जर्मनी/फ्रान्स । अनेसास जर्मनी र फ्रान्स च्याप्टरको संयुक्त आयोजनामा भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द-दुई ’ कार्यक्रमले प्रवासमा नेपाली भाषाप्रेमीहरूका लागि भावनात्मक र सिर्जनात्मक अनुभव प्रदान गरेकाे थियाे। कवि नवराज पराजुलीको विशेष उपस्थिति र अन्तरक्रियाले कार्यक्रमलाई अनौपचारिक, आत्मीय र विचारोत्तेजक बनाएकाे थियाे ।
कार्यक्रमको आरम्भमा अनेसास जर्मनीकी अध्यक्ष सुजाता घिमिरे राउतको स्वागत मन्तव्यबाट भएकाे थियाे ।मातृभाषाप्रतिको मोह, सांस्कृतिक उत्तरदायित्व र साहित्यको भूमिकाबारे उहाँले प्रकाश पार्दै कार्यक्रमको भावभूमि तयार पार्नुभएकाे थियाे । ‘शब्दानन्द -एक’ मा भएको बिबरण स्मरण गराउदै शब्दको गहिराई डुबुल्की मार्न तयार हुन् अनुरोध गर्नु भयो ।कार्यक्रममा अनेसास केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा बरिस्ठ साहित्यकार लाल गोपाल सुबेदीले शब्दको चेतना स्थर ,लालित्य ,शब्द छनौटमा विशेष ध्यान दिन सर्जकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा अनेसास पोर्चुगलकी निबर्तमान अध्यक्ष सबी श्रेष्ठले भाषाले देश सँग भावनात्मक रुपले जोडी राख्ने विचार ब्यक्त गर्नु भयो । ।कार्यक्रममा अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवाको सशक्त मुक्तकले भावुक बनाएको थियो ।
कविता वाचनभन्दा पनि चेतनाको गहिराइमा पुग्ने संवादका रूपमा अघि बढाइएको कार्यक्रममा कवि नवराज पराजुलीले सहभागीहरूलाई केवल श्रोता बनाउने हैन, अनुभूत गर्ने र सिर्जना गर्ने यात्रामा उत्रन प्रेरित गर्नुभयो। उहाँले सहभागीहरूलाई आफ्नै लागि नाम राख्न, सय वर्षअघिको जीवन कल्पना गर्न र शब्दहरूभित्र लुकेका भावना महसुस गर्न आग्रह गर्नुभयो। भाषा भावनाको वहनकर्ता हो भन्ने दृष्टिकोण उहाँले प्रभावकारी ढंगले प्रस्तुत गर्नुभयो।
कविले बिभिद उदाहरण ,अनुभव उल्लेख गर्दै मातृभाषा र त्यसमा मिसिएको भावनाको सन्देश विश्वभर फैलिनुपर्ने धारणा राख्नुभयो। सहभागीहरूसँगको संवादमा उहाँले भाषा केवल सञ्चारको साधन नभई संस्कार, सम्झना र अस्तित्वको हिस्सा भएको कुरामा जोड दिनुभयो।
फ्रान्स, जर्मनी, पोर्चुगल ,पोल्याण्डमा बसोबास गर्ने करिब २० जना नेपाली सहभागीहरू कार्यक्रममा अनलाइनमार्फत जोडिनुभएकाे थियाे। सहभागीहरूले नेपाली भाषाको वर्तमान अवस्था, नयाँ पुस्तासँगको दूरी र मौलिक शब्दहरूको हराएकाे प्रति चिन्ता व्यक्त गर्नुभयाे। मातृभाषाको पुस्तान्तरणलाई संस्कार र रमाइलो अनुभवको रूपमा अघि बढाउनु आवश्यक छ भन्ने साझा निष्कर्ष कार्यक्रममा निकालिएकाे थियाे।
कार्यक्रमको समापन प्रशान्त उप्रेतीको धन्यवाद मन्तव्यसँगै भयो। उहाँले अतिथि र सहभागीहरूलाई आभार व्यक्त गर्दै भाषाको सेवा गर्नु भनेको आमाको सेवा गर्नु हो आमाको सेवा गर्न कसैले सोची रहन नपर्ने विचार ब्यक्त गर्नु भयो।भाषा जगेर्नाका लागि अझ सजग र रचनात्मक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
‘शब्दानन्द-दुई ’ केवल साहित्यिक कार्यक्रम मात्र नभई प्रवासमा नेपाली भाषा र भावनाको संरक्षणप्रति समर्पित एउटा साहित्यिक चेतनाको अभियानको रूपमा अविस्मरणीय बन्यो।
– प्रशान्त उप्रेती

प्रतिक्रिया