वाशिङ्टन/तेहरान, अगस्ट २८, २०२६ / अमेरिका–इरान युद्ध सुरु भएको छ महिना पुग्दै गर्दा रणनीतिक होर्मुज जलडमरूमध्य फेरि सैन्य, आर्थिक र कूटनीतिक टकरावको केन्द्र बनेको छ। अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीजहाज मार्गमा इरानले राखेका समुद्री बारुदी सुरुङ हटाइसकेको घोषणा गरेको छ भने वाशिङ्टनले तेहरानमाथि इतिहासकै कठोरमध्ये एक आर्थिक दबाब अभियान सुरु गरेको छ। अर्कोतर्फ इरानले अमेरिकी प्रतिबन्धलाई “आर्थिक तथा राज्य आतंकवाद” भन्दै अन्य मुलुकलाई त्यसको पालना नगर्न आह्वान गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड CENTCOM का कमान्डर एडमिरल ब्राड कुपरले होर्मुजको अन्तर्राष्ट्रिय जहाज मार्गबाट समुद्री बारुद हटाइएको जनाउँदै अहिले ती मार्ग खुला रहेको बताएका छन्। उनका अनुसार अमेरिकी सेनाले पछिल्ला महिनामा करिब १,५०० व्यावसायिक जहाजलाई जलडमरूमध्य पार गर्न सहयोग गरेको छ, जसबाट झन्डै ७५० मिलियन ब्यारेल कच्चा तेल ओसारिएको छ। उनले यसलाई अमेरिकी सैन्य जनशक्तिको जोखिमपूर्ण अभियानको परिणाम बताएका छन्।
तर अमेरिकी घोषणाका बाबजुद होर्मुजमा जहाज आवागमन अझै सामान्य अवस्थामा फर्किएको छैन। युद्धअघिको अवस्थामा विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै जाने गरेको थियो। रोयटर्सले जहाज ट्र्याकिङ तथ्यांक उद्धृत गर्दै हाल आवागमन सामान्य अवस्थाको करिब ५ देखि १५ प्रतिशत हाराहारीमा सीमित रहेको जनाएको छ। बिहीबार होर्मुज हुँदै केवल सातवटा कमोडिटी जहाज पार भएका थिए, जुन अघिल्लो दिनको १७ र १० दिनको औसत १५ भन्दा कम हो। यसले “जलमार्ग खुला भएको” अमेरिकी दाबी र व्यावसायिक जहाज कम्पनीहरूले महसुस गरिरहेको वास्तविक जोखिमबीच अझै ठूलो अन्तर रहेको देखाउँछ।
यसैबीच होर्मुज नजिकै ओमानतर्फको क्षेत्रमा बिहीबार एउटा ट्यांकर अज्ञात प्रोजेक्टाइलबाट प्रहारमा परेको United Kingdom Maritime Trade Operations (UKMTO) ले जनाएको छ। आक्रमणपछि जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। चालक दलका सबै सदस्य सुरक्षित रहेको तथा तत्काल कुनै वातावरणीय प्रदूषण रिपोर्ट नभएको UKMTO को भनाइ छ। आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन र घटनाबारे अनुसन्धान जारी छ।
अमेरिकाले क्षेत्रमा आफ्नो नौसैनिक शक्ति पनि थप सुदृढ गर्दैछ। USS Theodore Roosevelt Carrier Strike Group आगामी केही साताभित्र सान डिएगोबाट प्रस्थान गरी अमेरिकी सेनाको सेन्ट्रल कमान्ड क्षेत्र अर्थात् मध्यपूर्वतर्फ जाने तयारीमा छ। USNI News का अनुसार उक्त समूहको तैनाथी सात महिनाभन्दा लामो हुनसक्ने तयारी भइरहेको छ र यसले हाल क्षेत्रमा रहेको USS George Washington समूहलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ।
यो सैन्य तैनाथीले वाशिङ्टन तत्काल आफ्नो क्षेत्रीय सैन्य उपस्थिति घटाउने अवस्थामा नरहेको संकेत गर्छ। अमेरिकी नौसेनाले युद्ध सुरु भएयता अरब सागर तथा आसपासका क्षेत्रमा विमानवाहक युद्धपोतको उपस्थिति कायम राख्दै आएको छ।
सैन्य दबाबसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई विश्व अर्थतन्त्रबाट थप अलग्याउने उद्देश्यले “Operation Economic Outcast” नामक अभियान सुरु गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो कार्यक्रमको उद्देश्य इरानी सरकार तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) लाई आम्दानी उपलब्ध गराउने वित्तीय स्रोत र अन्तर्राष्ट्रिय सञ्जाल काट्नु रहेको बताएका छन्।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको OFAC ले यस अभियानको प्रारम्भमै विभिन्न देशमा रहेका करिब ६० व्यक्ति, कम्पनी, संस्था तथा पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ। ती सञ्जाल इरानको तेल बिक्री, आणविक तथा क्षेप्यास्त्र प्रविधि खरिद, साइबर गतिविधि र प्रतिबन्ध छल्ने कारोबारसँग जोडिएको अमेरिकी आरोप छ। साथै डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र समुद्री ढुवानी गरी पाँच क्षेत्रमा अमेरिकी ‘सेकेन्डरी स्याङ्सन’को जोखिम थप विस्तार गरिएको छ। अर्थात् इरानसँग कारोबार गर्ने गैर-अमेरिकी कम्पनी वा वित्तीय संस्थासमेत अमेरिकी वित्तीय प्रणालीबाट प्रतिबन्धित हुनसक्ने खतरा बढेको छ।
इरानी विदेश मन्त्रालयले अमेरिकी कदमलाई “आर्थिक आतंकवाद”, “राज्य आतंकवाद” तथा मानवअधिकारविरुद्धको कदम भन्दै कडा विरोध गरेको छ। तेहरानले अमेरिकी एकपक्षीय प्रतिबन्धलाई अवैध भन्दै अन्य मुलुकलाई त्यसको कार्यान्वयनमा सहभागी नहुन आग्रह गरेको छ। अमेरिकी प्रतिबन्धले सर्वसाधारणको स्वास्थ्य र जीविकोपार्जनमा असर पार्ने इरानको दाबी छ।
तर कठोर भाषाबीच इरानले कूटनीतिक सम्भावना पूर्ण रूपमा अस्वीकार गरेको छैन। विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग कूटनीतिलाई पुनः लयमा फर्काउन असम्भव नभएको भन्दै त्यसका लागि वाशिङ्टनले दबाबको नीति प्रभावकारी हुँदैन भन्ने बुझ्नुपर्ने बताएका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले पनि तेहरान पुगेर युद्धअघिको जस्तै होर्मुजमा स्वतन्त्र जहाज आवागमन पुनःस्थापित गर्न आग्रह गरेका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईका अनुसार तेहरानले होर्मुज पूर्ण रूपमा खोल्ने सर्तहरूको सूची तयार गरिरहेको छ। इरान र ओमानबीच दुवै देशको समुद्री क्षेत्र समेटिने निश्चित जहाज मार्गबारे छलफल भइरहेको पनि उनले बताएका छन्। यसअघि इरानले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, प्रतिबन्ध फुकुवा हुनुपर्ने र क्षतिपूर्तिको विषय सम्बोधन हुनुपर्ने माग गर्दै आएको थियो।
इरान युद्ध र होर्मुजको अवरोधको प्रत्यक्ष असर अमेरिकी उपभोक्तामा पनि देखिन थालेको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको र एक वर्षअघिको तुलनामा करिब एक डलर महँगिएको रोयटर्सले जनाएको छ। यही दबाबबीच राष्ट्रपति ट्रम्पले आगामी साता अमेरिकी तेल रिफाइनरी तथा इन्धन खुद्रा विक्रेताका प्रतिनिधिसँग बैठक गर्ने तयारी गरेका छन्। बैठकमा Valero, Marathon Petroleum र PBF Energy जस्ता प्रमुख रिफाइनर सहभागी हुने अपेक्षा गरिएको छ।
यसरी होर्मुजमा बारुदी सुरुङ हटाएको अमेरिकी घोषणा महत्वपूर्ण भए पनि संकट अन्त्य भएको भने छैन। अमेरिकाले जलमार्ग खुला र आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेको छ, इरानले आफ्ना सर्तबिना पूर्ण सामान्यीकरण स्वीकार नगर्ने संकेत दिएको छ, व्यावसायिक जहाजको आवागमन अझै सामान्य स्तरभन्दा धेरै तल छ र समुद्री आक्रमणसमेत जारी छन्। सैन्य टकरावको बीचमा आर्थिक नाकाबन्दी झन् कडा बनिरहेको छ भने कतार र ओमानको मध्यस्थतामा कूटनीतिक समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा अघि बढिरहेको छ।
प्रतिक्रिया