
प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेशागत र गैरकानुनी गतिविधि भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधवार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लाबाट पत्रकारको पहिचान प्रयोग गरी विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, प्रेस कार्ड दुरुपयोग गर्ने, पीडितसँग रकम असुली गर्नेजस्ता गुनासाहरू बढ्दै गएको उल्लेख गरेको छ।
काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मिडिया वा पत्रकारको आवरणमा अनधिकृतरूपमा प्रेस कार्ड बनाउने, सामाजिक सद्भाव विगार्ने, राष्ट्रियता र पारिवारिक एकता प्रतिकूल सामग्री युट्युबमार्फत प्रसारण गर्ने गतिविधिप्रति काउन्सिल गम्भीर बनेको छ।”
काउन्सिलले यस्ता कार्यहरू प्रेस आचारसंहिताविपरीत र कानुनविपरीत भएको उल्लेख गर्दै त्यस्ता कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसै क्रममा नेपाल पत्रकार महासंघको सिरहा शाखालाई ७ दिनभित्र उजुरीसहित विवरण पेश गर्न पत्राचार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले युट्युब तथा फेसबुक च्यानलहरूको समेत अनुगमन गरिरहेको जनाउँदै चालु आर्थिक वर्षमा हिंसा, द्वेष, अफवाह र भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने ६ युट्युब च्यानल, ५ फेसबुक पेज र ६ अनलाइन मिडियालाई सचेत गराएको छ।
यस्तै, मिडियाको रूपमा दर्ता नभएका ६५ युट्युब च्यानल र ५ फेसबुक पेजहरूबारे साइबर ब्युरो, नेपाल प्रहरीलाई जानकारी गराइएको छ।
आचारसंहिताको उल्लंघन गर्ने ११ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखिएको छ भने ३ मिडियालाई सूचीकरणबाट हटाइ थप कारबाही गरिएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, कारबाहीमा परेका मध्ये ५ अनलाइन सञ्चारमाध्यमले क्षमायाचनासहित आचारसंहिता पालनाको प्रतिबद्धता जनाएपछि तिनलाई कालोसूचीबाट हटाइएको सूचना अधिकारी बोहराले बताएका छन्।
प्रतिक्रिया