय बस्ने पक्षमा छैन।
ट्रम्पको अभिव्यक्तिभन्दा केही घण्टाअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानका ऊर्जा पूर्वाधार र रणनीतिक संरचनामाथि अहिलेसम्मकै कडा बमबारी गर्ने योजना बनाइरहेको समाचार सार्वजनिक गरेका थिए।
सीबीएस न्यूजका अनुसार शुक्रबार बसेको ट्रम्प मन्त्रिपरिषद् बैठकमा सम्भावित सैन्य कारबाहीबारे विस्तृत छलफल भएको थियो। त्यसैबीच अमेरिकी प्रशासनले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई क्षेत्रीय तनाव बढ्न सक्ने भएकाले सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान तयारी अवस्थामा रहन पनि आग्रह गरेको थियो।
ट्रम्पले शनिबारको सन्देशमा अमेरिका “दोस्रो विश्वयुद्धपछि नदेखिएको सैन्य शक्ति प्रयोग गर्न पूर्ण रूपमा तयार” रहेको चेतावनीसमेत दिएका थिए। उनले आवश्यक परे इरानविरुद्ध अत्यन्त शक्तिशाली सैन्य कारबाही गर्न अमेरिका तयार रहेको दोहोर्याए।
विश्लेषकहरूका अनुसार ट्रम्पले कडा चेतावनी दिएर वार्ताको ढोका खुला राख्ने रणनीति यसअघि पनि अपनाउँदै आएका छन्। गत अप्रिल ७ मा उनले इरानले वार्तामा नआए “सभ्यताकै अन्त्य हुन सक्ने” चेतावनी दिएका थिए। त्यसपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा पाकिस्तानमा दुर्लभ प्रत्यक्ष वार्ता भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन सकेको थिएन।
ट्रम्प समर्थकहरूले यसलाई ‘म्याडम्यान थ्योरी’ अर्थात् कठोर दबाबमार्फत वार्ता गराउने रणनीतिको सफल प्रयोगका रूपमा व्याख्या गरे पनि आलोचकहरूका अनुसार त्यसले स्थायी समाधान दिन सकेको थिएन।
यसैबीच साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै क्षेत्रीय तनाव कम गर्न कूटनीतिक पहललाई प्राथमिकता दिन आग्रह गरेका छन्। साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार युवराजले युद्धभन्दा संवाद र युद्धविराममार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।
विशेषगरी बहराइन, संयुक्त अरब इमिरेट्स, जोर्डनलगायत अमेरिकी साझेदार मुलुकहरू इरानी मिसाइलको पहुँचभित्र रहेकाले उनीहरूको जल प्रशोधन केन्द्र, ऊर्जा संरचना र अन्य महत्वपूर्ण पूर्वाधार सम्भावित निशाना बन्न सक्ने चिन्ता बढेको बताइएको छ।
अप्रिलमा भएको युद्धविराम जुन महिनामा भंग भएपछि अमेरिका र इरानबीच पुनः आक्रमण र प्रतिआक्रमणको शृंखला जारी छ। अमेरिकाले इरानका बन्दरगाह र सैन्य संरचनामाथि आक्रमण गर्दै आएको छ भने इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार, जलमार्ग तथा होर्मुज जलडमरूमध्य आसपास मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ।
यस तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो उतारचढाव देखिएको छ। ऊर्जा आपूर्ति प्रभावित हुने आशंकाले विश्व बजारमा कच्चा तेलको मूल्य पटक–पटक उकालो लागेको छ।
उता अमेरिकाभित्र पनि ट्रम्पमाथि युद्ध विस्तार नगर्न दबाब बढ्दै गएको छ। हालै सार्वजनिक एक जनमत सर्वेक्षणअनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिक इरानसँगको युद्धको पक्षमा छैनन्। आगामी मध्यावधि निर्वाचन नजिकिँदै गएकाले ट्रम्पका विदेश नीतिसम्बन्धी निर्णयले घरेलु राजनीतिमा समेत प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।
यद्यपि ट्रम्पले अहिले आक्रमण स्थगित गरेको घोषणा गरे पनि इरान र अमेरिकाबीच औपचारिक सम्झौता नहुँदासम्म मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहने र कुनै पनि बेला तनाव पुनः चर्किन सक्ने चिन्ता कायमै रहेको छ।
प्रतिक्रिया