नेपाल यतिबेला एउटा भयावह प्राकृतिक विपद्को पीडाबाट गुज्रिरहेको छ। बाढी, पहिरो र नदीको उर्लँदो भेलले सयौँ परिवारको संसार उजाडेको छ। कसैको सिन्दूर पुछिएको छ, कसैको काख रित्तिएको छ, कसैले बाबुआमा गुमाएका छन्, कसैले सन्तान। घर, खेतबारी, सम्पत्ति, सपना र भविष्य एकै झट्कामा बगेका छन्। नदीकिनारामा भेटिएका शवहरूले विपद्को भयावहता बोलिरहेका छन्।
तर यही राष्ट्रिय शोकका बीच देखिएका केही दृश्यहरूले अर्को गम्भीर प्रश्न जन्माएका छन्—हाम्रो मानवता कहाँ छ ? हाम्रो संवेदना कहाँ हरायो ?
लाशबाट गहना निकाल्ने हात पनि देखिए। बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर, भाँडाकुँडा, काठपात र अन्य सामान समात्न आफ्नै ज्यान जोखिममा राखेर भेलमा हाम फाल्ने मानिस पनि देखिए। कसैको जीवनभरको कमाइ बगेर आएको छ, कसैको घरको अन्तिम अवशेष पानीमा तैरिरहेको छ—तर हामीमध्ये केहीलाई त्यो अर्को पीडितको सम्पत्ति होइन, सित्तैमा पाइने वस्तुजस्तो लाग्यो।
वाह, हामी नेपाली !
यति मात्रै होइन। प्रहरी र सुरक्षाकर्मीले बारम्बार चेतावनी दिइरहेका हुन्छन्—“खतरा छ, नजिक नजानुहोस्, सुरक्षित स्थानमा बस्नुहोस्।” तर हामी बाढी हेर्न जान्छौँ, पहिरो हेर्न जान्छौँ, जोखिमपूर्ण पुल र नदीकिनारामा भीड लगाउँछौँ। प्राकृतिक विपद् हामीलाई कहिलेकाहीँ चलचित्रको दृश्यजस्तो लाग्छ। मृत्युको मुखसम्म पुगेर एउटा फोटो, एउटा भिडियो र केही ‘भ्युज’ कमाउने लोभमा हामी आफ्नै ज्यानसमेत जोखिममा पार्छौँ।
अझ पीडादायी दृश्य तब देखिन्छ, जब कोही पानीमा बगिरहेको हुन्छ र वरिपरिका मानिसका हात उद्धारका लागि होइन, मोबाइल फोन समात्न माथि उठिरहेका हुन्छन्। कोही “बचाऊ !” भनेर कराइरहेको हुन्छ, हामी क्यामेराको कोण मिलाइरहेका हुन्छौँ। एउटा हात अघि बढाउँदा ज्यान बच्न सक्ने अवस्थामा हामी भिडियो बनाउन व्यस्त हुन्छौँ।
हात दिनुपर्ने ठाउँमा मोबाइल निकाल्ने, उद्धार गर्नुपर्ने बेला भिडियो खिचेर बस्ने—के यही हो हाम्रो आधुनिक समाज ?
समस्या केवल घटनास्थलमा उपस्थित मानिसको मात्र होइन। सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा समेत पीडालाई ‘कन्टेन्ट’ बनाउने विकृति बढ्दै गएको छ। शोकको घडीमा पनि सनसनीपूर्ण शीर्षक चाहिन्छ। रुवाइको क्लोजअप चाहिन्छ। मृत शरीरको तस्बिर चाहिन्छ। पीडितको सबैभन्दा कमजोर क्षण क्यामेरामा कैद गरेर सामाजिक सञ्जालमा फैलाउन हतार हुन्छ।
पीडा सूचना हुन सक्छ, तर पीडा व्यापार हुनु हुँदैन।
पत्रकारिताको काम यथार्थ देखाउनु हो, पीडितको मर्यादा खोस्नु होइन। नागरिकको जिम्मेवारी घटनाको प्रमाण सुरक्षित गर्नु हुन सक्छ, तर उद्धार सम्भव हुँदा उद्धार नगरी भिडियो बनाउनु कुनै जिम्मेवारी होइन। मृतकको तस्बिर, रोइरहेका बालबालिका, शोकाकुल परिवार वा क्षतविक्षत शरीरलाई ‘भ्युज’ कमाउने सामग्री बनाउनु स्वतन्त्रता होइन—यो संवेदनाको पतन हो।
हामी आफैलाई सोधौँ—एक जनालाई पर्दा अर्कोलाई किन दुख्दैन ?
उसको बच्चा भेलले बगाउँदा आफ्नै बच्चाको अनुहार किन सम्झिँदैनौँ ?
उसकी आमा रुँदा आफ्नी आमाको आँसु किन देख्दैनौँ ?
उसको घर बग्दा आफ्नो घरको छानो किन सम्झिँदैनौँ ?
उसले जीवनभर जोडेको सम्पत्ति पानीमा तैरिँदा त्यसलाई लुट्ने वस्तु कसरी ठान्न सक्छौँ ?
आज अर्काको पालो छ। भोलि हाम्रो पनि हुन सक्छ।
विपद्ले धनी–गरिब, जात–धर्म, दल–विचार, गाउँ–शहर छुट्याउँदैन। बाढीले पार्टीको सदस्यता हेर्दैन। पहिरोले नागरिकता जाँच्दैन। मृत्युले सामाजिक प्रतिष्ठा सोध्दैन। त्यसैले विपद्को घडीमा हाम्रो परिचय एउटै हुनुपर्छ—मान्छे।
नेपालले संसारलाई सगरमाथा देखाएको छ। बुद्धको जन्मभूमि भनेर गर्व गरेको छ। “अतिथि देवो भवः” भन्ने संस्कारको चर्चा गरेको छ। करुणा, सहिष्णुता, सहयोग र सामाजिक सद्भाव हाम्रो संस्कृतिका महत्वपूर्ण आधार हुन् भनेर हामी पुस्तौँदेखि भन्दै आएका छौँ।
तर ती मूल्यहरू भाषण, पुस्तक र नारामा मात्र सीमित भए भने त्यसको अर्थ के रहन्छ ?
बुद्धको देश भनेर गर्व गर्ने हामीले पीडितको आँसुमा करुणा देखाउन सकेनौँ भने हाम्रो गर्व खोक्रो हुन्छ। धर्मको कुरा गर्ने हामीले संकटमा परेको मान्छेलाई हात दिन सकेनौँ भने हाम्रो धार्मिकता प्रश्नको घेरामा पर्छ। संस्कारको कुरा गर्ने हामीले मृतकको शरीर र सम्पत्तिसमेत सुरक्षित राख्न सकेनौँ भने हाम्रो संस्कारको परीक्षा त्यहीँ असफल हुन्छ।
विपद् उत्सव होइन।
मृत्यु तमासा होइन।
पीडा ‘कन्टेन्ट’ होइन।
आँसु व्यापार होइन।
विपद्को ठाउँमा जानैपरे उद्धारका लागि जाऔँ। राहत बोकेर जाऔँ। सुरक्षाकर्मीको निर्देशन पालना गरौँ। जोखिमपूर्ण क्षेत्रमा भीड नगरौँ। पीडितको गोपनीयता र सम्मान जोगाऔँ। कुनै सामान भेटिए सम्बन्धित निकाय वा वास्तविक धनीसम्म पुर्याऔँ। सामाजिक सञ्जालमा अपुष्ट सूचना, मृतकका संवेदनशील तस्बिर र भय फैलाउने सामग्री पोस्ट नगरौँ।
सबैभन्दा महत्वपूर्ण कुरा—कसैको ज्यान संकटमा छ भने पहिले मान्छे बचाऔँ, भिडियो पछि पनि खिच्न सकिन्छ।
आज हामीलाई केवल पुल, सडक र घर पुनर्निर्माण गर्नु छैन। हाम्रो संवेदना पनि पुनर्निर्माण गर्नुपर्ने भएको छ।
हामीले आधुनिकता धेरै सिक्यौँ, प्रविधि सिक्यौँ, सामाजिक सञ्जाल सिक्यौँ, मोबाइल चलाउन सिक्यौँ; अब फेरि एकपटक मान्छे हुन सिक्नुपर्ने बेला आएको छ।
हामी सुध्रिने कहिले ?
मानवता जाग्ने कहिले ?
मान्छेको पीडामा मान्छे भएर उभिने कहिले ?
यो प्रश्न सरकारलाई मात्र होइन। प्रहरीलाई मात्र होइन। सञ्चार माध्यमलाई मात्र होइन। सामाजिक सञ्जाल प्रयोगकर्तालाई मात्र पनि होइन।
यो प्रश्न हामी प्रत्येकलाई हो।
ऐनामा अनुहार हेरेर आज आफैलाई सोधौँ—
हामी नेपाली त हौँ,
तर के हामी साँच्चै मान्छे पनि हौँ ??
प्रतिक्रिया