– टंक पन्त
भोटेकोशीको उर्लदो बाढीले ऐया पनि भन्न नदिइ बेपत्ता बनाएका नागरिकहरुका धेरै परिवार नौ दिनका दिन कुशको शब बनाएर नदि किनार देखि अन्य स्थानमा आफनो धर्म संस्कृति अनुसार अन्त्यष्ठि गर्न बाध्य भए ।
नौ दिन सम्म न सास न लाश केही नभेटिदा असैह्य पीडा र तनाबमा छटपटिएको परिवारले नौ दिनका बिहीवार पशुपति, नारायणघाट, त्रिवेणी , देवघाट , रिडी लगायत अन्य स्थानमा कुशको शब बनाएर दाहसंस्कार गर्दा संबन्धित परिवार आफन्त मात्र रोएनन अरु जति पनि नागरिकहरु उपस्थित थिए उनीहरुले मनलाई थाम्नै सकेका थिएनन् । भावबिह्ल भएर थाम्न नसक्ने कैयौ परिवार बेहोस भएका थिए ।
कतिपय परिवार कुशको लाश बनाउदै गर्दा बेहोस भएर ढलेका थिए भने कतिपय परिवार घाटमा दागवत्ति दिदै गर्दा ढलेका थिए । जसको परिवारका सदस्य बेपत्ता भएका छन उनको परिवार मात्र होइन घाट जाने अन्य केहीको अबस्था पनि नाजुक हुन पुगेको थियो । कतिपयलाई पानी छम्केर वा कतिपयलाई पानी ख्वाई उठाउन सकिएको थियो भने कतिपयलाई अस्पताल नै लैजानुपरेको थियो । पशुपतिको घाटवाट दर्जन बढिलाई अस्पताल नै पुर्याउनुपरेको थियो । बाबुआमा वा कुनै अभिभावक नभएका तर परिवारमा सानो पांच बर्षको वालक मात्र बांचेको अबस्था पनि छ । सानो वावु नानुलाई बोकेर कुशको शवमा दागबत्ति दिन लगाउदाको दृश्य निकै कहाली लाग्दो र पीडादायी थियो । त्यो दृश्यले सबैलाई भाबबिह्वल बनाएको थियो ।
नौ दिन सम्म लाश पनि नभेटिएपछि र भेटिने पनि संभावना नदेखिएपछि अत्यन्तै पीडाकाबीच इञ्जिनियर २३ बर्षीय छोरा आभाषको अन्त्यष्ठि गर्न वाध्य भएको गणेश न्यौपाने भक्कानिदै भन्दै थिए । रसुवा हाइड्रोपावर कार्यालयमा दिनभरिको कामको प्लान संवन्धी बैठक गर्दै गर्दा बाढीले ऐया पनि भन्न नदिएको छोरा आभाष जस्ता धेरै छोरा छोरीलाई कुश बनाएर बिदाई गर्दा समेत कसैको मनले मानेको जस्तो देखिदैनथ्यो तर नमानी नहुने स्थिति दैवले पार्यो । कसैका छोरा छोरी , कसैको बाबु आमा कसैका आफन्त त कसैको सिंगो परिवार नै छैन । सिंगो परिवार गुमाउने सयौं नागरिक जसको खोजी गर्ने पनि कोही छैन । खोज्न आउने हुन्छन कि भनी अस्पतालको बाहिर तश्वीर टांगेर सहज बनाउन त खोजिएको छ तर कोही आएका छैनन ।
जसको परिवारका एक दुई जना बेपत्ता भए उनीहरुका परिवारले नौ दिनका दिन बिहीवार देवघाट, रिडी, नारायणघाट, पशुपति लगायतका तीर्थस्थलहरुमा दाहसंस्कार गरे । कैलाश मानसरोवरवाट फर्किदै गर्दा नेपाल र चीनको सीमानामा बाढीले बेपत्ता भएकी सुमी अधिकारीको कुशको शब जस्ताको तस्तै बनाएर रुपन्देही भलवारीवाट देवघाट दाहसंस्कार गर्न लगियो । अष्ट्रेलियावाट मानसरोवर पुगेर फर्केकी सुमी अधिकारीले आफना श्रीमान नवराज पाण्डेलाई भदौ १० गते बिहान ८ः३० बजेतिर म्यासेज गरेर इमिरिगेशन क्रस गर्न लागेको खबर गरेकी थिइन तर त्यसपछि १५ मिनेटमै न उनले पुनः म्यासेज गरिन् न अष्ट्रेलियावाट आफनो प्यारा श्रीमानले पटक पटक कहां पुग्यो भनी गरेको म्यासेजको रिप्लाई नै गरिन् । चार बर्षको सानो छोरा , ६ बर्षको छोरीले मामु कहिले आउनु हुन्छ भन्न थालिसकेका थिए ती अबोध बेवीहरुको जवाफ फर्काउन त के तिनीहरुको अनुहार पनि हेर्न नसकी नबराज श्रीमती सुमीलाई भेटाउन सकिन्छ कि भन्ने आशा बोकेर तत्काल भान्जा संभवलाई साथमा लिइ नेपाल फर्किए ।
नेपाल फर्किनासाथ नवराज, संभव, दिदी शारदा , भान्जा सक्षमलाई साथमा लिएर अस्पतालहरु मात्र होइन रसुवा देखि त्रिवेणी सम्मका नदि किनार पुगे तर सुमीलाई भेटाउन सकेनन र अन्ततः नौ दिनका दिन देवघाटबाट कुशको सुमी बनाएर बिदा गरे । केएन पाण्डे, नवराज पाण्डे, गणेश न्यौपाने, कल्पना कण्डेल न्यौपानेको परिवार पीडा भोग्ने केबल प्रतिनिधि पात्र मात्र हुन । यो पीडा र असैह्यका कारण कुशको शब बनाएर दाहसंस्कार गर्नेहरु बिहीवार धेरै थिए । नौ दिन सम्म खोजी गर्नेहरु सयौ थिए तर लाश पनि नभेटिएपछि बिहीवार कुशको शब बनाएर दाहसंस्कार गर्नेहरुको संख्या ढेडसय भन्दा बढि भएको दावी गरिएको छ ।
जिन्दगी पनि कस्तो ? परिवार भित्रको प्यारो छोरा, छोरी बाबु आमा जसलाई भोटेकोशीवाट आएको उर्लदो वाढीले एक शब्द पनि बोल्न दिएन । ०८३ भदौ १० गते बिहान करीब पौने नौ बजेतिर आएको बाढीमा परेका हजारौ नागरिक मध्ये केही सयको मात्र लाश भेटियो अन्य हजारौको लाश भेटिएन र अझै भेटिएको छैन । ९ दिन सम्म परिवारले सास वा लाश भेटिन्छ कि भनेर पर्खिरहे तर न त सास भेटियो त न लाश नै । त्यो ९ दिन सम्मको पीडा र तनाब यस्तो थियो त्यसको कुनै कल्पना नै गर्न सकिएन ।
रसुवा देखि बिदुर सम्मका नदि क्षेत्रका बस्ती वजार वगरमा परिणत भएको अबलोकन गर्दा यस्तो लाग्छ नेपालले के गल्ती गरेको थियो र यस्तो पत्याउनै नसकिने कहाली लाग्दो बिनाश भोग्नुपर्यो ? भौतिक क्षतिको कुनै लेखाजोखा नै छैन भने मानवीय क्षतिको पीडाले सिगो देश नेपाल रोएको छ । नेपालीहरुका मन बिछिप्त भएको छ । यति हुंदा पनि जीवित मानबले सहनै परेको छ । सबै भन्दा सहनै नसक्ने पीडा जसका परिवारमा कोही बाबा आमा हुनुहुन्छ तर छोरा छोरी छैनन भने कसैको परिवारमा साना साना बाबु नानी मात्र बाचेका छन् तर बाबा आमा वा अभिभावक कोही पनि छैनन त्यस्तो परिवार सबै भन्दा बढी बिछिप्त अबस्थामा छ । नौ दिन सम्म त्यो परिवारमा कसैले केही खानेकुरा मुखमा हाल्न सकेको अबस्था थिएन । यसरी नौ दिन सम्म बिछिप्त भएर पीडै पीडामा समय कटाएको परिवारले छातीमा निकै ठूलो ढुंगा जस्तो थाम्नै नसक्ने गहौं भारीकावीच निर्णय गर्न नमान्दा नमान्दै पनि निर्णय गर्न बाध्य भयो र कुशको लाश बनाएर आफनो संस्कृति धर्म अनुसार दाहसंस्कार गरे ।
नेपालमा भोटेकोशीबाट आएको बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिको बिबरण अझै पनि एकीन हुन बांकी छ तर लाशको खात बढ्दै गएको छ भने बाढीमा परेर हराउनेको संख्या दैनिक १० हजार भन्दा कम नभएको आंकलन गरिएको छ । सिंगो देशका लागि इतिहासमै सबै भन्दा दर्दनाक क्षणमा यति खेर सम्पूर्ण नेपाली छन । जलवायु परिवर्तनका कारण तिब्बतमाथिको हिंउको ठूलो पहाड नै खसेपछि भोटेकोशी एक सय मिटर माथि सम्म उर्लेर आउदा रसुवाको टिमुरे स्याप्रुवेसीलाई समुन्द्रको ठूलो माछाले एकै गासमा मानबलाई कर्लप्पै निले जसरी निल्यो । त्यो भेलले नुवाकोटको त्रिशुली बजारलाई पनि सत्यानाश बनायो । दुइ दर्जन बढी सडक मार्गका पुल बगे । गाइ बस्तु,भेडा वाख्रा, लत्ता कपडा भांडाकुडा गरगहना बाहेक भौतिक क्षति नै १० खर्ब बढी भएको अनुमान गरिएको छ । करीव १० हजार नागरिकहरु त्यो उर्लदो बाढीमा परेर अहिले बेपत्ता छन् । झण्डै सात सय मेघावाटको हाइड्रोपावर ध्वंश भएका छन ।
चीनको सीमानाको इमिरिगेशन भवन देखि स्यापु््र्वेसी, टिमुरे, त्रिशुली जस्ता वजार सम्पूर्ण रुपमा बगरमा परिणत मात्र भएनन बजारका नागरिकहरुले बाढीको भेलमा परेर ऐया पनि भन्न पाएनन । अहिले पनि सुरक्षा निकायले ज्यानको वाजी थापेर उद्धार कार्यलाई जारी राखेको छ । नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारका लागि निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ । सिगो सरकार पनि त्यहि रुपमा लागेको छ । अब उद्धार गरिएका १० हजार भन्दा बढि नागरिकलाई खानपान र बसोवासको राम्रो ब्यबस्था गर्नुपर्ने खाचो छ । थुप्रै बिधार्थीहरुको शिक्षाका लागि बिशेष ब्यबस्था गर्नुपर्ने छ भने तनाबमा रहेका बिद्यार्थी र नागरिकहरुलाई काउन्सिलिङको खाचो बढदै गएको छ ।
– tanka.panta@gmail.com

प्रतिक्रिया