भत्काऊ
ती महलहरू
जुन ढुंगा इँटाले होइन,
तीन दशकको झुट,घोटाला र घोषणाले ठडिएका छन् ।
घोप्ट्याइदेऊ ,
त्यों भाँडो जसमा भ्रष्टाचारको खिचडी उमाल्दै
ट्रेड युनियनको नुन,
विद्यार्थी संगठनको खुर्सानी,
सुकुम्बासीको आँसु ,
प्रज्ञा प्रतिष्ठानको झोल,
आदिवासीको इतिहास मिसाएर
मानवतामाथि धोकाको तड्का हालिएको छ।
भाँचिदेऊ ती हातहरू
जसले देश बेचेर
विदेशमा महल ठड्याएका छन् ,
र जनता खाडीको घामले उम्लेको तेलमा
छट्पटिँदै भुटिरहेका छन्।
फर्किन्छन् जब श्रमिकहरू आफ्नै माटोमा,
पाइला-पाइलामा उही स्यालहरू
कर, घूस र नियमका बहानामा रगत चुस्दै बस्छन्।
भत्काऊ
राजधानीका काँचका महलहरू,
जहाँ नक्कली लालपुर्जा बेचिन्छ,
र उही नेता जसले सुकुम्बासी बनायो,
लगाइदेऊ थप्पड तिनैलाई
जसले गोहीका आँसु देखाउँछ।
पार धूलिसात,
कुप्रथाको जाल,संस्कारको नाममा बेचेको अँध्यारो,
लुटतन्त्रका सिंहासन,झुटतन्त्रका भाषण,
नातावाद र कृपावादका अदृश्य साङ्लाहरू छिनालिदेऊ।
नेपाल आमाको शरीरमा
भ्रष्टाचारको पिलो छ
थिच्दा दुख्छ, तर नथिचे झन् फैलिन्छ।
दुख्न देऊ किनकि यो पीडा नै उपचार हो,
सकस हुन देऊ किनकि यही पीडा नै मुक्ति हो।
पिलो राखेर सड्नु भन्दा निचोरेर फाल्नु नै राम्रो,
रगत बग्छ भने बग्न देऊ,तर घाउ सफा हुनै पर्छ।
भत्काऊ राजधानीका काँचमा
नदेखिने भ्रष्टाचारका महलहरू
किनकि कहिलेकाहीँ
भत्काउनु नै सबैभन्दा ठूलो निर्माणको सुरुवात हुन्छ।
प्रतिक्रिया