अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली मूलका सतीश चापागाईं स्थानीय राजनीतिमा सक्रिय रूपमा अघि बढेका छन् । चापागाईले मेरिल्याण्ड राज्य अन्तर्गत डिष्ट्रिक्ट 7A का लागि उम्मेदवार बनेका हुन्। उनको उम्मेदवारीलाई अमेरिकामा रहेका नेपाली समुदायले विशेष चासोका साथ हेरिरहेका छन्।
यो उनको आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचन हो । प्राईमरी जितेभने चापागाईले नोभेम्बरमा रिपब्लिकन उमेद्वारहरुसंग फेरि चुनाव लड्नुपर्ने हुन्छ ।
उनको चुनावी नारा “Focus, Protect & Support” रहेको छ । चापागाईले आफ्नो उम्मेदवारीमार्फत समुदायको हित, सुरक्षाको प्रत्याभूति र आर्थिक सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका मुख्य प्राथमिकतामा Affordable Maryland, Safe Communities र Strong Businesses रहेका छन्। बढ्दो महँगी नियन्त्रण, सुरक्षित समाज निर्माण र स्थानीय व्यवसायलाई थप सशक्त बनाउने विषयलाई उनले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन्।
सतीश चापागाईं हाल डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रिय सदस्यसमेत हुन्। यसले स्थानीय राजनीतिक क्षेत्रमा उनको सक्रियता र अनुभवलाई झन् स्पष्ट बनाएको छ।
राजनीतिसँगै उनी सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन्। उनी साना व्यवसायीका रूपमा स्थापित हुनुका साथै बाल्टिमोर काउण्टि पब्लिक स्कुलमा दोभाषेका रूपमा कार्यरत छन्। साथै विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
चापागाईंले श्रमिक परिवार, कमजोर वर्ग र समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सार्वजनिक सहभागिता र सामाजिक न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएको दाबी गरेका छन्। उनी समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने र व्यवहारिक समाधान खोज्ने नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।
राजनीति र सामाजिक सेवासँगै चापागाईं साहित्यिक क्षेत्रमा पनि सक्रिय रहेको उल्लेख गरिएको छ। प्रचार सामग्रीमा उनलाई आफुलाई सम्पादक, कवि तथा गीतकारका रूपमा परिचय दिइएको छ, जसले उनको बहुआयामिक व्यक्तित्वलाई झल्काउँछ। एनआरएनए अमेरिकामा दुई पटक मिडिया कोअर्डिनेटर भईसकेका चापागाई अहिले सल्लाहकार छन् ।
चापागाई अन्तराष्ट्रिय नेपाली पत्रकार संघका संस्थापक उपाध्यक्ष पनि हुन् ।
अमेरिकामा नेपाली मूलका व्यक्तिहरू क्रमशः स्थानीय राजनीतिमा सक्रिय बन्दै गएको सन्दर्भमा सतीश चापागाईंको उम्मेदवारीलाई एउटा सकारात्मक संकेतका रूपमा हेरिएको छ। उनको उम्मेदवारीले केवल व्यक्तिगत राजनीतिक यात्रा मात्र नभई नेपाली समुदायको प्रतिनिधित्व र सहभागितालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया