पोखरा/ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासनमा ल्याउने भन्दै ज्योतिषीय भविष्यवाणी गरिरहेका प्रा.डा. जगमान गुरुङमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। उनले गुरुङलाई आफ्नो पनि कुण्डली हेर्न आग्रह गर्दै राजतन्त्रको सपनालाई भ्रममा पारिएको बताए।
राष्ट्रिय युवा संघ नेपालको १०औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले राजावादीहरूको १५ गतेको कार्यक्रम र पूर्वराजालाई फर्काउने अभियानमाथि कडा टिप्पणी गरे। “अब यही आउँदै गरेको १५ गते राजालाई सिंहासनमा राख्ने रे, राख्नै छ भने घरमै सिंहासन बनाएर राखे हुन्छ, देशको त राजसिंहासन गइसक्यो,” प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपाली जनताले राजतन्त्र उल्टाइसकेको र अहिले संविधान, संसद्, राष्ट्रपति, न्यायपालिका, लोकतान्त्रिक प्रणाली सबै सुदृढ अवस्थामा रहेको बताए। उनले भने, “जसले जे पायो, त्यो समात्दै, पछार्दै, मार्दै गर्ने राजतन्त्रलाई हामीले खोरमा हाल्यौँ, अनि त्यो खोरबाट पनि निकालेर फ्याँक्यौँ। अहिले फेरि राजतन्त्र ल्याउने सपना देख्नुको अर्थ छैन।”
राजावादीहरूको आन्दोलनलाई प्रधानमन्त्री ओलीले “भदौको भ्यागुता” सँग तुलना गर्दै भने, “भदौ लागेपछि भ्यागुता ट्वारट्वार गर्छ, भदौ सकिएपछि त्यो पनि सकिन्छ। भ्रममा पर्नु पर्दैन, यी ट्वार्ट्वार, ट्यारट्यार केही समयमै अन्त्य हुन्छन्।”
पूर्वराजा ज्ञानेन्द्र शाहको तीन वर्षे शासनकाललाई प्रधानमन्त्री ओलीले असह्य समयको संज्ञा दिँदै भने, “त्यो शासन त कानमा पसेको कन्सुत्लोजस्तो थियो—उफ्रेको उफ्र्यै, चिथोरेको चिथोरेइ। जनता त्यसवेला सडकमा उत्रन बाध्य भए र १९ दिनको आन्दोलनपछि ज्ञानेन्द्रलाई घुँडा टेकाइयो।”
राजा फर्काउने अभियानमा संलग्न प्रा.डा. जगमान गुरुङलाई प्रधानमन्त्री ओलीले स्मरण गराउँदै भने, “मैले उहाँलाई प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाएको थिएँ। उहाँले ज्ञानेन्द्रको कुण्डली हेरेर राजा हुने संकेत देख्नुभयो रे। म भन्छु—गुरुजी, मेरो पनि कुण्डली हेर्नुहोस्, जनताको पनि हेर्नुहोस्। त्यो कुण्डलीले भन्छ—राजतन्त्र फिर्ता आउँदैन।”
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरू भाग्नुपर्ने अवस्था आएमा ‘हेलिकोप्टरको सुविधा दिन्छौँ’ भन्ने अभिव्यक्तिको जवाफमा प्रधानमन्त्री ओलीले नाम नलिईकन भने, “एउटा उत्ताउलो मान्छेले बोल्यो—प्रधानमन्त्री भाग्न तयार होऊन् रे! यस्ता सपना हेर्नेहरू पनि छन्। मजाले हेरे हुन्छ।”
अन्त्यमा, प्रधानमन्त्री ओलीले नेकपा एमालेमाथि आक्रोश बढ्ने संकेत दिँदै आफ्ना कार्यकर्ताहरूलाई सतर्क रहन निर्देशन दिए। “प्रतिगमन रोक्न, राष्ट्रिय हितको रक्षा गर्न, जनताको अधिकार जोगाउन अग्रभागमा उभिने पार्टी भनेको नेकपा एमाले हो। त्यसैले सबैभन्दा बढी प्रहार यही पार्टीमाथि भइरहेको छ,” उनले भने।
प्रतिक्रिया