कमरेड योगेश भट्टराई,
लालसलाम कमरेड ।
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निवोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।
म कठोपनिषदको यो संस्कृत श्लोकबाट तपाईलाई उठाउन चाहन्छु । जगाउन चाहन्छु । हिजो विद्यार्थीकालमा उठाएका मुठ्कीहरु अझै निरन्तर उठाउनुस् । ज्ञान प्राप्तिको मार्ग छुराको धारजस्तो तीखो छ, दुर्गम छ, कठिन छ तर श्रेष्ठ पुरुषको सान्निध्यले यो प्राप्ति हुन्छ ।
प्रथमतः आगामी निर्वाचनमा तपाईले एमालेको टिकट नपाउनुभएकोमा हार्दिक समवेदना व्यक्त गर्दछु । जब तपाईले ओलीविरोधी क्याम्पमा खुट्टा हाल्नुभयो, तब नै धेरैको अनुमान थियो तपाई अब निशानामा पर्नुहुन्छ । पर्नुभयो । ओलीको कोपभाजनमा पर्नुभयो । एकमाघले जाडो जाँदैन । चारवर्ष त हो । यो चुनाव नै सबैथोक होइन । तपाइ नेकपाको एक प्रवुद्ध व्यक्ति मानिनुहुन्छ । यदाकदा नेतृत्वलाई प्रश्न पनि गर्नुहुन्छ । एमालेको महाधिवेशनमार्फत जुन सन्देश दिनुभएको थियो, त्यो सन्देश भयानक नभए पनि एउटा नेतृत्वप्रतिको प्रतिरोध थियो । नेतृत्वमाथि प्रश्न थियो । जुन प्रश्न जम्मा भएका आम ”भेँडाहरु”ले उठाउने हिम्मत गरेनन् ।
तपाईले पार्टी निर्माणका खातिर गर्नुभएको योगदान पक्कै पनि पार्टीभित्र उँचो नै होला । तर दुखको साथ भन्नुपर्छ हिजो ओलीको साथ, संगत र तथानाम गाली गरेर निस्केकाहरुले पार्टीको टिकट लिएर चुनावमा जाँदै गर्दा तपाईभित्रको अहंम भनाै वा इख अझै पूर्ण रुपमा जागृत भएको छैन । त्यसैले तपाई उठ्नुपर्छ, जाग्नुपर्छ र ओलीमाथि धावा बोल्नुपर्छ । ओली तिनै पात्र हुन् जसको हठ र अहंका कारण ‘जेन्जी विद्रोह’ भयो र ७६ जना विद्यार्थी अनाहकमा गोलीको शिकार बन्नुपर्यो । अंगभंग भएकाहरु अझै अस्पतालको शैय्यामा छटपटाइरहेका छन् । राष्ट्रको सारा सम्पति एक निमेषमा नै समाप्त भयो । त्यसको जस वा जिम्मा खुलेर नभने पनि ओलीले नै लिनुपर्छ भन्ने झिनो माग तपाईहरुको पनि थियो । त्यो वास्तविकता पनि हो । त्यसैले महाधिवेशनमा तपाईहरुले पहाडरुपी ओलीविरुद्ध कुहिना चलाउनुभयो । त्यसमा कुहिना भाँचिनसक्छ तर लगातार हानिरहनुपर्छ भन्ने सन्देश त थियो नि ! उनलाई पार्टीमा स्थान दिनुहुन्न भन्ने कुरा मलिन स्वरमा बोल्नुभयो । तर कसैले त सुन्यो नि !
कमरेड, तपाइलाई थाहै छ, तपाइका समकालीन युवा विश्वप्रकाश र गगन ( अलिक कम उमेरका) ले नेपाली काँग्रेसभित्र एउटा आँधी तुफान लिएर आए । त्यो आँधीवेहरीलाई देउवा वा तिनको कोटरीले थेग्न सकेन र विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आयो । यो जेन्जीको भावना अनुकुल पनि थियो । नेतृत्व अर्थात् देउवाको दासता स्वीकार नगरेर ”लाश र दास”माथिको विजयको शंखघोष पनि थियो । नेकाभित्र मात्र होइन, देशका तमाम मानिसहरुको आशालाई रक्तसञ्चार गराउने यो एक युगान्तकारी कदम पनि थियो । त्यसलाई साधुवाद दिनैपर्छ । यो प्रसंग यसकारण पनि जोडिरहेको छु कि तपाईले पनि ओलीबाट केही झर्ला र खाउँला भन्ने आशा नगर्नुस् । तपाई ओलीका दृष्टिमा एउटा झिँगा बराबर पनि होइन । चियाको कपमा डुबेको झिँगा फाल्दा त मानिस डराउँछ तर तपाईलाई फाल्दा ओली एकरत्ति विचलित भएनन् । तपाईलाई चक्रे मिलनभन्दा पनि निकम्मा ठहर गरे । विद्यार्थी राजनीतिदेखि नै उदाउनुभएका तपाइका लागि योभन्दा शर्मनाक र अपमान के हुन्छ र ? त्यसैले जाग्नुस् ओलीको निरंकुश र स्वेच्छाचारिता विरुद्ध । निरंकुशताका विरुद्ध बोल्नेहरु या त झिँगा हुन्छन् या मारिन्छन् । युवालाई यस्ता ”हत्यारा ओली”का विरुद्ध निस्कन आव्हान गर्नुस् । जेहाद छेड्नुस् । उनका खुन खराबाका बारेमा जानकारी दिन ढिला नगर्नुहोस् । त्यो समयको माग हो र तपाईले युवालाई दिने सन्देश पनि हो । यसले कम्युनिष्ट नै भए पनि नेतृत्वमाथि प्रश्न उठाउनुपर्छ र नेतृत्वलाई सजग गराइरहनुपर्छ र दास र लाशको लालसा स्वीकार गर्नुहुन्न भन्ने सन्देश पनि दिनेछ । हो, यो बाटो छुराको धारजस्तै कठिन छ तर हिँड्नुस् । तपाईलाई नांगै बनाइसकेपछि कस्को पो डर र भर भो र ?
कमरेड योगेश,
तपाईले हिँड्ने बाटो लामो छ । अझै तपाईबाट यो देशले केही खोजिरहेको छ । मानिसहरुको आशातीत नजर तपाईतिर पनि फर्केका छन् । अझ एमालेभित्र त तपाई जत्तिको खरो युवा विरलै छन् । त्यसले पनि तपाई भोलिको चाहना हो भन्ने कुरा स्पष्ट छ ।
तपाई अझै निद्राको तन्द्रामा हुनुहुन्छ । यो बेला तपाई पूरा जागा हुन जरुरी छ । तपाई थुप्रै निर्वाचन क्षेत्रमा पुगेर एमालेलाई भोट माग्नुस् । हुनत के भनेर भोट माग्ने ? मतदाताहरुले ”युवाको ज्यान लिने खुनीको पार्टी”लाई हामी भोट दिन्छौँ भनेर पनि भन्लान् । त्यो प्रश्न र संशय त छ नै र त्यसको कसरी सामना गर्ने त्यसबारे पूर्ण सजग भएर जानुहोला । किनकि यसपाली विगतको भन्दा भिन्न परिस्थिति छ । थुप्रै युवा चुनावी मैदानमा छन् । मतदातासँग अनेकन प्रश्न र जिज्ञासा छन् ।
अब तपाई जागरुक हुनुहुन्छ भने ओलीविरुद्ध उत्रिनुस् । समग्र नेकपा त तपाई छोड्न सक्नुहुन्न तथापि मात्र ओलीविरुद्ध त उत्रनसक्नुहुन्छ नि ! क्याम्पेन चलाउनुस् ओलीविरुद्ध । झापाको चुनाबी क्षेत्र ५ मा जानुस् र ओलीविरुद्ध उभिनुस् । मतदातालाई आग्रह गर्नुस् र ओलीलाई हराउनुस् । यसका लागि वालेनलाई सहयोग गर्नुस् वा अरु कसैलाई । उनी हारे मात्र पनि पार्टीको आधाआधी समस्या सुल्झिने मात्र होइन, त्रिदलीय गठवन्धनमा जकडिएको हलो उप्किनेछ र देशले मुक्ति पाउनेछ । त्यो निर्वाणको मार्ग हो । त्यसपछि उनी लगायत उनको छत्रछाहारीमा उभिएका भ्रष्टाचारीहरुको दोहोलो काढिनेछ । थुप्रै मानिसहरु जेलको चिसो छिँडीमा थुनिनेछन् । त्यसो हुनु भनेको देश विनिर्माणको विशाल यज्ञमा तपाई पनि सामेल हुनु हो ।
यथाशक्य हराउनुस् । ढिलो नगर्नुस् । अन्तरघात गर्नुस् । बाँस रहे मात्र बाँसुरी बज्ने हो । बाँसको झ्याँग नै काटिदिनुस् । टन्टै खलास् । ओली भनेको क्यान्सर हो, पिलो हो । क्यान्सरलाई जतिसक्दो चाँडो फाल्नुपर्दछ । पिलोलाई निचार्नुस् । त्यसपछि ओली गुण्डुमा सीमित हुनेछन् र आफ्ना जीवनका अन्तिम प्रहरहरु अहंकारसहित बिसर्जन गर्नेछन् ।
कमरेड योगेश, यत्ति तपाईले गर्नुभयो भने तपाईको योगदान यो देशले सधैँ मूल्यांकन गरिरहनेछ । तपाईको आफ्नै अन्तरआत्माको आवाज पनि सुन्नुुस् । ओली हारेपछि त्यतिखेर तपाईको रीस र डाह पनि समुद्रमा तैरिएजस्तो शान्त हुनेछ र देशले कोल्टे फेर्नेछ । ओली त्यसो त संसदमा चाहिने व्यक्ति पनि होइनन् । हामीलाई टुक्का हान्ने र मुक्का हान्ने दुवै व्यक्ति परित्यज्य छन् । देश बनाउने हुटहुटी बोकेका युवाको जरुरत छ । त्यसैले उत्तिष्ठत जाग्रत…..अस्तु ।
प्रतिक्रिया