इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त बनेको छ। इरानले आफ्नो हवाई रक्षा प्रणालीमार्फत अर्को एक अमेरिकी युद्धक विमान खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार उक्त विमान पर्सियन गल्फ क्षेत्रमा निशाना बनाइएको हो।
यसअघि खसालिएको पहिलो विमानका पाइलटलाई खोजी गर्ने क्रममा गएको अर्को अमेरिकी ए–१० युद्धक विमानमाथि पनि आक्रमण गरिएको जनाइएको छ। अमेरिकी पक्षका अनुसार उक्त विमानमा रहेका पाइलटले आकस्मिक रूपमा इजेक्ट गरी ज्यान जोगाएका थिए र उनलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
यता, इरानले आफ्नो भूमिमा खसेका पाइलटलाई जीवितै पक्राउ गर्न नागरिकहरूसमेतलाई अपिल गरेको छ। सरकारी सञ्चारमाध्यमहरूले पाइलटलाई जिउँदै नियन्त्रणमा लिन सहयोग गर्ने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरिएको बताएका छन्।
अमेरिकी युद्धक विमान इरानको आकाशमा खसालिएको खबरपछि स्थिति झन् जटिल बन्दै गएको छ। इरानी सञ्चारमाध्यमहरूले उक्त विमानका दुई सदस्यमध्ये एक जनाले इजेक्ट गरेर देशको दक्षिणी क्षेत्रमा अवतरण गरेको हुनसक्ने दाबी गरेका छन्।
तर अमेरिकी अधिकारीहरूले CBS News मार्फत दिएको जानकारीअनुसार पाइलटलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने हराइरहेका सदस्य ‘हथियार प्रणाली अधिकृत’ (weapon systems officer) रहेको पुष्टि गरेका छन्।
इरानका राज्य–सम्बद्ध सञ्चारमाध्यमहरूले नागरिकहरूलाई हराइरहेका अमेरिकी सैनिकलाई “जिउँदै नियन्त्रणमा लिन” अपिल गरेका छन्। यसका लागि करिब ५० हजार पाउण्ड (झण्डै ६६ हजार डलर) बराबरको पुरस्कार घोषणा गरिएको खबर सार्वजनिक भएको छ, जुन इरानको औसत मासिक आम्दानीभन्दा निकै उच्च मानिन्छ।
यसबीच, दक्षिणी इरानका केही क्षेत्रमा सशस्त्र सर्वसाधारण नागरिकहरू हराइरहेका सैनिकको खोजीमा निस्किएको भिडियोहरू सामाजिक सञ्जालमा फैलिएका छन्। विशेषगरी खुजेस्तान प्रान्तबाट आएको अपुष्ट भिडियोमा हतियार बोकेका केही व्यक्तिहरू इस्लामिक गणतन्त्रको झण्डा बोकेर खोजीमा खटिएको देखिन्छ।
उता, अमेरिकी रक्षा मन्त्रालय Pentagon का अनुसार इरानसँगको युद्ध सुरु भएदेखि हालसम्म ३६५ अमेरिकी सैनिक घाइते भएका छन्। यसमध्ये सेना (Army) का २४७, नौसेना (Navy) का ६३, मरीन (Marines) का १९ र वायुसेना (Air Force) का ३६ जना रहेका छन्। मृत्यु हुनेको संख्या भने १३ पुगेको छ।
यसै क्रममा, Israel Defense Forces ले लेबनानको राजधानी Beirut मा ‘हिजबुल्लाहका संरचनाहरू’ लक्षित गर्दै आक्रमण गरिरहेको जनाएको छ।
हराइरहेका अमेरिकी सैनिकको खोजी अत्यन्त संवेदनशील र जोखिमपूर्ण अवस्थामा पुगेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी सैन्य रणनीतिकार James Jeffrey का अनुसार यस्तो खोज तथा उद्धार अभियान सैन्य दृष्टिले सबैभन्दा जोखिमपूर्ण मिशनमध्ये एक हो। यस्ता अभियानमा हेलिकप्टर, इन्धन आपूर्ति विमान र अन्य युद्धक विमानहरू एकसाथ परिचालन गरिन्छन्।
अर्का रक्षा विश्लेषक Jennifer Kavanagh का अनुसार यस्ता अवस्थामा पाइलट तथा चालकदललाई जोगिन र पक्राउबाट बच्न विशेष तालिम दिइएको हुन्छ। उनीहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्ने, आफूलाई लुकाउने र सीमित स्रोतमा पनि जीवित रहन सक्ने सीप सिकाइएको हुन्छ।
यसैबीच, इजरायलले हराइरहेका अमेरिकी सैनिकको खोजी चलिरहेका कारण दक्षिणी इरानमा आक्रमण केही समयका लागि रोकेको संकेत देखिएको छ। तर अन्य क्षेत्रमा भने आक्रमण जारी रहेको छ। Tehran को पूर्वी क्षेत्रमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको र आकाशमा लडाकु विमानहरूको गतिविधि बढेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
इजरायली सेनाका अनुसार पछिल्लो २४ घण्टामा इरानका पश्चिमी र केन्द्रीय क्षेत्रमा ७० भन्दा बढी आक्रमण गरिएको छ, जसमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण स्थल र ड्रोन संरचनाहरू लक्षित गरिएको थियो। साथै, इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको पनि पुष्टि गरिएको छ।
यसैबीच, क्षेत्रभरि सैन्य गतिविधि अझै जारी छ। राजधानी तेहरानसहित सिरियाका विभिन्न स्थानहरूमा विस्फोट र आक्रमणका आवाजहरू निरन्तर सुनिँदै आएका छन्, जसले क्षेत्रीय सुरक्षाको अवस्था झन् जटिल बन्दै गएको संकेत गर्छ।
प्रतिक्रिया