काठमाडौं, एमाले मुख्यालय / नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूमाथि पूर्वराष्ट्रपति विद्या भण्डारीको वरिपरि घुम्ने र प्रवक्ताको भूमिका खेल्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले नेताहरूलाई स्पष्ट शब्दमा सुझाव दिए — “विद्या भण्डारीले अहिलेसम्म केही भनिसकेकी छैनन्, त्यसैले कोही पनि उनका प्रवक्ता नबनोस्।”
एमालेको नवौं केन्द्रीय कमिटी बैठकको प्रारम्भमै ओलीले भण्डारीको पछ्याइ गर्दै हिँड्ने केही नेताहरूलाई लक्षित गर्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले विशेषतः चुनाव हारेका नेताहरू पनि भण्डारीको पछि लागेर हिँडेको भन्दै आपत्ति जनाए। ओलीले कटाक्ष गरे:
“जता जानु पनि पछ्याउनु पर्ने ? चुनाव हारेकाहरू किन पछ्याइरहेका छन् ? यसरी त पार्टी चल्दैन।”
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफैले बालुवाटारमा बोलाएको स्वीकारे तर त्यसलाई सामान्य भेटघाटका रूपमा चित्रित गरे। उनले भने,
“विद्याजीले पार्टी कार्यालय देख्नुभएको छैन भन्नुभयो, त्यसैले च्यासलमा भेट गरियो। पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई किन यति ठूलो बनाइएको ?”
ओलीले पार्टीले घोषणा गरेको “मिशन ०८४” (आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य) सफल बनाउन सबै नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले भने,
“बहुमत नभई नीति लागू गर्न सकिँदैन। हामीले संकल्प गरेका छौं, त्यसमा दृढ हुनुपर्छ। तर अहिले कतै त्यो संकल्पबाट विचलन भएको जस्तो देखिँदैछ।”
अध्यक्ष ओलीले पार्टीभित्र र बाहिर दुवै तर्फ अस्वस्थ प्रवृत्ति मौलाउँदै गएको भन्दै चित्ता व्यक्त गरे। उनले राजनीतिक गालीगलौज र अविश्वास फैलाउने संस्कृतिलाई मोहन विक्रम सिंहले सैद्धान्तिक बनाएको र त्यसलाई प्रचण्डले संस्थागत गरेको आरोप लगाए।
“राष्ट्रिय राजनीतिमा प्रचण्ड धोका दिने प्रवृत्तिको नाम हो,” ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले पार्टीभित्र आलोचना खेपिरहेको आफ्नो ‘७० वर्षे उमेरहद’ हटाउने निर्णयको पनि जवाफ दिए। उनले स्पष्ट पारे,
“मैले नै सातौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यासका लागि ७० वर्षे उमेर सीमा प्रस्ताव गरेको थिएँ, तर अहिले परिस्थिति फेरिएको छ। अस्वस्थ गतिविधिका कारण त्यो हद हटाउनुपर्यो।”
ओलीले पार्टी नेताहरूले व्यक्तिगत स्वार्थका कारण पार्टीलाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए। उनले नेतृत्व र एकताको महत्व दोहोर्याउँदै भने,
“हामीले विगतमा पनि हमला सह्यौं, आज पनि गरिरहेका छौं। तर ती हमला योजना, लगानी र अफवाहको आधारमा भइरहेका छन्।”
ओलीको अभिव्यक्ति स्पष्ट रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक पुनर्सक्रियता र पार्टीभित्रको गुटगत गतिविधिप्रति चिन्ता प्रकट गर्ने प्रयास थियो। उनले एकढिक्क पार्टी, स्पष्ट नेतृत्व र मिशन ०८४ को सफलताको लागि सबैलाई चेतावनी र मार्गदर्शन दुवै दिएका छन्।
यस अघि ओलीले आफ्नो नेतृत्वविरुद्ध बढ्दो चुनौती र पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक सक्रियतालाई लक्षित गर्दै “नेतृत्व हस्तान्तरण नहुने” र “७० वर्षे उमेर हद लागू नहुने” स्पष्ट सन्देश दिएका छन्।
एमाले पोलिटब्युरो बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति खुला असन्तुष्टि व्यक्त गरे। बैठक स्रोतका अनुसार, उनले भण्डारीले पार्टीसँग कुनै सल्लाह नगरी राजनीतिमा पुनः सक्रिय हुने संकेत दिएको र सरकार परिवर्तनको “षड्यन्त्र”मा लागेको आरोप लगाएका थिए।
“विद्याजीलाई हामीले पार्टीको निर्णयमा राष्ट्रपति बनाएका थियौं। तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो, सरकार फेर्ने खेलमा लाग्नुभयो,” ओलीको भनाइ स्रोतले उद्धृत गरेको छ।
ओलीले भण्डारीको राजनीतिक भेटघाट र छलफलप्रति संकेत गर्दै भने,
“पार्टी बाहिर छलफल गर्दैमा नेतृत्व सर्नुहुन्न। नेतृत्व हस्तान्तरण गर्न सकिंदैन।”
उनको अडान स्पष्ट छ — नेतृत्व उनी आफैंले चलाउने छन्, उमेरको कारण देखाएर पछि हट्ने पक्षमा छैनन्।
ओलीले ७० वर्षे उमेर हद नमान्ने स्पष्ट घोषणा गर्दै त्यो नियम आफ्नै प्रस्ताव भए पनि अहिलेको सन्दर्भमा उपयुक्त नभएको तर्क गरे। उनले हाँसोको साथ भने,
“म त अहिले ५० वर्षको जस्तो काम गरिरहेको छु। कसैलाई उमेर हद मान्न मन लागेको हो भने मानून्, बिदा लिए हुन्छ।”
ओलीले जेलमा बिताएको १४ वर्षलाई उमेर गणनाबाट घटाउनुपर्ने तर्क गर्दै भने,
“मैले जेल बसेको समय घटाएर हेर्नुपर्छ भनेका थिएँ, सबै हाँस्नुभयो।”
ओलीले ७० वर्षे उमेर हद हटाउने प्रस्ताव आफैंले तयार पार्न लगाएको स्वीकार गर्दै भने,
“आवश्यकता भएकाले मैले विष्णु पौडेललाई संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ।”
उनले जोड दिए कि पार्टीका निर्णयहरू सधैं परिस्थितिका आवश्यकताअनुसार लिइन्छन्, र बहुसंख्यक महाधिवेशन दस्तावेज उनले नै तयार पारेका छन्।
“चौथो महाधिवेशन बाहेक सबै दस्तावेज मैले लेखेको हुँ। ७० वर्षे उमेर सीमा पनि आवश्यकताले राखिएको थियो, अहिले आवश्यकता बदलिएको छ।”
तीनपटक पार्टी विधान छपिएको विवादमा अध्यक्ष ओलीले नामै लिएर कर्ण थापालाई लक्षित गर्दै अब यो विषयमा बहस रोक्न निर्देशन दिएको स्रोतको दाबी छ।
बैठकमा ओलीले गणतन्त्रप्रति आफ्नो अडानबारे पनि प्रष्ट पारे। उनले विगतमा कांग्रेस तयार नभएसम्म गणतन्त्रमा जान मिल्दैन भन्ने धारणा राखेको स्मरण गर्दै भने,
“हामी मात्र गरेर गणतन्त्र सम्भव हुँदैन भनेको थिएँ, तर मलाई गलत बुझियो।”
एमाले केन्द्रीय कमिटी बैठक : बहस जारी, अधिकांश सदस्य ओलीको पक्षमा
यता केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्ना विचार राखिसकेका छन् भने हाल मधेश प्रदेशका सदस्यहरूले आफ्ना भनाइ राख्ने क्रम अगाडि बढाइरहेका छन्।
बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन माथि व्यापक बहस भइरहेको छ।
अध्यक्ष ओलीको पक्षमा बहुमत धारणा
बैठकमा धारणा राखेका अधिकांश नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको समर्थन गरेका छन्। यद्यपि केही नेताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताप्रति सकारात्मक टिप्पणी गरेका भए पनि बहुलता ओलीको पक्षमा देखिएको स्रोतको दाबी छ।
उमेर हद र गुटबन्दीमाथि प्रश्न
केन्द्रीय सदस्य दिवाकर देवकोटाले पार्टी विधानमा ७० वर्षे उमेर हद पूर्वत: किन राखिएको थियो र अहिले हटाउन किन आवश्यक पर्यो भन्नेबारे प्रश्न उठाएका छन्।
“पहिले किन उमेर हद राखियो? अहिले किन हटाइयो?” — देवकोटाको सोधाइ थियो।
त्यस्तै, सदस्य कृष्ण पौडेलले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कार्यकर्तामाझ निराशा फैलिएको टिप्पणी गरे। रामपृत रामले नेताहरूको गुटबन्दीका कारण स्थानीय तहमा काम गर्न असहज भएको गुनासो गरेका छन्।
बोल्ने क्रम जारी, भोलिसम्म बैठक चल्ने
स्रोतका अनुसार बैठकमा सहभागी प्रत्येक केन्द्रीय सदस्यलाई ३/३ मिनेटको बोल्ने समय दिइएको छ। बैठक भोलिसम्म चल्ने कार्यक्रम रहेको बताइएको छ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको नेतृत्वले अझै बलियो समर्थन पाइरहेको देखिए पनि विधान संशोधन, उमेर हद, गुटबन्दी र नेतृत्वको शैलीजस्ता विषयमा केही असन्तुष्टि पनि सतहमा आएको देखिन्छ। बैठकका बाँकी सत्रहरूमा यी बहसहरू अझ चर्किने संकेत देखिएको छ।
प्रतिक्रिया