कविद्वय प्रा.पुरुषोत्तम दाहाल तथा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा मिलाप पब्लिकेशनको संयुक्त आयोजनामा काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष साहित्यकार वियोगी वुढाथोकी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.विष्णु केसी, शीर्ष कवि कलानिधि दाहाल, साहित्यकार खेमनाथ दाहाल, डा. कृष्णप्रसाद भट्टराई, लेखक तथा सिटिजन्स वैंकका प्रमुखकार्यकारी गणेशराज पोखरेल, सममाजसेवी शान्ता दाहाल स्रष्टा पुरुषोत्तम दाहाल र साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला, समाजसेवी हरिप्रसाद भट्टराई लगायत मञ्चासिन व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको हो ।
पिता तथा पुत्रको यो संयुक्त कवितासंग्रह हो । ११५ पृष्ट रहेको पुस्तकमा ३० वटा कविताले ९१ पृष्ट ओगटेको छ । ‘क’खण्डमा पिता पुरुषोत्तम दाहालका १७ वटा कविता छन् भने खण्ड’ख’मा पुत्र अनिमेष दाहालको १३ वटा रहेका छन् ।
अनिमेष दाहाल अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित रहनुभयो भने प्रा.पुरुषोत्तम दाहालले आफ्नो कृति रचना बारे प्रकाश पार्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले हाल मान्छेमा बिर्सने रोग बढ्दै गएको सन्दर्भमा जति लेख्यो त्यति सम्झना शक्तिको वृद्धि हुने कुरा बताउनुभयो । कवि दाहालको एक दर्जन जति कृति प्रकाशित छन् । यसअघि उहाँका उपन्यास ‘शान्ता’, ‘कालपात्र’, कवितासंग्रह ‘कालो बादलमा उज्याला पाइला’ जस्ता कृति पाठकमाझ आएका छन् । सो अवसरमा उहाँका यी कृतिको समेत चर्चा भएको थियोे । कवि पुरुषोत्तम दाहालले लोकार्पित कृतिबाट ‘नलीहाड धुन’ भन्ने कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.विष्णु केसीले खण्ड ‘क’को प्रा.पुरुषोत्तम दाहालका १७ वटा कविताको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । अमेरिका बसाइमा २०७९ पछि लेखिएका कविताहरू भएको र ती कविताहरूमा राजनीतिक विकृति र विसंगतिहरू मुखरित भएको उहाँले बताउनुभयो । साथै, उहाँले संग्रहबाट एउटा कविता पनि वाचन गर्नुभएको थियो ।
त्यसैगरी, अर्का समीक्षक महाकाव्यकार खेमनाथ दाहालले खण्ड ‘ख’को कवि अनिमेष दाहालका १३ वटा कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै कविताहरू ध्वनि र अलंकारमा लेखिएको बताउनुभयो ।
कार्यक्रममा लोकार्पित पुस्तकभित्रबाट साहित्यकार डा. कृष्णप्रसाद भट्टराई र लोककलाकार, संस्कृृतिकर्मी नन्दकृष्ण जोशीले एक–एक वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कलानिधि दाहाल, अश्विनी कोइराला, मनोज न्यौपाने तथा वियोगी बुढाथोकीले शुभकामना मन्तव्य प्रकट गर्दै नेपाली साहित्य भण्डारमा थप सिर्जनाहरु यसरी नै थपिदै जानु पर्ने विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अनेसासका पूर्व अध्यक्ष लेकालीले संघको गतिविधिमाथि प्रकाश पार्दै कविद्वय पिता पुत्रको व्यक्तित्व तथा कृतित्वबारे आफ्नो धारणा राख्नुभएको थियो । साथै, उहाँले शुभकामना मन्तव्यसहित धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले पुस्तकको न्वारान आफूले गरिदिन पाएको र कवि दाहालद्वयले मन पराइदिनु भएकोमा आभार प्रकट गर्दै प्रकाशनको जिम्मेवारी लिन पाएकोमा धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा स्रष्टा कवि दाहाललाई ‘स्रष्टा सम्मान’ले विभूषित गरिएको थियो भने गरिमा साहित्यिक पत्रिकाका नव नियुक्त मनोज न्यौपानेलाई सम्मान प्रकट गरिएको थियोे । कवि विनोद दाहाल ‘वत्स’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको समुद्घाटन शान्ता फाउण्डेशनकी अध्यक्ष शान्ता दाहालले गर्नुभएको थियो भने सहजीकरण गीतकार निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा लेखक, पत्रकार, प्राध्यापक, कलाकार,पूर्व सचिवहरु सहित विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस प्रा.पुरुषोत्तम दाहाल अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका सल्लाहकार, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक पनि हुनुहुन्छ भने अनिमेष दाहाल प्रा.पुरुषोत्तम दाहालको सुपुत्र हुनुहुन्छ ।


प्रतिक्रिया