Updated ….अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानमा मात्रै एक हजार एक सय भन्दा बढी मानिस मारिएको पुष्टि भएको छ। घाइतेकोको संख्या हजारौं छ र लेखाजोखा गर्न कठिन भैरहेको समाचार आएका छन्। युद्ध अझ खतरनाक चरणमा प्रबेश गरेको छ र अमेरिका र इजरायलले इरानका सुरक्षा मुख्यालय तथा सैन्य समन्वय केन्द्रहरूमा आक्रमण गरिरहेको छ, इरानले पनि त्यसको प्रतिकार गर्दै आएको छ र इरानले इजरायल माथि पनि आक्रमण जारी राखेको छ। इरानले अहिलेसम्म इजरायल र मध्ये पुर्बका देश हरुमा रहेका अमेरिकी सेनाका बेसहरुमा ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल, २,००० भन्दा बढी ड्रोन प्रहार गरेको दाबि गरेको छ तर अमेरिकाले इरानको आक्रमण क्षमता क्रमशः कमजोर हुँदै गएको दाबी गरेको छ। इरान इजरायल अमेरिका युद्धका बारेमा यो ताजा र बिशेष रिपोर्ट हेरौं :
मध्यपूर्वमा जारी युद्ध झन् तीव्र बन्दै गएको छ। इजरायलले इरानको राजधानी तेहरानभित्र रहेका सुरक्षा तथा सैन्य संरचनालाई लक्षित गर्दै लगातार हवाई आक्रमण गरिरहेको छ। इजरायली सेनाका अनुसार तेहरानका विभिन्न “सुरक्षा मुख्यालय” तथा सैन्य समन्वय केन्द्रहरूमा आक्रमण गरिएको छ। तेहरानका स्थानीय नागरिकले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै स्थिति दिनप्रतिदिन झन् भयावह बन्दै गएको बताएका छन्। “हरेक दिन अवस्था खराब हुँदै गएको छ, हामी कसलाई विश्वास गर्ने भन्ने पनि थाहा छैन,” तेहरानका स्थानीय नागरिकले भने।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि आयोजना गर्न लागिएको तीनदिने राजकीय शोक तथा अन्त्येष्टि कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। सरकारी समाचार संस्थाका अनुसार आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्था पूरा नभएकाले समारोह पछि सारिएको हो। यसअघि सामाजिक सञ्जालमा अन्त्येष्टिको तयारी भइरहेका तस्वीरहरू सार्वजनिक भएका थिए। तर नयाँ मिति भने अझै घोषणा गरिएको छैन।
मानवअधिकार संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (HRANA) का अनुसार अमेरिका–इजरायलद्वारा सुरु गरिएको सैन्य अभियानपछि इरानमा हालसम्म कम्तीमा १,०९७ सर्वसाधारणको ज्यान गइसकेको छ। हजारौं मानिस घाइते भएका छन्।
इजरायलले इरानसँगै लेबनानमा पनि आक्रमण विस्तार गरेको छ। बेरुतबाट आएका विवरणअनुसार इजरायली बमबारीले त्यहाँका केही होटल र भवनहरूमा ठूलो क्षति पुगेको छ।
युद्धको प्रभाव खाडी क्षेत्रसम्म फैलिएको छ।
साउदी अरब र कुवेतमा नयाँ आक्रमणको खबर आएको छ।
दुबईस्थित अमेरिकी कन्सुलेटमा ड्रोन प्रहार भएको बताइएको छ।
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल खसेको रिपोर्ट सार्वजनिक भएको छ।
श्रीलंकाको नजिक समुद्रमा एक इरानी नौसैनिक जहाज डुब्ने अवस्थामा पुगेको छ। जहाजमा रहेका नाविकहरूको उद्धार भइरहेको बताइएको छ। तर दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।
युद्ध तीव्र बन्दै जाँदा विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेका छन्।
बेलायतले ओमानबाट आफ्ना नागरिकलाई फर्काउन विशेष उडान व्यवस्था गरेको जनाएको छ, जसअनुसार मस्कटबाट राति ११ बजे (स्थानीय समय) उद्धार उडान प्रस्थान गर्नेछ। अमेरिकाले पनि मध्यपूर्वका १४ देशमा रहेका आफ्ना नागरिकलाई तत्काल क्षेत्र छोड्न चेतावनी दिएको छ। साथै कुवेत र साउदी अरबस्थित अमेरिकी दूतावास अस्थायी रूपमा बन्द गरिएको छ।
युद्धको प्रभाव विश्व अर्थतन्त्रमा पनि देखिएको छ।
एशियाली सेयर बजारमा तीव्र गिरावट आएको छ, विशेषगरी सोलमा ठूलो गिरावट देखिएको छ।
तेलको मूल्य बढ्दै गएको छ।
युरोपेली बजार भने केही उकालो लागेका छन् भने अमेरिकी बजार सामान्य सकारात्मक संकेतसहित खुल्ने अनुमान गरिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार “अपरेसन एपिक फ्युरी” अन्तर्गत अमेरिका र इजरायलले अहिलेसम्म इरानका झन्डै २,००० लक्ष्यमा आक्रमण गरिसकेका छन्।
उनका अनुसार अभियानमा:
५० हजारभन्दा बढी अमेरिकी सैनिक
२०० भन्दा बढी लडाकु विमान
दुई विमानवाहक जहाज
लामो दूरीका बमवर्षक विमान
सक्रिय रूपमा सहभागी छन्।
कुपरका अनुसार गठबन्धन सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली कमजोर बनाइसकेको छ र सयौं मिसाइल, ड्रोन तथा प्रक्षेपण प्रणाली नष्ट गरिएको छ। साथै १७ वटा इरानी नौसैनिक जहाज पनि ध्वस्त पारिएको बताइएको छ।
यता इरानले पनि तीव्र प्रतिकार गरिरहेको छ। अमेरिकी सैन्य विवरणअनुसार इरानले अहिलेसम्म
५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल
२,००० भन्दा बढी ड्रोन
प्रहार गरेको छ। तर अमेरिकाले इरानको आक्रमण क्षमता क्रमशः कमजोर हुँदै गएको दाबी गरेको छ।
इजरायलका रक्षा मन्त्रीले खामेनेईको स्थानमा आउने नयाँ इरानी नेता पनि यदि इजरायल, अमेरिका र उनका सहयोगी देशविरुद्ध उस्तै नीति अपनाए “सिधै सैन्य निशाना बन्न सक्ने” चेतावनी दिएका छन्।
विशेषज्ञहरूका अनुसार यो चेतावनीले युद्धको राजनीतिक आयाम अझ खतरनाक चरणमा पुगेको संकेत दिएको छ।

प्रतिक्रिया