लाशहरूबाट गहना तान्ने
हामी नेपाली !
बाढीले बगाएर ल्याएका
ग्यास सिलिन्डर, भाँडाकुँडा र सामान
ज्यान जोखिममा राखेर हाम फाल्ने र तान्ने
हामी नेपाली !
किनारामा लाशका खात छन्,
कसैको सिन्दूर बगेको छ,
कसैको काख रित्तिएको छ,
कसैको घर, सपना, भविष्य
एकै भेलमा हराएको छ
तर हाम्रो मन किन रुँदैन ?
प्रहरी कराइरहेको छ
“खतरा छ, सावधान !
नजिक नजानुहोस् !”
तर हामीलाई बाढी पनि तमासा लाग्छ,
पहिरो पनि दृश्य लाग्छ,
मृत्युको मुखमै पुगेर
भिड लगाउँछौँ,
एउटा भिडियोका लागि,
एउटा फोटोका लागि,
अनि ‘भ्युज’ का लागि !
कोही पानीमा बगिरहेको हुन्छ,
हामी मोबाइल ठड्याइरहेका हुन्छौँ
कोही “बचाऊ !” भन्दै चिच्याइरहेको हुन्छ,
हामी क्यामेराको कोण मिलाइरहेका हुन्छौँ
हात दिनुपर्ने ठाउँमा
फोन निकाल्छौँ,
उद्धार गर्नुपर्ने बेला
भिडियो खिचेर बस्छौँ
हामी नेपाली !
शोकको यस्तो घडीमा पनि,
सनसनीपूर्ण शीर्षक चाहिन्छ,
रुवाइको क्लोजअप चाहिन्छ,
लाशको तस्बिर चाहिन्छ,
अरूको पीडा बेचेर
आफ्नो ‘भ्युज’ बढाउनुपर्छ !
के यही हो मानवता ?
के यही हो मानवीय संवेदना ?
कहाँ हरायो हाम्रो मन ?
कहाँ हरायो हाम्रो विवेक ?
एकलाई पर्दा
अर्कोलाई किन दुख्दैन ?
उसको बच्चा बग्दा
आफ्नो बच्चाको अनुहार किन सम्झिँदैनौँ ?
उसकी आमा रुँदा
आफ्नी आमाको आँसु किन देख्दैनौँ ?
उसको घर भत्किँदा
आफ्नो घर किन सम्झिँदैनौँ ?
विपद् उत्सव होइन,
मृत्यु तमासा होइन,
पीडा ‘कन्टेन्ट’ होइन,
आँसु व्यापार होइन !
हामीले बुझ्ने कहिले ??
वाह हामी नेपाली !
हामीले संसारलाई
सगरमाथा देखायौँ,
बुद्ध देखायौँ,
अतिथि देवो भवः भन्यौँ
तर के यहि हो हाम्रो बिबेक ?
यस्तै हुन्छ मानबियता ?
यस्तै हुन्छ धर्म र कर्तब्य ??
हामी सुध्रिने कहिले ?
मानवता जाग्ने कहिले ?
मान्छेको पीडामा
मान्छे भएर उभिने कहिले ?
प्रश्न अरूलाई होइन,
आज आफैलाई सोधौँ
हामी नेपाली त हौँ ?!
तर के हामी साँच्चै
मान्छे पनि हौँ ??!!
प्रतिक्रिया