काठमाडौं / नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई सो सम्मान प्रदान गरेका हुन् ।
नेपाल र भारतबीच रहँदै आएको विशिष्ट सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मित्रवत् सैन्य सम्बन्धको निरन्तरतास्वरूप सन् १९५० देखि दुवै देशका सेनाध्यक्षलाई एक-अर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दै आइएको हो । यो परम्परालाई दुई देशबीचको असाधारण सैन्य सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिसकिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष सेठ पाँच दिने औपचारिक भ्रमणका लागि आइतबार अपराह्न नेपाल आइपुगेका थिए । गत साउन ३० गते भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठको यो भ्रमण पदभार ग्रहणपछिको पहिलो विदेश भ्रमण पनि हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलगायत नेपाल सरकार र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
मानार्थ महारथीको दर्जा ग्रहण गरेपछि सेनाध्यक्ष सेठले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता समेत गरे, जसमा नेपाल-भारत सम्बन्धका विविध पक्ष र रक्षा-सुरक्षा सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद ग्रहण र निरीक्षण गरी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता पनि गरेका थिए । भेटवार्ताका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनले जंगी अड्डा परिसरभित्र वृक्षारोपण गरी नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
भ्रमणका आगामी दिनमा सेनाध्यक्ष सेठ प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग समेत भेटवार्ता गर्नेछन् । उनले शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एन्ड स्टाफ कोर्षमा तालिमरत सैनिक अधिकृतलाई सम्बोधन गर्दै प्रशिक्षक र विदेशी शिक्षार्थीसँग अन्तरक्रिया गर्ने र पोखरामा आयोजना हुने ‘एक्स-सर्भिसम्यान र्याली’मा सहभागी भई अवकाशप्राप्त भारतीय सैनिकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणको अन्तिम दिन उनी भारत फर्किनेछन् ।

प्रतिक्रिया