आजकल सामाजिक सञ्जालमा जथाभावी अमर्यादित कमेन्ट गर्ने प्रवृत्ति तीव्र छ। खासगरी रिस, ईर्ष्या वा क्षणिक आवेगमा लेखिएका कुराहरू सुरुमा आत्मरति लाग्न सक्छ, मानौँ “मेरै विचार मात्रै सत्य हो।” तर ठूलो भ्रम यति नै हो कि यस्तो लेखाइ केवल आफ्नै आँखासम्म सीमित रहन्छ भनेर सोचिन्छ।
वास्तवमा, सामाजिक सञ्जालमा तपाईंले लेखेको एक अक्षर पनि घरपरिवार, साथीभाइ, छरछिमेक, यहाँसम्म कि नजिकका सम्बन्धमा समेत पुग्न सक्छ। धेरैलाई सुरुमा मज्जा लाग्छ, लाइक, कमेन्टको लोभ पनि हुन्छ। तर त्यसपछि आउँछ गम्भीर प्रतिक्रिया। मानिसहरूले नराम्रो दृष्टिले हेर्न थाल्छन्। सम्बन्ध बिग्रिन्छ। कतिले त मानसिक तनावले सामाजिक सञ्जाल बन्द गर्नुपर्ने अवस्थामा पुग्छन्।
चितवनका एक नाम चलेका जेसिसका कोइराला थरका व्यक्तिले समीक्षा अधिकारीलाई १० लाखे कमेन्ट गरिसकेपछि परिवारका सम्पूर्णले अहिले सामाजिक सञ्जाल बन्द गर्नुपरेको छ।
इटहरीका एक विद्यालयका शिक्षक लम्सालले आशिका तामाङमाथि “छ महिनालाई पुग्यो” भन्ने कमेन्ट गरेपछि उनी विद्यालय परिवार छिमेकी सबैतिरबाट एक किसिमको तिरस्कृत हुन पुगेका छन्।
माथिका त केवल एक दुई उदाहरण मात्र हुन्। हामीले दैनिक रुपमा विशेषगरी अहिले एलिना चौहान समीक्षा अधिकारी लगायतले त्यस्ता कमेन्ट गर्नेहरूलाई नङ्ग्याउन थालेका छन्।
यस्ता अवस्थाले मानिसलाई समाजमा हिड्नसमेत अप्ठ्यारो पार्छ। यस्ता कर्म गरिसकेपछि उनीहरू ट्रोलको शिकार बनेर मानसिक रोगीसम्म हुन पुग्छन्।
त्यसैले, साथीहरू, लेख्नुअघि सोचौँ। के यो मेरा बालबच्चा परिवारले यो कुरा पढे भने के उनीहरू पचाउन सक्छन्? सामाजिक सञ्जाल हाम्रो विचार व्यक्त गर्ने ठाउँ हो तर त्यसको मर्यादा र जिम्मेवारी हामी सबैको कर्तव्य हो।
जथाभावी कमेन्ट नगर्नुहोस्, किनकि शब्दहरू कहिल्यै मेटिँदैनन्!

प्रतिक्रिया