
काठमाडौं, जेठ १५ / देवेन्द्रलाल नेपालीको नेतृत्वमा गठित स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत १५ गते भएको तीनकुने घटनाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको ठहर गरेको छ। बुधबार सार्वजनिक गरिएको २८ पृष्ठ लामो प्रतिवेदनमा नेपाल संविधान, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू उल्लङ्घनमा परेको उल्लेख छ। प्रतिवेदनमा तीनकुनेको सभा मूलतः दुर्गा प्रसाईं नेतृत्वमा भएको भए तापनि समान विचार भएका विभिन्न संघ-संस्था, अभियान र नेताहरूको सहभागिता रहेकाले स्पष्ट समन्वयको अभाव रहेको जनाइएको छ। प्रतिवेदनले सभा आयोजना गर्ने नेतृत्वबीच स्वामित्वको होडबाजी, कार्यक्रम सञ्चालनमा मनोवैज्ञानिक अपजसको डर, र पूर्व तयारीको कमी प्रमुख कारणका रूपमा औँल्याएको छ।
आयोगले घटनामा राज्य संयन्त्र, राजनीतिक दल, सुरक्षा निकायहरू सबैले आ–आफ्नो भूमिकामा चुकेको निष्कर्ष निकालेको छ। कार्यक्रमलाई असहिष्णु दृष्टिले हेर्ने राजनीतिक पृष्ठभूमिमा संवेदनशीलता बोक्ने सम्भावना हुँदाहुँदै आयोजकहरूले पर्याप्त सतर्कता नअपनाएको आयोगको टिप्पणी छ। “कार्यक्रमको स्वरूप परिपक्व नभएको, सहभागी समूहहरू धेरै भएको, आयोजकमाझ समन्वयको अभाव, र एउटै नेतृत्वमा स्पष्ट जिम्मेवारी नलिइएको अवस्था देखिन्छ,” आयोगको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा केही विषयहरूमा अझ गहिरो छानबिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।








प्रतिक्रिया