होर्मुज क्षेत्रमा तनाव थप चर्किएको छ । इरानको सरकारी प्रसारण संस्थाले होर्मुज क्षेत्रमा ठूलो विस्फोट भएको र इरानी सेना तथा “शत्रु शक्ति” बीच गोली तथा आक्रमणको आदानप्रदान भएको जनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड United States Central Command (सेन्टकम) ले भने अमेरिकी नौसैनिक जहाजहरू होर्मुज हुँदै गल्फ अफ ओमान तर्फ गइरहेका बेला इरानबाट “उक्साहटविहीन हमला” भएको दाबी गरेको छ । सेन्टकमका अनुसार इरानी पक्षले मिसाइल, ड्रोन र साना तीव्रगतिको डुंगामार्फत आक्रमण प्रयास गरेको थियो ।
अमेरिकाले आफ्ना तीन युद्धपोत जलमार्ग पार गरिरहेका बेला इरानी सेनाले बहुआयामिक आक्रमण सुरु गरेको आरोप लगाएको छ । त्यसपछि अमेरिकी पक्षले “आत्मरक्षाका लागि प्रतिआक्रमण” गरेको सेन्टकमको भनाइ छ ।
अमेरिकी वक्तव्यमा “तनाव बढाउने उद्देश्य नभएको” दाबी गर्दै अमेरिकी सेना आफ्ना सैनिक र जहाजको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गरिएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति Donald Trump ले सामाजिक सञ्जालमार्फत इरानी नौसैनिक साधनहरूमा “ठूलो क्षति” पुगेको दाबी गरेका छन् । उनले इरानलाई अमेरिकाले प्रस्ताव गरेको नयाँ सम्झौता स्वीकार गर्न पनि आग्रह गरेका छन् ।
इराननिकट अर्धसरकारी समाचार संस्था फार्सका अनुसार बन्दर अब्बास, केश्म टापु तथा इरानको राजधानी तेहरान वरपर पनि विस्फोटका आवाज सुनिएको छ । यद्यपि ती विस्फोटको वास्तविक कारण र क्षतिको विवरण अझै सार्वजनिक गरिएको छैन ।
विश्वकै सबैभन्दा संवेदनशील सामुद्रिक मार्ग मानिने होर्मुजमा भएको यो नयाँ सैन्य टकरावले मध्यपूर्वमा फेरि ठूलो युद्धको जोखिम बढाएको विश्लेषण गरिएको छ । दैनिक विश्व तेल आपूर्तिको ठूलो हिस्सा यही मार्ग हुँदै हुने भएकाले घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री सुरक्षामाथि गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ ।
प्रतिक्रिया