पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकको ‘नक्कली उद्धार’ देखाएर बीमा रकम ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। साथै, उक्त गतिविधिसँग सम्बन्धित अस्पतालहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार प्रारम्भिक अनुसन्धानबाट नक्कली बीमा दाबीमार्फत झन्डै १९.६९ मिलियन अमेरिकी डलर, नेपाली रुपैयाँमा करिब २ अर्ब ८६ करोड, बराबरको रकम असुल गरिएको देखिएको छ। कठिन हिमाली क्षेत्रमा पर्यटक अलपत्र परेको नक्कली विवरण तयार पारेर उद्धार खर्च देखाउँदै बीमा कम्पनीसँग रकम दाबी गर्ने कार्यमा संलग्न रहेको आरोपमा तीन वटा कम्पनीका सञ्चालक तथा व्यवस्थापक पक्राउ परेका हुन्।
सीआईबीका एक प्रवक्ताले उद्धार उडान र स्वास्थ्य जाँचसँग सम्बन्धित कागजातहरू समेत किर्ते गरिएको पाइएको भन्दै अनुसन्धानको दायरा अझ विस्तार गरिने जानकारी दिए। यस वर्षको असोज र पुस महिनामा नक्कली उद्धार भइरहेको भन्ने उजुरी प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको र त्यसकै क्रममा ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
यस विषयमा यसअघि पनि प्रश्न उठ्दै आएको थियो। सन् २०१७ मा डब्लिनमा मुख्यालय रहेको ट्राभलर एसिस्ट नामक संस्थाले नेपालमा करिब ३५ प्रतिशत उद्धार उडान नक्कली वा अनावश्यक भएको विवरण सार्वजनिक गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गरेको थियो। त्यसपछि सन् २०१८ मा पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइए पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उद्धार कम्पनीहरूले उडान तालिका, यात्रु विवरण र उपचारसम्बन्धी कागजातहरू फरक–फरक तरिकाले किर्ते गरेको प्रमाण भेटिएको छ। कतिपय अवस्थामा एउटै उडानलाई धेरै पटक भएको देखाइएको, एकभन्दा बढी उडान देखाएर रकम दाबी गरिएको तथा कानुनी बाध्यताका कारण अस्पताल पुर्याइएको बिरामीको उपचारलाई समेत नक्कली उद्धारको आधार बनाइएको पाइएको उनले बताए।
प्रहरीका अनुसार अहिलेसम्म तीन वटा कम्पनीमार्फत ३१७ वटा शंकास्पद उद्धार घटना फेला परेका छन्। अनुसन्धानका क्रममा अमेरिका, क्यानडा, जर्मनी, स्पेन, बेलायत, पोल्यान्डलगायत १४–१५ वटा देशका पर्यटक नक्कली उद्धारको सिकार भएको देखिएको छ। पर्यटकलाई हेलिकोप्टर उद्धार माग गर्न कर गर्ने, डर देखाउने र निश्चित अस्पतालमा पुर्याएर उपचार गराएको देखाइने गरेको सीआईबीको भनाइ छ।
हाल यो प्रकरणमा मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अन्तर्गत राष्ट्रिय हित प्रतिकूल काम गरेको कसुरमा अनुसन्धान भइरहेको छ। उक्त कसुरमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। यसका साथै आपराधिक लाभ, किर्ते तथा संगठित अपराधसम्बन्धी कसुर पनि आकर्षित हुन सक्ने प्रहरीले जनाएको छ।
यस घटनापछि पर्यटन व्यवसायीहरूले पनि प्रतिक्रिया दिएका छन्। ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले नक्कली उद्धारविरुद्ध प्रहरीले थालेको कारबाहीलाई सकारात्मक भनेका छन्। उनका अनुसार सस्तो प्याकेजमा ट्रेकिङ गराएर पछि उद्धारको नाममा ठूलो रकम असुल्ने प्रवृत्तिले इमानदार व्यवसायी र समग्र पर्यटन क्षेत्र बदनाम भएको छ।
त्यस्तै, हिमालय क्षेत्रमा उद्धार कार्य गर्दै आएको हिमालय रेस्क्यू एशोसिएसन का महासचिव श्रीराम खत्रीले अत्यावश्यक अवस्थाबाहेक हेलिकोप्टर उद्धार नगर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक जाँचको व्यवस्था हुनुपर्ने र स्वास्थ्यकर्मीको सिफारिसबिना उद्धार नहुने प्रणाली लागू गर्न सके नक्कली उद्धार निरुत्साहित हुने उनको सुझाव छ।
विशेषज्ञहरूका अनुसार नक्कली उद्धार प्रकरणले नेपालको पर्यटन विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। बीमा कम्पनी र अन्तर्राष्ट्रिय पर्यटकमा नकारात्मक सन्देश जाने जोखिम रहेकाले यसमा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नु अपरिहार्य रहेको उनीहरूको भनाइ छ।
प्रतिक्रिया