काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गरेर जेल हाल्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। शुक्रबार ललितपुरको भनिमण्डलमा सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा सम्बोधन गर्दै ओलीले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले मलाई थुन्ने योजना बनाउँदै निरन्तर छलफल गरिरहेका छन्, तर केही प्रमाण भेटिएको छैन। हिजो ‘जेनजी’हरूले पनि मान्न मानेनन्, अहिले सरकारले केपी ओलीलाई जसरी पनि थुन्नुपर्छ भनेर प्रयास गरिरहेको छ।”
उनले व्यङ्ग्य गर्दै थपे, “जेनजीहरूले त भनिरहेका छन्, हामी दलविरुद्ध होइनौँ। साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ — अब त्यसमा चिनी थपिदिऊँ?”
ओलीले नेताहरूप्रति पार्टीभित्रकै विषय बाहिर नल्याउन र आन्तरिक छलफलमै समाधान खोज्न आग्रह गरे। उनले तोकिएको मितिमा निर्वाचन नहुने सम्भावना बलियो रहेको दाबी गर्दै वर्तमान राजनीतिक अवस्थालाई ‘अस्थिर र कृत्रिम रूपमा सिर्जित संकट’ भनेका छन्।
बैठकमा केही नेताहरूले राजीनामाको माग गरेपछि ओलीले स्पष्ट भने, “केही साथीहरूले राजीनामा माग्नुभएको छ। तर मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी म जान्नँ।” उनले राजीनामाबारे छलफल आगामी महाधिवेशनमा हुने बताए।
“राजीनामाको विषयमा महाधिवेशनमै छलफल गरौँ, प्रतिनिधिहरूसँग निर्णय मागौँ। पार्टीलाई तिक्ततामा होइन, मित्रतामा अघि बढाऔँ।”
बैठकले एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले महाधिवेशनको मिति र राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जुन हलबाट पारित भएको छ। तर, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गर्दै ओलीको निर्णयशैलीमाथि असहमति जनाए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको मागबारे ओलीले कटाक्ष गर्दै भने, “कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन। म उहाँलाई राम्ररी चिन्दछु। जब उहाँ अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ। म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ।”
उनले उल्टै भण्डारीले पार्टीमा आएर सहयोग गर्नुपर्ने बताउँदै भने, “अब उहाँले नै आएर सघाउनुपर्ने हो, ठूला कुरा गर्नुपर्ने होइन।”
बैठक स्थल बाहिर ओली समर्थक विद्यार्थीहरूले “केपी ओली जिन्दावाद, केपी ओली आइ लभ यू” जस्ता नारा लगाउँदै उनलाई समर्थन जनाएका थिए।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुँदा सुरक्षा नदिएको भन्दै भइरहेको आलोचनाबीच नेपाली सेनाले शुक्रबार जंगी अड्डामा पत्रकार सम्मेलन गरेर औपचारिक स्पष्टीकरण दिएको छ।
उपरथी अनुपजंग थापा, युद्धकार्य विभाग प्रमुखका अनुसार,
“भदौ २३ र २४ का दिन अत्यन्त आक्रोशित भिड सिंहदरबार भित्र पस्दा ठूलो मानवीय क्षतिको जोखिम थियो। त्यसैले सेनाले संयम अपनायो। जनधनको सुरक्षालाई भौतिक सुरक्षाभन्दा प्राथमिकता दिइयो।”
थापाका अनुसार, त्यो दिन ४६ राउन्ड हवाई फायर, दुईपटक भिडलाई सम्झाइ–ठेलेर बाहिर निकाल्ने प्रयास भएको थियो।
“सेनाको प्राथमिकता सदैव जनधन र राष्ट्रिय एकताको रक्षा हो। विवेकपूर्ण कदम लिनु नै हाम्रो नीति हो,” उनले भने।
उनले स्पष्ट पारे कि सेना ‘निष्क्रिय’ भएको होइन, बरु परिस्थितिको मूल्यांकन गर्दै संयमता अपनाएको थियो।
“सेनाले सधैं संविधान र राष्ट्रिय हितका दायराभित्र रहेर जिम्मेवारी पूरा गर्दै आएको छ,” थापाले जोड दिए।
उता, नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले शुक्रबारको केन्द्रीय समिति बैठकमा पार्टीका भ्रातृ संगठनहरू “ग्यारेजमा थन्क्याइएका पुराना गाडी” जस्ता बनेको टिप्पणी गरेका छन्।
उनले भने,
“अब ती सबै संगठनका समिति विघटन गरेर स्पष्ट मापदण्ड तयार गरी नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्छ। पुरानै तरिकाले न पार्टी चल्न सक्छ, न भ्रातृ संगठन।”
कोइरालाले पार्टीमा आमूल सुधार र रूपान्तरणको आवश्यकता औंल्याउँदै भने,
“महाधिवेशनबाट रुपान्तरणको दिशा लिनैपर्छ — यो हरेक कार्यकर्ताको साझा जिम्मेवारी हो।”
प्रतिक्रिया