विश्वभर बिक्री घट्दै जाँदा टेस्लाले आफ्नो इन–हाउस एआइ सुपरकम्प्युटर निर्माणको योजना आधिकारिक रूपमा बन्द गरेको छ। कम्पनीले ‘डोजो’ नाम दिएको यो परियोजना टेस्लाको ‘फुल सेल्फ–ड्राइभिङ’ र अटोपायलट प्रणालीका लागि कम्प्युटर भिजन प्रोसेसिङ गर्ने लक्ष्यसहित सुरु गरिएको थियो।
ब्लूमबर्गका अनुसार, परियोजनाका प्रमुख र अन्य वरिष्ठ प्राविधिकहरूले कम्पनी छोडेका छन्। कम्तीमा २० जना कर्मचारीहरूलाई अर्को डेटा सेन्टर कम्पनीले आकर्षक तलब र सुविधाको प्रस्तावसहित भर्ती गरेको बताइएको छ। बाँकी टोलीका सदस्यहरूलाई टेस्लाका अन्य डेटा सेन्टर परियोजनातर्फ पुनः नियुक्त गरिने भएको छ।
टेस्ला सीईओ इलोन मस्कले एक समय डोजोलाई ‘बीस्ट’ भनेर चर्चा गरे पनि गत वर्ष यसलाई ‘लङ सट’ भन्दै सफलताको सम्भावना कम रहेको स्वीकार गरेका थिए। उनले हाल भनेका छन्, “टेस्लाले स्रोतहरू विभाजन गरेर दुई फरक प्रकारका एआइ चिप डिजाइनलाई स्केल गर्नु उपयुक्त छैन।”
अब टेस्लाले एनभिडिया, एएमडी, र स्यामसङ जस्ता बाह्य प्राविधिक साझेदारहरूमार्फत एआइ चिप निर्माण गर्ने भएको छ। यद्यपि, मस्कले इन–हाउस चिप विकासलाई पूर्ण रूपमा त्यागेको छैनन्। उनका अनुसार, कम्पनीले एआइ५, एआइ६ र आगामी चिपहरूलाई इन्फरेन्सका लागि उत्कृष्ट र प्रशिक्षणका लागि पर्याप्त राम्रो बनाउन केन्द्रित गर्नेछ।
डोजो टोलीलाई बढ्दो प्रतिस्पर्धाले निकै कमजोर बनाएको थियो। एआइ बजारको ठूलो हाइपसँगै ठूला टेक कम्पनीहरूले टेस्लाका अनुभवी इन्जिनियरहरूलाई उच्च तलब प्रस्ताव गर्दै तानेका थिए। यसैबीच, टेस्लाले विगत केही वर्षयता वरिष्ठ नेतृत्व तहमा व्यापक ‘ब्रेन ड्रेन’को सामना गरेको छ।
टेस्लाको सेल्फ–ड्राइभिङ प्रविधि विकास पनि विवादास्पद बनेको छ। अष्टिन, टेक्सासमा सुरु गरिएको रोबोट्याक्सी सेवामा प्रविधिगत त्रुटि र जोखिमपूर्ण घटना देखिएका छन्। गत हप्तामात्रै, फ्लोरिडाको एक अदालतले अटोपायलट सफ्टवेयर संलग्न घातक दुर्घटनामा टेस्लालाई आंशिक रूपमा दोषी ठहर गर्दै करिब २५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
हालैको त्रैमासिक अर्निङ कलमा मस्कले डोजो ३ नामक एउटै एआइ चिपमा ‘कन्वर्जेन्स’ ल्याउने लक्ष्य रहेको बताएका थिए। तर टोली नै भंग भएपछि टेस्लाको सुपरकम्प्युटर योजना अनिश्चित बनेको छ।
यसैबीच, कम्पनीले स्यामसङसँग एआइ सेमीकन्डक्टर आपूर्तिका लागि १६.५ अर्ब डलरको सम्झौता गरिसकेको छ, जसले इन–हाउस चिप उत्पादनको दिनहरू अब सकिन लागेका संकेत दिन्छ।
प्रतिक्रिया