अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनमा राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्ड ले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आफ्ना श्रीमान् अब्राहम ग्याबार्डलाई हड्डीको क्यान्सर पुष्टि भएपछि परिवारलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको भन्दै पद छाड्ने निर्णय गरेकी हुन् ।
शुक्रबार सार्वजनिक गरिएको आफ्नो राजीनामा पत्रमा ग्याबार्डले लेखेकी छन्, “हरेक कठिन घडीमा उहाँको प्रेम र साथले मलाई बल दिएको छ । यस्तो अवस्थामा उहाँलाई एक्लै यो संघर्ष गर्न छाडेर म अत्यधिक समय र जिम्मेवारी माग्ने सरकारी पदमा रहिरहन सक्दिनँ ।”
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ग्याबार्डको प्रशंसा गर्दै उनले प्रशासनमा “असाधारण काम” गरेको बताएका छन् । ट्रम्पले लेखेका छन्, “तुलसीले उत्कृष्ट काम गरिन्, हामी उनलाई मिस गर्नेछौँ । अहिले उनी आफ्ना श्रीमान्सँग रहेर कठिन स्वास्थ्य संघर्षमा साथ दिन चाहन्छिन्, र मलाई विश्वास छ उहाँ चाँडै पूर्ण रूपमा स्वस्थ हुनुहुनेछ ।”
ग्याबार्डको राजीनामा आगामी जुन ३० देखि लागू हुने जनाइएको छ । त्यसपछि राष्ट्रिय गुप्तचर निकायका प्रमुख उपनिर्देशक आरोन लुकासले कार्यवाहक निर्देशकको जिम्मेवारी सम्हाल्ने ट्रम्प प्रशासनले जनाएको छ ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा ट्रम्पकी बलियो समर्थक बनेकी ग्याबार्ड सन् २०२५ मा ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि अमेरिकी गुप्तचर समुदायको सबैभन्दा शक्तिशाली पदमध्ये एकमा नियुक्त भएकी थिइन् । तर पछिल्लो समय इरानमाथि अमेरिकी सैन्य कारबाही, क्युबामाथिको दबाब तथा भेनेजुएलाको नेतृत्व परिवर्तनजस्ता संवेदनशील घटनाक्रममा उनी सार्वजनिक रूपमा कम देखिन थालेकी थिइन् ।
ग्याबार्ड ट्रम्प प्रशासन छाड्ने चौथो क्याबिनेट सदस्य बनेकी छन् । यसअघि श्रममन्त्री लोरी चाभेज–डिरेमरले अप्रिलमा पद त्यागेकी थिइन् भने गृह सुरक्षा मन्त्री क्रिस्टी नोएम र महान्यायाधिवक्ता पाम बोन्डीले पनि यस वर्ष प्रशासनबाट बाहिरिएका थिए ।
राजीनामा पत्रमा ग्याबार्डले आफ्ना श्रीमान् अब्राहमले “आगामी हप्ता र महिनामा ठूलो स्वास्थ्य चुनौती” सामना गर्नुपर्ने उल्लेख गरेकी छन् ।
इरानमाथिको अमेरिकी–इजरायली सैन्य कारबाहीपछि ग्याबार्डको राजनीतिक भूमिकामाथि थप प्रश्न उठेको थियो । विदेश युद्धमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएकी उनी ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय गरेपछि असहज अवस्थामा परेकी थिइन् । कंग्रेस सुनुवाइका क्रममा उनले प्रशासनलाई इरान युद्धको सम्भावित परिणामबारे जानकारी थियो कि थिएन भन्ने प्रश्नमा स्पष्ट धारणा दिन टारेकी थिइन् ।
त्यसैगरी, इरानको आणविक क्षमताबारे ह्वाइट हाउस र अमेरिकी गुप्तचर समुदायबीच देखिएको मतभेदका कारण पनि उनी आलोचनामा परेकी थिइन् । गत वर्ष कंग्रेसमा ग्याबार्डले “इरान तत्काल आणविक हतियार निर्माणतर्फ अघि बढिरहेको छैन” भनेपछि ट्रम्पले सार्वजनिक रूपमा असहमति जनाएका थिए ।
त्यतिबेला ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, “उनले के भनिन् भन्ने मलाई मतलब छैन । मेरो बुझाइमा इरान आणविक हतियार बनाउन धेरै नजिक पुगेको थियो ।” ट्रम्पले इरानविरुद्धको युद्धलाई उचित ठहर गर्न बारम्बार तेहरानको आणविक क्षमताको मुद्दा उठाउँदै आएका छन् ।
ग्याबार्डको बहिर्गमन उनको निकट सहयोगी तथा पूर्व राष्ट्रिय आतंकवाद प्रतिरोध केन्द्रका निर्देशक जो केन्टले पनि इरान युद्धको विरोध गर्दै प्रशासन छाडेको दुई महिनापछि भएको हो । केन्टले ट्रम्पलाई “नीति परिवर्तन गर्न” आग्रह गरेका थिए ।
तर त्यसपछि ग्याबार्डले भने सार्वजनिक रूपमा ट्रम्पको निर्णयको समर्थन गर्दै राष्ट्रपति नै देशका लागि “तत्काल खतरा के हो र होइन भन्ने निर्धारण गर्ने अन्तिम व्यक्ति” भएको बताएकी थिइन् ।
इराकमा अमेरिकी सैन्य मेडिकल युनिटसँग सेवा गरिसकेकी ग्याबार्ड अमेरिकी राजनीतिमा धेरै ऐतिहासिक उपलब्धि हासिल गर्ने नेतृमध्ये पर्छिन् । उनी सन् २००२ मा मात्र २१ वर्षको उमेरमा हवाई राज्य विधानसभामा निर्वाचित भएकी थिइन्, जुन त्यहाँको इतिहासमै सबैभन्दा कम उमेरको विजय थियो । पछि उनको नेशनल गार्ड युनिट इराक पठाइएपछि उनले पद छाडेकी थिइन् ।
सन् २०१३ देखि २०२१ सम्म उनी डेमोक्र्याट सांसदका रूपमा अमेरिकी कंग्रेसमा हवाई राज्यको प्रतिनिधित्व गरिन् । उनी अमेरिकी प्रतिनिधिसभामा पुग्ने पहिलो हिन्दू सदस्य पनि बनेकी थिइन् ।
सन् २०२० मा उनले राष्ट्रपतिको उम्मेदवारी दिएकी थिइन्, जहाँ उनले विदेश युद्धमा अमेरिकी हस्तक्षेपको विरोधलाई मुख्य एजेन्डा बनाएकी थिइन् ।
पछि सन् २०२२ मा उनले डेमोक्र्याटिक पार्टी परित्याग गर्दै स्वतन्त्र राजनीतिक धार रोजेकी थिइन् । उनले आफ्नो पूर्व पार्टीलाई “युद्धप्रिय अभिजात समूह” भन्दै आलोचना गरेकी थिइन् । त्यसपछि उनी Fox News मा विश्लेषकका रूपमा देखिन थालिन् र अभिव्यक्ति स्वतन्त्रता तथा लैंगिक मुद्दामा ट्रम्पको खुलेर समर्थन गर्न थालिन् ।
सन् २०२४ को चुनावमा उनले ट्रम्पलाई औपचारिक समर्थन मात्र गरिनन्, चुनावी अभियानमा सँगै सहभागी भइन् र ट्रम्पको संक्रमण टोलीको सदस्यका रूपमा पनि काम गरिन् । चुनाव जितेपछि ट्रम्पले उनलाई राष्ट्रिय गुप्तचर निर्देशक पदमा नियुक्त गरेका थिए ।
उनको नेतृत्वमा अमेरिकी गुप्तचर समुदायको संरचनामा ठूलो कटौती गरिएको थियो । गत वर्ष निकायको करिब ५० प्रतिशत कर्मचारी घटाउने योजना सार्वजनिक गर्दै ग्याबार्डले गुप्तचर संयन्त्र “पछिल्ला दुई दशकमा अत्यधिक फुलेको र अप्रभावकारी बनेको” टिप्पणी गरेकी थिइन् ।
प्रतिक्रिया