नालायक र भ्रष्टहरू बोक्दै,
उनीहरूलाई नै हरिद्वार सम्झेर,
शङ्ख घन्ट बजाउँदै र आरती उतार्दै,
अँध्यारोमा बाँच्ने बानी परिसकेको समाजमा,
“जिउँदा मुर्दाहरू” को बिचमा
तिमी जान्ने भएर नबोल, कुरा नगर
कुशासन, अन्याय, अत्याचार र भ्रष्टाचारका,
व्यर्थै किन विरोध गर्छौ हो माइला तिनीहरूको ?
पुराना देखि नयाँ सम्म कानै चिरेका जोगीहरू
“खरानी धस्दै, जय सम्भो” भने भन्ने भ्रममा
कतिन्जेल बाँच्न सक्छौ र !?
किन दुखाउँछौ नदुखेको टाउको ?
सुन्ने कोही भए पो तिम्रो कुरा !
त्यसैले “बा”, “दाइ” “भाउजू”, “नानीका बा” नै पुज
आरती उतार्न नछोड दैनिक
ताली बजाउन नबिर्स उनीहरूका भाषणमा
खबरदार नगर उनीहरूको विरोध
हालिदेलान् जेल, पचाउलान् भित्रै !
देखे पनि नदेखे जस्तो गर,
बोल्न मन लागे पनि मुख बन्द गर,
बारम्बार लुटिँदा पनि ऐया सम्म पनि नभन्नु !
उनीहरूका विरुद्ध एक शब्द पनि नबोल्नु !
मुख सिलाएर बस्नु, हातमा दही जमाएर बस्नु,
श्वास फेरे पनि जिउँदो मुर्दा भएरै भित्र पस्नु
माओवाद, मार्क्सवाद, समाजवाद कुन्नि के के वाद हुन,
तिनैको नाम लिनु, तिनकै मन्त्र जप्नु !
– रामप्रसाद खनाल, जेठ १०, २०८२
प्रतिक्रिया