काठमाडौं, असार ५ / नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरूको विशेष बैठक सोमबार दिउँसो काठमाडौंको चाक्सीबारीस्थित उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निजी निवासमा सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यदिशा, गठबन्धनको भूमिका तथा संविधान संशोधनसम्बन्धी विषयमा गम्भीर छलफल गरिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद कृष्णप्रसाद सिटौलाले सरकारले जनताको हितमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता बैठकमा औंल्याइएको जानकारी दिए ।
बैठकले हालको गठबन्धन सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेको र उपप्रधानमन्त्री सिंहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो। साथै, सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा औपचारिक भेट गरी जानकारी दिने सहमति गरिएको छ।
बैठकका प्रमुख बुँदाहरू यसप्रकार छन्:
जनताको हितमा प्रभावकारी शासन आवश्यक
– गठबन्धन सरकारको कार्यशैली अपेक्षा अनुरूप नभएको भन्दै जनताको हितमा तीव्र र प्रभावकारी काम गर्न आग्रह।
संविधान संशोधनप्रति चासो
– संविधान कार्यान्वयनको समीक्षा र आवश्यक संशोधनको विषय सरकारको प्राथमिकतामा नरहेकोमा चिन्ता व्यक्त।
– देउवा–ओली समझदारीअनुसार अघि बढ्ने भनिएको संशोधन प्रक्रिया अड्किएको भन्दै अब ढिलाइ नगर्नुपर्ने निष्कर्ष।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण
– संविधान संशोधनलाई समेट्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन विभिन्न बहस र छलफल कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड।
गठबन्धन २०८४ सम्म निरन्तर जाने दाबी
– नेता सिटौलाले नेपाली काँग्रेस–एमाले गठबन्धन आगामी प्रतिनिधि सभा चुनाव (२०८४ साल) सम्म कायम रहने ठोकुवा गरे ।
सिटौलाले भने, “सरकार बनाउँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रक्रिया अघि नबढ्नु चिन्ताको विषय हो। यसबारे हामी सभापतिज्यूसँग भोलि नै भेटेर विस्तृत जानकारी गराउनेछौं।”
बैठकले राजनीतिक स्थायित्व र सशक्त शासन प्रणाली निर्माणका लागि नेपाली काँग्रेसले अग्रसर भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ।

उता नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई “प्रजातान्त्रिक समाजवादमा आधारित, आदर्श र सिद्धान्तयुक्त सबैभन्दा उत्कृष्ट पार्टी” को रूपमा चित्रण गर्नुभएको छ। उहाँले काँग्रेस अरु प्रतिस्पर्धी दलहरूभन्दा सिद्धान्त र आदर्शका दृष्टिले निकै अगाडि रहेको स्पष्ट गरे ।
सानेपामा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै देउवाले भने:
“आजको युगमा पार्टीको सिद्धान्त र आदर्श नै सबैभन्दा महत्वपूर्ण कुरा हो। प्रतिस्पर्धी दलहरूमध्ये काँग्रेसको सिद्धान्त सबैभन्दा उत्कृष्ट छ। प्रजातान्त्रिक समाजवादमा आधारित हाम्रो विचारलाई देशव्यापी रूपमा विस्तार गर्न सके काँग्रेस बहुमत प्राप्त गर्ने दल बन्न सक्छ।”
यो धारणा नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा राखेका हुन् ।
प्रजातान्त्रिक समाजवादको पक्षधर काँग्रेस
काँग्रेस नेपालको सबैभन्दा पुरानो र स्थायीत्वपूर्ण दल भएको उल्लेख गर्दै देउवाले यसको मूल विचार “प्रजातान्त्रिक समाजवाद” भएको स्मरण गराए ।
देशव्यापी अभियान आवश्यक
काँग्रेसका आदर्श र सिद्धान्तहरूलाई गाउँगाउँमा बुझाउने खालको संगठनात्मक अभियान चलाउनुपर्ने भनाइ थियो।
बहुसंख्यक प्राप्ति सम्भव
देउवाले यथास्थितिमा पनि काँग्रेस ठूलो दल भएको जनाउँदै, यदि समाजवादको शिक्षालाई प्रभावकारी रूपमा फैलाउन सकियो भने पार्टीलाई बहुमत दिलाउन सकिने विश्वास व्यक्त गरे।
समावेशी चरित्र र संविधान
अहिलेको संविधान समावेशी र समानुपातिक प्रणालीमा आधारित रहेको बताउँदै, काँग्रेसले देशका सबै जातजाति, वर्ग र समुदायलाई समेट्नुपर्ने धारणा पनि राखे।
“संविधान समावेशी सिद्धान्तमा आधारित छ। सबै तहका दाजुभाइ–दिदीबहिनी समेटिने किसिमको व्यवस्था भएको यो संविधानको रक्षामा काँग्रेसले अगुवाइ गर्नुपर्छ,” जोड दिए।
आदिवासी जनजातिको सहभागिता
काँग्रेसभित्र आदिवासी, जनजाति तथा सबै जातजातिलाई समेट्न अझ सशक्त पहल गर्नुपर्ने देउवाले जोड दिए।
कार्यक्रमले पार्टीभित्र वैचारिक प्रशिक्षण र अध्ययनलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता समेत औंल्याएको थियो।
प्रतिक्रिया