नेतात्रय,
युवा विद्रोह र त्यसमाथि भएको नरसंहारको मुख्य जिम्मेवार तपाईहरु नै हो । तपाईहरुकै कुशासनले हो ।
पशुपति आर्यघाटमाथि आकाशमा उड्दै गरेको धुँवा देख्नुभयो नै होला । यो धुँवा तपाईहरुले कञ्चट र छातीमा हानेर मारेका युवाको शरीरबाट निस्केको हो । सबैलाई थाहा छ, यो घटनाबाट तपाईहरुमध्ये कोही पनि आहत हुनुभएको छैन । किनकि तपाईहरु (देउवावाहेक) को इतिहास रक्तरञ्जित छ । तपाईका हात र अनुहारमा यत्रतत्र यद्यपि रगतका छिटाहरु छन् ।
एकैछिन कल्पना गर्नुस् यदि यो क्रान्तिमा सेनाले तपाईहरुको रक्षा नगरेको भए के हुन्थ्यो ? निश्चय छ, तपाईहरुको बृद्धकाया पनि एक एक चिहान हुन्थ्यो र, त्यो धँुवा पशुपतिको आकाशमा यसैगरी व्याप्त हुन्थ्यो । त्यसपछि तपाईहरुका थोरै आफन्त र झोलेबाहेक आम जनताहरु खुसियाली व्यक्त गर्दथे र, होली खेल्दथे । सबैको मन र अनुहारमा एक किसिमको खुसीयाली व्याप्त हुन्थ्यो ।
जेन्जी आन्दोलन मूलतः युवाको शान्तिपूर्ण विद्रोह थियो, क्रान्ति थियो । त्यो विद्रोहलाई तपाईहरुले जसरी र जुन रुपमा नजरअन्दाज गरेर खिसिट्युरी गर्नुभयो, त्यसले तपाई बृद्ध कायाहरुले ओगटेर बसेको सत्ताको अभेद्य पर्खाल भत्कियो र अन्ततः सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो ।
तपाई घरमै जलेको भए तपाईहरुको शव सेनाले पशुपति आर्यघाटमा ल्याउने थियो र ३१ तोपको सलामी विना तपाईहरुको शव जलाउँथ्यो । अहँ, त्यहाँ राजकीय सम्मान पनि प्रकट गरिदैनथ्यो किनकि विद्रोही युवाले त्यसो गर्न दिँदैनथे । किनकि तपाईहरुले उनीहरुकै शरीरमाथि रगतको होली खेल्नुभएको थियो ।
त्यो गाडधन केका लागि थियो ? सुनका असर्फी र बिटाका बिटा पैसा के प्रयोजनका लागि थियो ? कुन सत्ताका लागि त्यतिका पैसा जोहो गर्नुभएको थियो ? अपुताली वा ससुरालीबाटै प्राप्त गरेको हो भने पनि जनताको यो प्रश्नको उत्तर त तपाईहरुले दिनैपर्छ नि होइन र ? कि बाबुरामले भनेझै त्यो सबै बूढी गण्डकी बेचेको ३/३ अर्व थियो ?
शहादत प्राप्त गर्ने युवाको लाश त जल्यो तर तपाईहरुको अहंकार अझै जलेको छैन, तुष्टि र जीजिविषा अझै जीवित छ । केही झोले झाम्टेहरुलाई लिएर अझै सत्तामा फर्कन सकिन्छ कि भनेर षणयन्त्रका तानाबाना बुनिरहनुभएको छ । मुन्टो उठाउने दुस्साहस गर्दै हुनुहुन्छ । देशको माया भएको भए, यत्रो नरसंहार, राष्ट्रिय संकट र विपद्को जिम्मेवारी लिएर राजीनामा दिइसक्नुपर्ने थियो, राजनीतिबाट पूर्णतः सन्यास लिनुपर्ने थियो । तर अहँ, त्यो चेत वा त्यो चेतना आउँदै आएन । कस्ले भरिदिनुपर्ने हो ? कुन साहस, धैर्य र नैतिकताले अब फेरि कुर्सीमा फर्कने दुस्साहस लिँदै हुनुहुन्छ ? देशलाई अझै तन्नम बनाउनका लागि, देशलाई पुनः द्वन्द्वमा धकेल्नका लागि ? वा ती पैसाका बिटा पुनः प्राप्तिका लागि ? यो घातक धृष्टता नगर्नुहोस् । आजै सन्यासको घोषणा गनुहोस् र बाँकी जीवन कारागारमा गएर आत्मकथा लेख्नुहोस् । भनिन्छ, एउटै सर्पलाई दुईपटक टोक्न नदिनुस् तर दुर्भाग्य, हामी बारम्वार तिनै सर्पलाई दूध खुवाएर टोक्न दिइरहेछौँ ।

प्रतिक्रिया