धेरै पुराना प्रसङ्गतिर नजाऔँ। नेपाल प्रहरीमा आफ्नो कार्यकालमा अलग पहिचान बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकबाट सेवा निवृत्त भएपछि नेतृत्व तहमा देखिएको खडेरीका बीच दानबहादुर कार्की प्रहरी महानिरीक्षक भएर आउँदा कम्तीमा प्रहरी संगठनप्रति केही आशा जागेको थियो।
नेपाल प्रहरी कुनै सरकार, दल वा व्यक्तिको संस्था होइन; यो राज्यको स्थायी र अत्यन्त संवेदनशील सुरक्षा संयन्त्र हो। सरकार जोसुकैको होस्, प्रहरी संविधान, कानुन र विधिअनुसार चल्नुपर्छ र नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ। प्रहरी कमजोर भयो, उसको मनोबल भत्कियो वा जनविश्वास गुम्यो भने राज्यको आधार नै कमजोर हुन्छ। प्रहरी कमजोर भएको देशमा नागरिकले सुरक्षित महसुस गर्न सक्दैनन्।
दानबहादुर कार्कीको अहिलेसम्मको व्यावसायिक यात्रा, विगत र सार्वजनिक छवि हेर्दा मैले उनलाई स्वच्छ, इमानदार, अनुशासित र जिम्मेवार राष्ट्रसेवकका रूपमा बुझेको छु। त्यसैले उनी प्रहरी महानिरीक्षक बन्दा संगठनभित्र व्यावसायिकता, निष्पक्षता र कानुनी शासन अझ बलियो होला भन्ने अपेक्षा जाग्नु स्वाभाविक थियो।
तर पछिल्लो समय ‘नयाँ’ र ‘विकल्प’को नाममा राजनीतिमा आएका केही व्यक्तिबाट देखिएको उद्दण्डता, असंयमित अभिव्यक्ति र संस्थामाथि आक्रमण गर्ने शैली चिन्ताजनक छ। सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक कार्कीलाई प्रश्न गर्ने क्रममा देखाएको भाषा, व्यवहार र प्रस्तुति हेर्दा संसदीय मर्यादा, शिष्टता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको महसुस भयो।
सांसदलाई प्रश्न गर्ने अधिकार छ। प्रहरी प्रमुखलाई प्रश्न गर्नुपर्छ, सरकारलाई प्रश्न गर्नुपर्छ, हरेक सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउनुपर्छ। तर प्रश्न प्रमाणमा आधारित हुनुपर्छ, भाषा मर्यादित हुनुपर्छ र व्यवहार संसदीय गरिमाअनुकूल हुनुपर्छ। पद र अधिकारको अर्थ जे मन लाग्यो त्यही बोल्ने वा कसैको व्यक्तिगत तथा संस्थागत मर्यादामाथि प्रहार गर्ने छुट होइन।
त्यही बैठकमा दानबहादुर कार्कीले अत्यन्त संयमित, शिष्ट र विनम्र ढंगले आफूलाई प्रस्तुत गर्दै तथ्य र आफ्नो पक्ष राख्ने प्रयास गरेको देख्दा उनीप्रति मेरो सम्मान अझ बढ्यो। उत्तेजनाको जवाफ उत्तेजनाले होइन, मर्यादा र तथ्यले दिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरे।
यसको अर्थ प्रहरी वा प्रहरी प्रमुख प्रश्नभन्दा माथि छन् भन्ने कदापि होइन। कानुनभन्दा माथि कोही छैन। प्रहरी होस्, सांसद होस्, मन्त्री होस् वा प्रधानमन्त्री कसैले गल्ती गरेको प्रमाणित भए ऊ कानुनको कठघरामा उभिनैपर्छ र दोषअनुसार कारबाही भोग्नैपर्छ। भोलि दानबहादुर कार्कीबाट पनि कुनै गलत काम भएको तथ्य र प्रमाण आयो भने उनीमाथि पनि निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्छ। मेरो विश्वास व्यक्तिमा हुन सक्छ, तर अन्तिम विश्वास विधि, कानुन र प्रमाणमै हुनुपर्छ।
तर प्रमाणबिनाका आरोप, अपमानजनक भाषा, राजनीतिक उत्तेजना र प्रहरी संगठनकै मनोबल गिराउने प्रवृत्ति पनि स्वीकार्य हुन सक्दैन। कसैलाई मन परेन भन्दैमा सिंगो संस्थामाथि अविश्वास सिर्जना गर्ने वातावरण बनाउनु अन्ततः समाजकै लागि घातक हुन्छ।
प्रहरीलाई सुधारौँ, प्रश्न गरौँ, गल्तीमा कारबाही गरौँ तर प्रहरीको मनोबल नतोडौँ।
किनकि भोलि तपाईं हामीमाथि अन्याय पर्दा, जिउधनको सुरक्षा चाहिँदा, अपराधबाट संरक्षण खोज्दा वा शान्ति सुरक्षाको आवश्यकता पर्दा हामी पुग्ने पहिलो ढोका प्रहरीकै हो।
व्यक्ति आउँछन्, जान्छन्; सरकार फेरिन्छन्।
तर राज्यका संस्था बलिया रहनुपर्छ।
प्रहरी कानुनभित्र रहोस्, राजनीति मर्यादाभित्र रहोस्।
आरोप होइन, प्रमाण बोलोस्।
व्यक्ति होइन, संस्था बलियो बनाऔँ।
नेपाल प्रहरीको मनोबल र जनविश्वास जोगाऔँ।
– Ram Prasad Khanal
प्रतिक्रिया