जस्तो तस्विर नेपाली समाजको देखिएको वा देखाइएको छ, त्यो ‘हाम्रो वास्तविक अनुहार’ होइन। पछिल्ला केही दशकमा नेपाली समाजले थुप्रै आरोह अवरोहहरू बेहोरिरहेको छ। ति मध्ये धेरै गर्विला र सुखद छन्, तर कतिपय भने घिनलाग्दा र सम्झन योग्य पनि छैनन्। राजनीति तिनै समाजको ऐना हो भनिन्छ। त्यसैले जस्तै समाज, त्यस्तै राजनीति भयो भन्न सकिएला। तर जस्तो राजनीतिक संस्कार, उस्तै समाज निर्माण हुँदै जाने पनि कटु यथार्थ हो। यस्तो विकृत र विसङ्गतिपूर्ण अवस्थाले कहिलेकाहीँ ‘क्रमभङ्गता’को अवसर पनि ल्याउँछ, जसले समाजलाई उत्साहित बनाउँछ र लाग्छ कि अब त नयाँ बिहानीको प्रारम्भ हुँदैछ।
हाम्रो समाज, देश र परिवेशमा त्यस्ता खुशी पनि नआएका होइनन्। तर त्यस्तो खुशी, उत्साह र उमङ्ग नेपालीहरूले धेरै समयसम्म महसुस गर्न पाएनन्। बिगत तीन–साढे तीन दशकमा नेपाली समाजमा देखिएका परिवर्तनहरू वास्तवमा अविस्मरणीय छन्, तर सबै सधैँ सम्झनलायक भने छैनन्। यी दशकहरूमा नेपाली समाज यति धेरै राजनीतिक भयो कि मानौँ दुनियामा राजनीति बाहेक अरू केही छैन। राजनीतिले हाम्रो दैनिक जीवनलाई नै राजनीतिक रुपमा रगताम्य बनाइदियो। पेशागत, व्यवसायिक, उद्यम, व्यापार, घर–परिवार, मित्र र मित्रता नै राजनीतिक भागबण्डामा विभाजित भए। र आज प्रत्येक घरमा राजनीतिक विभाजन छ। शायद यसलाई पनि बहुविचार, आत्मअधिकार अनि स्वतन्त्रताको नाममा पक्षपोषण गर्न सकिएला।
तर विभाजित समाजले कुनै देश, भाषा, भेष र भूभागको हित गर्न सक्दैन भन्ने पर्याप्त उदाहरणहरू — विश्व मानचित्रबाट हराएका, मेटिएका, छोटिएका, किरकिरे भएका देशहरूका सीमाहरू साक्षी छन्। पछिल्ला नेपाली नवयुवाहरूले जुन भावनालाई प्रतिबिम्बित गर्न खोजेका थिए, शायद त्यो राजनीतिमा अभिमान र घमण्डमा लतपत राजनीतिक नेताहरूको सोचभन्दा धेरै माथि थियो। र यो कुरा अहिले पनि त्यही राजनीतिक नेताहरूको हुंकारले प्रष्ट गरिरहेकै छ।
समाज बदलिँदैछ भन्ने हेक्का नै नभएका मानिसहरूले हामीलाई शासन गर्दा हाम्रो समाज उल्टो दिशातर्फ धकेलिँदै गयो। र मूर्खहरूको चतुराइलाई हामी ‘दिव्य दर्शन’ मानिरहेका थियौं भन्ने अहिलेको परिस्थितिले पुष्टि गरिरहेकै छ।
यी सबैका बाबजुद एउटा प्रश्न खट्की रहन्छ के हाम्रो समाज अहिले देखिएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त? जस्तो बौद्धिकता प्रदर्शन भइरहेको छ, प्रगतिशील भनेर जसले नवयुवाको प्रतिनिधित्व गरिरहेको छ —
के हामीले खोजेको गन्तव्य यही नै हो त? वा नेपाली समाज यति दरिद्र, क्रूर र कुरूप नै हो त? होइन।
नेपाली समाजमा अहिले देखिएका भन्दा सयौँ गुणा विद्वान्, सयौँ गुणा गुणी र ज्ञानीहरू छन्।
हाम्रो समाज अहिले देखिएको तस्विरभन्दा लाखौँ गुणा समृद्ध र सु–संस्कृत छ।
तर अहिलेको देश–काल–परिस्थितिले उनीहरू लज्जाबोधका कारण गुम्सिएका छन्।
वास्तविकताबाट ‘अलप’ भएका हुन्। तर त्यो समृद्ध र सु–संस्कृत समाज चुपचाप घटित क्रूर, अवास्तविक तथा अनुदार घटनाहरूलाई नियालिरहेको छ।
यसरि हाम्रो वास्तविक अनुहार अझै गुमनाम हुन थाल्यो भने — ‘न नेपाली समाज, न नेपाल, न नेपाली’ नेपालको सीमा भित्र रहिरहन सक्छ।
पहिलो किस्ता : नेपालबाट नेपाली पलायन
दोस्रो किस्ता : नेपाली बिनाको नेपाल
तेस्रो किस्ता : नेपालको भूमि बिनाको नेपाल
हाम्रो भाग्य र भविष्य त्यसै दिशातिर उन्मुख छ। सबैलाई चेतना भया। इतिश्री ।
*****

देश, काल, परिस्थिति… कता तिर उन्मुख छ ? भन्ने विषयमा सम्भवत: त्यति धेरै व्याख्या–विश्लेषणको आवश्यकता अब छैन शायद।
जन–जनले राम्रै बुझिसकिएको विषय हो भन्ने लाग्छ।
तर एउटा दुर्भाग्य —
अहिले जस्तो परिस्थिति देखिँदैछ, जस्ता घटना, सन्दर्भ र दृश्य–परिदृश्यको निर्माण भइरहेको छ,
यो देख्दा चाहिँ साँच्चै आत्मग्लानी हुन्छ।
किनकि हाम्रो देश र जनताले यस्तो अवस्था देख्नु वा भोग्नु पर्ने देश होइन यो।
हाम्रो मातृभूमि आफैमा एक समृद्ध, सु–संस्कृत र सम्पन्न राष्ट्र हो।
जस्तो तस्बिर राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा देखाउन खोजिँदैछ,
हाम्रो यो मुलुक यति बौद्धिक दरिद्रता भएको नेपाली समाज होइन।
यति निकृष्ट मनोभाव भएको नेपाली समाज होइन।
नेपाली समाज र यो मुलुक, यो नेपाली धरती —
यो देखाइएको भन्दा धेरै समृद्ध मात्र होइन,
सु–संस्कृत, बौद्धिक, गौरवशाली अनि विख्यात व्यक्तित्वहरूको धरोहर हो।
देखाइएको वा देखाउन खोजिएको जस्तो दरिद्र होइन नेपाल,
र हामी नेपाली पनि होइनौँ।
सबैलाई चेतना भया…
इति श्री :
प्रतिक्रिया