काठमाडौं। विश्वको सबैभन्दा संवेदनशील सामुद्रिक व्यापारिक मार्ग मानिने हर्मुज जलडमरूमध्य (Strait of Hormuz) फेरि एकपटक सैन्य तनावको केन्द्र बनेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यूएई रक्षा मन्त्रालयका अनुसार घाइतेमध्ये छ जना भारतीय र दुई जना युक्रेनी नागरिक छन्। मन्त्रालयले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन तथा क्षेत्रीय शान्ति र विश्व ऊर्जा सुरक्षामाथिको प्रत्यक्ष आक्रमणको संज्ञा दिएको छ।
यद्यपि केही घण्टापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले आक्रमणको जिम्मेवारी स्वीकार गर्दै ती ट्यांकरहरूले बारम्बार चेतावनी दिँदासमेत बेवास्ता गरेको, आफ्नो नेभिगेसन प्रणाली बन्द गरेर बारुद बिछ्याइएको निषेधित मार्ग हुँदै यात्रा गर्न खोजेको दाबी गरेको छ। IRGC ले त्यसपछि ट्यांकरहरूलाई निष्क्रिय पारिएको जनाएको छ। साथै अमेरिकासँग सहकार्य गर्ने जो–कोहीले ऊर्जा संकट र ठूलो क्षति भोग्नुपर्ने चेतावनीसमेत दिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुज जलडमरूमध्य हुँदै ढुवानी हुने सबै अन्तर्राष्ट्रिय कार्गोमा २० प्रतिशत सुरक्षा शुल्क (Security Charge) लगाउने घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत अमेरिकाले पुनः इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लागू गर्ने र हर्मुज जलडमरूमध्यको सुरक्षा अब अमेरिकी नियन्त्रणमा रहने बताएका हुन्।
उनले अमेरिका अबदेखि “हर्मुज जलडमरूमध्यको संरक्षक (Guardian of the Hormuz Strait)” का रूपमा परिचित हुने दाबी गर्दै विश्व व्यापारिक जहाजहरूको सुरक्षाका लागि हुने खर्च उठाउन सबै कार्गोबाट २० प्रतिशत शुल्क उठाइने बताएका छन्।
ट्रम्पका अनुसार यो व्यवस्था अमेरिकी पूर्वी समयअनुसार मंगलबार साँझदेखि लागू हुनेछ। उनले इरानका जहाज वा इरानसँग प्रत्यक्ष सम्बन्धित ग्राहकलाई जलडमरूमध्य प्रयोग गर्न नदिइने तर अन्य राष्ट्रका जहाजलाई भने आवागमन खुला रहने बताएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेनाले इरानको आक्रमण गर्ने क्षमता लगातार कमजोर पारिरहेको र जलडमरूमध्यको नियन्त्रण आफ्नो हातमा रहेको दाबी गरे। साथै उनले शान्ति सम्झौताको सम्भावना अझै समाप्त नभएको उल्लेख गर्दै वार्ताको ढोका खुला रहेको पनि बताए।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले राष्ट्रपतिको निर्देशनमा सोमबार लगातार तेस्रो रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ।
CENTCOM का अनुसार बसेहर, चाबहार, जास्क, कोनारक, अबु मुसा टापु तथा बन्दर अब्बासलगायतका क्षेत्रहरूमा रहेका हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी संयन्त्र र सैन्य पूर्वाधारहरूलाई निशाना बनाइएको हो। अमेरिकी पक्षले यी आक्रमणहरू इरानको व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमता कमजोर पार्ने उद्देश्यले गरिएको दाबी गरेको छ।
यसको जवाफमा इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानी सेनाले कुवेतस्थित अमेरिकी सैन्य सम्पत्तिमाथि प्रतिकारात्मक आक्रमण गरेको जनाएको छ।
अमेरिकी घोषणापछि इरानी विदेशमन्त्री अब्बास अराघ्ची ले सामाजिक सञ्जाल X मार्फत प्रतिक्रिया दिँदै ट्रम्पकै शब्द प्रयोग गरेर इरान नै हर्मुज जलडमरूमध्यको “सदाबहार संरक्षक” रहेको बताएका छन्।
उनले अन्तर्राष्ट्रिय व्यापारिक जहाजलाई सुरक्षित मार्ग उपलब्ध गराउने पक्षलाई पारिश्रमिक मिल्नुपर्ने ट्रम्पको भनाइसँग आंशिक सहमति जनाउँदै २० प्रतिशत शुल्क अत्यधिक भएको टिप्पणी गरेका छन्। इरानले आफू निष्पक्ष र न्यायोचित व्यवहार गर्ने पनि उनको भनाइ छ।
यसअघि इरानको सर्वोच्च सैन्य मुख्यालयले अमेरिकालाई हर्मुज जलडमरूमध्यको व्यवस्थापनमा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। इरानी सैन्य प्रवक्ता इब्राहिम जोलफाघारीले अमेरिकाको गतिविधिले क्षेत्रीय सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार तथा तेल ढुवानीलाई गम्भीर जोखिममा पारेको आरोप लगाएका छन्।
उनले कुनै पनि देशले अमेरिकासँग सहकार्य गरे त्यसलाई इरानको सार्वभौमिकतामाथिको युद्धसरह मानिने चेतावनी दिँदै द्वन्द्व फैलियो भने सम्पूर्ण मध्यपूर्व युद्धको आगोमा जल्न सक्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (IMO) ले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने जहाजबाट एकतर्फी रूपमा अनिवार्य शुल्क उठाउने कुनै कानुनी आधार नरहेको स्पष्ट पारेको छ।
IMO का प्रवक्ताले अन्तर्राष्ट्रिय नौवहनका लागि प्रयोग हुने जलडमरूमध्यमाथि शुल्क लगाउने निर्णय समुद्री कानुनविपरीत हुने बताएका छन्।
समुद्री कानुनअनुसार तटीय राष्ट्रले आफ्नो समुद्री सीमाभित्र अधिकार प्रयोग गर्न पाउने भए पनि हर्मुज जलडमरूमध्यको साँघुरो भाग इरान र ओमान दुवैको समुद्री क्षेत्रभित्र पर्ने भएकाले अन्तर्राष्ट्रिय आवागमनमा बाधा पुर्याउने विषय कानुनी रूपमा जटिल मानिन्छ।
हर्मुज जलडमरूमध्यबाट सामान्य अवस्थामा विश्वको करिब २५ प्रतिशत कच्चा तेल तथा करिब २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास (LNG) ओसारपसार हुने भएकाले यहाँको तनावले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
यूएईका ट्यांकरमाथिको आक्रमण र अमेरिकी नयाँ घोषणापछि अन्तर्राष्ट्रिय तेल बजार पुनः उकालो लागेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ८४ डलर प्रति ब्यारेल नजिक पुगेको छ भने अमेरिकी WTI पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन मात्रै ब्रेन्ट तेलको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको थियो।
विश्लेषकहरूले ट्रम्पको नयाँ घोषणालाई केवल सैन्य दबाब मात्र नभई इरानलाई पुनः वार्ताको टेबुलमा ल्याउने रणनीतिक चालका रूपमा पनि व्याख्या गरेका छन्। तर यदि २० प्रतिशत शुल्कको व्यवस्था व्यवहारमै लागू भयो भने अमेरिकाका युरोपेली तथा एसियाली सहयोगी राष्ट्रहरूले समेत त्यसको विरोध गर्ने सम्भावना रहेको देखिन्छ।
यससँगै विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र मध्यपूर्वको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ। अमेरिका र इरानबीचको तनाव थप चुलिएमा विश्व अर्थतन्त्र, तेल बजार तथा समुद्री व्यापारमा अझ ठूलो असर पर्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गर्न थालेको छ।
प्रतिक्रिया