स्वीडेनमा आयोजित नेटो विदेशमन्त्रीहरूको बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पोल्यान्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा गरेपछि नेटोभित्र अन्योल र चासो बढेको थियो ।
ट्रम्पको यो घोषणा पोल्यान्डमा ४ हजार अमेरिकी सैनिक पठाउने पूर्वनिर्धारित योजना अचानक रद्द गरिएको एक सातापछि आएको हो । त्यसमाथि जर्मनीबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय सार्वजनिक भएपछि नेटो सदस्य राष्ट्रहरूमा अमेरिकी रणनीतिबारे थप भ्रम सिर्जना भएको छ ।
स्वीडेनको हेल्सिङबोर्गमा सम्पन्न नेटो विदेशमन्त्रीहरूको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा रुबियोले अमेरिका आफ्नो विश्वव्यापी सुरक्षा जिम्मेवारीअनुसार सैनिक उपस्थिति निरन्तर पुनर्मूल्यांकन गरिरहेको बताए ।
उनले भने, “युरोपमा अमेरिकी सैनिक उपस्थिति समायोजन हुने कुरा नेटो गठबन्धनभित्र सबैलाई थाहा छ । यो प्रक्रिया पहिलेबाटै चलिरहेको थियो र सहयोगी राष्ट्रहरूसँग समन्वय गरेर नै अघि बढाइएको हो ।”
हाल अमेरिकाका केही सैनिक मध्यपूर्व क्षेत्रमा पनि परिचालित छन्, जहाँ अमेरिका र इजरायलले इरानसँगको तनाव र युद्धपछि सैन्य उपस्थिति बढाएका छन् ।
ट्रम्पले पोल्यान्डमा थप सैनिक पठाउने घोषणा नेटो मन्त्रीहरूको स्वीडेन बैठककै बीचमा गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म “ट्रुथ सोशल” मार्फत पोल्यान्डका राष्ट्रपति कारोल नावरोत्स्की सँगको निकट सम्बन्धका कारण यस्तो निर्णय गरिएको बताएका थिए । ट्रम्पले गत वर्ष पोल्यान्डको राष्ट्रपतीय निर्वाचनमा नावरोत्स्कीलाई खुला समर्थन गरेका थिए ।
तर अतिरिक्त सैनिकहरू पहिले रद्द गरिएको ४ हजार सैनिक तैनाथीकै हिस्सा हुन् वा नयाँ अभियानअन्तर्गत पठाइएका हुन् भन्नेबारे ट्रम्प प्रशासनले स्पष्ट पारेको छैन ।
गत साता अमेरिकी रक्षा मन्त्रालयले पोल्यान्डमा पठाउने भनिएका ४ हजार सैनिकको योजना अचानक रद्द गरेको थियो । त्यसअघि अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो । यो निर्णय ट्रम्प र जर्मन चान्सलर फ्रिडरिक मर्ज बीच इरान युद्धको विषयमा भएको विवादपछि आएको बताइएको थियो ।
अब पोल्यान्ड पठाइने भनिएका अतिरिक्त सैनिक जर्मनीबाट फिर्ता गरिएका फौजकै हिस्सा हुन् वा छुट्टै समूह हो भन्ने अझै स्पष्ट छैन ।
नेटो विदेशमन्त्रीहरूको बैठक यी परस्पर विरोधाभासी अमेरिकी घोषणाहरूको पृष्ठभूमिमा आयोजित भएको थियो । बैठकको आयोजना गरेकी स्वीडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनेगार्ड ले भनिन्, “यो अवस्था साँच्चिकै भ्रमपूर्ण छ, र यसलाई बुझ्न सधैं सजिलो छैन ।”
तर अमेरिकी विदेशमन्त्री रुबियोले भने युरोपमा अमेरिकी सैन्य संरचनामा परिवर्तन हुने कुरा सहयोगी राष्ट्रहरूले बुझेको दाबी गरे ।
उनले स्वीकार गरे, “सायद सबै राष्ट्र यो निर्णयबाट पूर्ण रूपमा खुसी नहुन सक्छन्, तर उनीहरूलाई यसको जानकारी अवश्य छ ।”
अमेरिका नेटो गठबन्धनको सबैभन्दा ठूलो र शक्तिशाली सदस्य राष्ट्र हो । नेटोमा युरोपका ३० देशसँगै क्यानडा पनि आबद्ध छन् । दोस्रो विश्वयुद्धपछि सोभियत संघको सम्भावित खतरा सामना गर्न अमेरिकाले दशकौँदेखि युरोपमा सैनिक तैनाथ गर्दै आएको छ ।
सन् २०२२ मा रूस ले युक्रेन माथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपेली राष्ट्रहरूले अमेरिकासँग सुरक्षा प्रतिबद्धता अझ बलियो बनाउन आग्रह गर्दै आएका छन् ।
हाल जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सैनिक सक्रिय अवस्थामा छन् । इटालीमा करिब १२ हजार, बेलायतमा १० हजार र पोल्यान्डमा पनि करिब १० हजार अमेरिकी सैनिक रहेको अनुमान छ ।
ट्रम्पले लामो समयदेखि नेटोप्रति आलोचनात्मक धारणा राख्दै आएका छन् । उनले युरोपेली राष्ट्र र क्यानडाले अमेरिकाको तुलनामा कम रक्षा खर्च गर्ने गरेको भन्दै पटक–पटक अमेरिका नेटोबाट बाहिरिन सक्ने चेतावनी दिएका थिए । त्यसपछि धेरै नेटो सदस्य राष्ट्रहरूले आफ्नो रक्षा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् ।
तर ट्रम्प हाल इरानसँगको अमेरिकी संघर्षमा नेटो सदस्य राष्ट्रहरूले पर्याप्त साथ नदिएको भन्दै झन् असन्तुष्ट बनेका छन् ।
हालैका हप्ताहरूमा ह्वाइट हाउसले “अमेरिका फर्स्ट” नीतिअन्तर्गत युरोपमा अमेरिकी सैनिक संख्या घटाउने संकेत पनि दिएको छ ।
नेटो महासचिव मार्क रुटे ले पत्रकारहरूसँग कुरा गर्दै युरोप अब अमेरिकामाथि कम निर्भर बन्ने दिशातर्फ अघि बढिरहेको बताएका छन् ।
स्वीडेनमा रुबियोले भने, “नेटो युरोपका लागि मूल्यवान् छ भन्ने म बुझ्छु, र त्यस्तो हुनु पनि पर्छ । तर नेटो अमेरिकाका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ ।”
प्रतिक्रिया