हर्क साम्पांगजी
मेयर, धरान ।
हर्कजी तपाई यो राष्ट्रको गृहमन्त्री हुन पनि लायक हुनुहुन्न, प्रधानमन्त्री त धेरै परको कुरा हो । तर यो साँचो हो, विगतमा पार्टीको भागबण्डामा परेको कारण कुनै हैसियत र क्षमता नभएकाले पनि मन्त्री पद पाएका कारण तपाई हौसिनुभएको मात्र हो । वर्तमानका मन्त्रीहरु हेर्नुस् त, तपाईभन्दा धेरै योग्य र काविल हुनुहुन्छ ।
गाई काट्न पाउनेदेखि धर्मान्तरणसम्म तपाईका अनेकन प्रोपोगाण्डा छन् ।
नगरभित्रका आम नागरिकलाई भरोसा र विश्वास दिन तपाई सफल हुनुभएको कारण स्थानीय जनताले ”अरुभन्दा तपाई ठीक” लागेर मतदान गरेका हुन् र त तपाई मेयर हुनुभएको हो । यो भन्दैमा नसोच्नुस् म देशभित्रकै सबैभन्दा अव्वल नागरिक हुँ र मैले देश सञ्चालन गर्न सक्छु ।
तपाईमा भ्रम नरहोस् तपाई देश सञ्चालन गर्न सक्नुहुन्न । देश सञ्चालन गर्नु केटाकेटीको खेल हो ? कुटो र कोदालोको खेल हो ? वर्तमानमा तपाईले ओकलेका केही नमीठा टीकाटिप्पणीले तपाईको हैसियत मेयर पनि होइन रहेछ भन्ने पुष्टि गरेको छ । मेयर हुनुभयो तर मलाई भने यद्यपि आश्चर्य लागिरहेको छ ।
देश निर्माणमा जनश्रमदानको विशेष महत्व छ । तर बाटोघाटो र पुल पुलेसा निर्माणमा कुटो र कोदालो चलाएर केही हुन्न । र, यो ढुंगेयुग पनि होइन, जहाँ वुद्धिको भन्दा बलको काम हुन्थ्यो । तपाईले गराउनुभएको ढुंगा र माटोको श्रमदानमा व्यक्तिको श्रमदान त हुन्छ र उसलाई गर्वको अनुभूति पनि हुन्छ तर यसले ठूलो उपलब्धि हासिल गर्दैन । यसका लागि आधुनिक प्रविधिका ठूलाठूला डोजर र स्काभेटर आवश्यक पर्छ ।
हर्कजी, त्यसैले धेरै नहौसिनुस् र नउम्लिनुस् । थाहा हुनुपर्ने हो, उम्लियो भने पोखिन्छ । तपाई निरन्तर जनताको सेवामा लागिरहनुस् एक दिन यो देशले तपाईलाई त्यो पदमा पनि नपुर्याउला भन्न सकिन्न ।

****

प्रतिक्रिया