भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा गए राति एकै परिवारका चार जनाको सामूहिक हत्याकाण्डले स्थानीयलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको भन्दै भोजपुर नगरपालिका–२ हैलौछाका ३० वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ। उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १५ वर्षीया मनीषा गिरी, र आठ वर्षीय सालो सपन गिरीको हत्या गरिएको हो।
गिरी परिवारका अन्य दुई छोरी र एक छोरा घटना हुँदा घरमा नरहेका कारण ज्यान जोगिन सकेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा राजेन्द्रले चार जनाको हत्या आफैले गरेको स्वीकार गर्दै राति सुतिरहेको बेला सासुले पेटमा चक्कु प्रहार गरेपछि प्रतिकार स्वरूप सबैको हत्या गरेको बयान दिएका छन्। भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमल्सिनाका अनुसार राईको पेटमा चक्कु प्रहारका तीनवटा घाउ फेला परेको छ र उनलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ।
घटनापछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरी आत्मसमर्पण गरेका थिए। अनुसन्धानका क्रममा उनले श्रीमती मनीषासँग उमेर नपुग्दै प्रेम विवाह गरेको र पछिल्लो एक महिनादेखि श्रीमती माइतीघरमै बसेको खुलेको छ। उनी एक सातादेखि ससुरालीमै रहेको र श्रीमतीलाई घर फर्काउने विषयमा झगडा भएको पनि प्रहरीको प्रारम्भिक बुझाइ छ।
स्थानीय वडासदस्य प्रभा राईका अनुसार करिब एक वर्षअघि मनीषा र राजेन्द्रबीच प्रेम विवाह भएको थियो, तर पछिल्लो समय उनीहरूको सम्बन्धमा दरार आएको देखिन्थ्यो। छिमेकीहरूले पनि राजेन्द्रले सासुससुरालाई धम्क्याउने गरेको बताएपछि घटना पूर्वनियोजित हुन सक्ने आशंका गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राजेन्द्र हत्या गर्ने उद्देश्यले नै ससुराली गएका थिए र उनले चक्कु घरबाटै लगेका थिए। केही छिमेकीले प्रहरीले जानकारी पाउनु पर्ने अवस्था रहेको भए पनि धम्की मात्र हो कि भनेर बेवास्ता गरिएको देखिएको छ।
प्रहरीको थप अनुसन्धानबाट राजेन्द्रको अघिल्लो विवाह टुटेको पनि खुलेको छ। मनीषासँग उनको चिनजान सामाजिक सञ्जालमार्फत भएको र त्यसपछि विवाहमा परिणत भएको जानकारी दिइएको छ। घटनाले समग्र गाउँमा त्रासको वातावरण सिर्जना गराएको छ भने प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया