लण्डन। बेलायतको राजतन्त्रको इतिहासमा पहिलोपटक सत्तारूढ राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरेका छन्। बेलायती राजा चार्ल्स तृतीयले सन् २०२४–२५ अवधिमा आफूले १२.९ मिलियन पाउन्ड कर तिरेको खुलासा गरेका हुन्। यससँगै उनी बेलायतका सबैभन्दा धेरै कर तिर्ने व्यक्तिहरूमध्ये शीर्ष १०० भित्र पर्ने देखिएको छ।
राजदरबारले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार युवराज प्रिन्स विलियमले पनि सोही अवधिमा ७.७६ मिलियन पाउन्ड आयकर तथा पूँजीगत लाभकर (Capital Gains Tax) तिरेका छन्। राजदरबारले यी विवरण स्वेच्छाले सार्वजनिक गरिएको जनाउँदै यसले राजतन्त्रप्रति जनविश्वास, जवाफदेहिता र वित्तीय पारदर्शिता बढाउने विश्वास व्यक्त गरेको छ।
राजा चार्ल्स र रानी क्यामिलाले बकिङ्घम दरबारको व्यापक मर्मतसम्भार सम्पन्न भएपछि पनि त्यहाँ स्थायी रूपमा नबस्ने निर्णय गरेका छन्। उनीहरू सन् २००५ देखि बस्दै आएको क्लेरेन्स हाउसमै रहनेछन्।
दरबारका अधिकारीहरूका अनुसार यस निर्णयले बकिङ्घम दरबारलाई वर्षभरि सर्वसाधारणका लागि थप खुला बनाउन, पर्यटकको पहुँच विस्तार गर्न तथा सांस्कृतिक सम्पदाबाट आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। करिब ३७० मिलियन पाउन्ड लागतको मर्मतसम्भार आगामी वर्षको मार्चसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।
प्रतिवेदनले राजपरिवार सञ्चालनका लागि सरकारले उपलब्ध गराउने सभरेन ग्रान्ट (Sovereign Grant) आगामी केही वर्षमा उल्लेख्य रूपमा बढ्ने देखाएको छ। सन् २०२४–२५ मा ८६.३ मिलियन पाउन्ड रहेको अनुदान सन् २०२७–२८ सम्म पुग्दा ९९.९ मिलियन पाउन्ड पुग्ने अनुमान गरिएको छ।
यस रकमबाट राजपरिवारका कर्मचारी, औपचारिक भ्रमण, दरबार सञ्चालन, ऐतिहासिक भवनहरूको संरक्षण, साइबर सुरक्षा सुदृढीकरण तथा हरित ऊर्जा प्रवर्द्धनका परियोजनाहरू सञ्चालन गरिनेछ। विशेषगरी विन्डसर क्यासलका पुराना बायलर प्रतिस्थापनका लागि मात्रै करिब ११ मिलियन पाउन्ड छुट्याइएको छ।
राजदरबारले भने यो रकम कुनै पनि सदस्यको व्यक्तिगत आय नभई संस्थागत जिम्मेवारी पूरा गर्न प्रयोग हुने स्पष्ट पारेको छ।
राजा चार्ल्सको मुख्य व्यक्तिगत आम्दानी डची अफ ल्यान्कास्टर (Duchy of Lancaster) नामक ऐतिहासिक सम्पत्ति, जग्गा, लगानी र व्यावसायिक सम्पत्तिबाट प्राप्त हुन्छ। सन् २०२५–२६ मा यसबाट उनले करिब २५.२ मिलियन पाउन्ड आम्दानी गरेका छन्।
यसका अतिरिक्त निजी लगानी, बचत तथा बाल्मोरल र स्यान्ड्रिङ्घम सम्पत्तिबाट हुने आम्दानी पनि करको दायरामा पर्ने स्रोतका रूपमा उल्लेख गरिएको छ। यद्यपि, यी स्रोतबाट कति आम्दानी भयो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
उता, प्रिन्स विलियमको आयको प्रमुख स्रोत डची अफ कर्नवाल (Duchy of Cornwall) हो, जसबाट प्राप्त रकमले उनको आधिकारिक जिम्मेवारी, कार्यालय सञ्चालन र पारिवारिक खर्च धान्ने गर्दछ।
प्रिन्स विलियमले अर्को महत्त्वपूर्ण निर्णय पनि सार्वजनिक गरेका छन्। उनले डार्टमोर जेलबाट वार्षिक रूपमा आउने करिब १.५ मिलियन पाउन्ड भाडा अब आफूले नलिने घोषणा गरेका छन्।
सन् २०२४ देखि विषाक्त रेडोन ग्यासका कारण बन्द रहेको उक्त जेलबाट प्राप्त रकम अब स्थानीय ग्रामीण समुदायको विकास तथा जेल आसपासको प्रिन्सटाउन क्षेत्रको सामाजिक परियोजनामा खर्च गरिनेछ।
वार्षिक प्रतिवेदनले राजपरिवारका विदेश भ्रमण र यातायात खर्चसमेत सार्वजनिक गरेको छ।
राजा र युवराजले कर विवरण सार्वजनिक गरे पनि उनीहरूको वास्तविक आम्दानी, लगानी तथा कर गणनाको विस्तृत आधार सार्वजनिक नगरिएकाले केही वित्तीय विश्लेषकहरूले अझै पूर्ण पारदर्शिता नभएको टिप्पणी गरेका छन्।
यस्तै, केही आलोचकहरूले बकिङ्घम दरबार वर्षभरि सर्वसाधारणका लागि खुला गरी टिकट बिक्रीबाट उठ्ने सम्पूर्ण रकम सरकारी कोषमा जानुपर्ने तर्क अघि सारेका छन्।
राजनीतिक तथा संवैधानिक विश्लेषकहरूले राजा चार्ल्सको यो कदमलाई आधुनिक राजतन्त्रलाई थप उत्तरदायी र पारदर्शी बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। पछिल्ला वर्षहरूमा राजपरिवारको आर्थिक अवस्था, सार्वजनिक खर्च र सम्पत्तिबारे बढ्दो चासोबीच कर विवरण सार्वजनिक गर्नु राजतन्त्रले समयअनुसार आफूलाई परिवर्तन गर्न खोजेको संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया