मानिस सामाजिक प्राणी हो। दुःख सुखमा एकअर्काको साथ दिनु, अप्ठ्यारो पर्दा सहयोग गर्नु र आवश्यकताका बेला आर्थिक लेनदेन गर्नु हाम्रो समाजको पुरानो संस्कार हो। विशेषगरी नेपाली समाजमा आफन्त, साथीभाइ र चिनजानका मानिसबीच विश्वासकै आधारमा सरसापटी चल्ने परम्परा रहिआएको छ। कसैलाई बिरामी पर्दा, छोराछोरीको पढाइमा समस्या आउँदा, व्यवसायमा आकस्मिक अभाव हुँदा, घरायसी संकट पर्दा वा विदेश जान खर्च नपुग्दा सहयोग गर्नु मानवीय धर्म मानिन्छ।
म पनि पर्दाखेरि लेनदेन गर्नुपर्छ, सरसापटी दिनुपर्छ र एकअर्कालाई सकेसम्म सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने मानिस हुँ। तर दुःखका साथ भन्नुपर्छ—एकादुई असल अपवादबाहेक धेरैलाई सापटी दिँदा मैले दिएको पैसा मात्र गुमाइनँ, आफ्ना ठानेका आफन्त, नजिकका साथी र वर्षौंदेखिका सम्बन्धसमेत गुमाएँ।
कसैलाई संकट पर्दा उसको अनुहारको पीडा देखेर सहयोग गरियो। “भोलि दिन्छु”, “एक हप्तामै फिर्ता गर्छु”, “यो काम बनेपछि तपाईंको पैसा सबैभन्दा पहिले तिर्छु” भन्ने वचनमाथि विश्वास गरियो। कागज खोजिएन, धितो मागिएन, ब्याजको हिसाब गरिएन। किनकि पैसा माग्ने व्यक्ति पराइ थिएन। कोही आफन्त थियो, कोही मित्र थियो, कोही लामो समयदेखि चिनिएको मान्छे थियो। तर पैसा हातमा परेपछि व्यवहार यसरी बदलियो, मानौँ ऋण दिने व्यक्तिले अपराध गरेको हो र ऋण लिने व्यक्ति पीडित हो।
पैसा माग्दा हात जोड्ने, खुट्टा समात्न खोज्ने र आफ्नो समस्या सुनाएर भावुक बनाउने मानिसहरू भाखा नाघेपछि सम्पर्कविहीन हुन थाले। फोन उठाउन छाडे। म्यासेज हेरेर पनि जवाफ फर्काएनन्। भेट हुँदा बाटो काटेर हिँडे। घरमै पुगेर आफ्नो पैसा माग्दा उल्टै आँखा तरेर, “तपाईंको पैसा तिर्दिनँ भनेको छु र? सकेको बेला तिर्छु नि!” भन्ने जवाफ दिए।
सोध्न मन लाग्छ आफ्नै पैसा फिर्ता माग्नु अपराध हो र?
आफूले कमाएको, बचाएको वा अरू आवश्यकतालाई थाती राखेर दिएको रकम फिर्ता माग्न ऋणदाता बारम्बार फोन गरिरहनुपर्ने अवस्था कति पीडादायी हुन्छ भन्ने कुरा भोग्नेले मात्र बुझ्छ। एकपटक, दुईपटक होइन, दसौँ र बीसौँपटक सम्झाउँदा पनि “भोलि”, “पर्सि”, “अर्को हप्ता”, “अर्को महिना” भन्ने जवाफ मात्र आउँछ।
आफ्नै पैसा लिन कसैको घर, कार्यालय वा पसलमा पटक–पटक धाउनुपर्ने, नम्र भएर बिन्ती गर्नुपर्ने र आफूलाई नै लाज लाग्ने गरी मागिरहनुपर्ने अवस्था सिर्जना भएपछि सरसापटी र सहयोगको अर्थ के रह्यो?
मन्दिरको प्रवेशद्वार वा बाटोको किनारमा कटौरा थापेर “भगवानके नाम पे दे दे, अल्लाहके नाम पे दे दे” भन्दै माग्ने मानिसजस्तै आफ्नै रकमका लागि याचना गर्नुपर्ने हो भने सहयोग गर्नु पुण्य हो कि आफ्नै लागि सजाय?
दिने बेला सहयोग, माग्ने बेला अपराध यो कस्तो सामाजिक न्याय हो?
हाम्रो समाजमा अर्को अनौठो प्रवृत्ति पनि देखिन्छ। भेट्नेबित्तिकै करोडौँका कारोबार, ठूला परियोजना, उद्योग, जग्गा, शेयर, ठेक्का र राजनीतिक पहुँचका कुरा गर्नेहरू हिँड्ने बेलामा पाँच–दस लाख रुपैयाँ माग्छन्। कसैले त्योभन्दा सानो वा ठूलो रकम माग्छन्। “भोलि फिर्ता गर्छु”, “दुई दिनका लागि मात्र हो”, “मेरो ठूलो भुक्तानी आउँदै छ” भनेर विश्वास दिलाउँछन्।
उनीहरूको जीवनशैली हेर्दा पैसा नहोला जस्तो लाग्दैन। महँगा गाडी, ठूला भोज, विदेश यात्रा, सामाजिक सञ्जालमा विलासी तस्बिर र ठूला मान्छेसँगको उठबस देखिन्छ। तर ऋण तिर्ने प्रसंग आउँदा उनीहरू सधैँ “समस्यामा” हुन्छन्।
नयाँ कपडा किन्न पैसा हुन्छ। पार्टी गर्न पैसा हुन्छ। घुम्न, रमाउन र देखावटी गर्न पैसा हुन्छ। तर अप्ठ्यारो पर्दा साथ दिने व्यक्तिको रकम फिर्ता गर्न पैसा हुँदैन। ऋणदाता सम्झाउन आएपछि उल्टै उसलाई लोभी, अधैर्य वा असहयोगी देखाउने प्रयास गरिन्छ।
यस्ता तथाकथित “ठूलाबडा” पनि धेरै देखिए, भोगिए। मुखमा आदर्श, व्यवहारमा बेइमानी; भाषणमा नैतिकता, लेनदेनमा गैरजिम्मेवारी—यही दोहोरो चरित्रले समाजको विश्वास भत्काइरहेको छ।
ऋण नतिर्ने मानिसले प्रायः यो कुरा बुझ्दैन कि उसले रकम मात्र रोकेको हुँदैन। उसले विश्वास तोडिरहेको हुन्छ, सम्बन्ध बिगारिरहेको हुन्छ र सहयोगको संस्कृतिमाथि प्रहार गरिरहेको हुन्छ।
पैसाको मूल्य रकममा मात्र मापन हुँदैन। त्यो पैसा कमाउन लागेको समय, श्रम, पसिना र त्याग पनि त्यसमा जोडिएको हुन्छ। कसैले सापटी दिएको रकम आफ्ना छोराछोरीको पढाइका लागि बचाएको हुन सक्छ। कसैले औषधोपचार, घरखर्च वा बुढेसकालका लागि राखेको हुन सक्छ। कसैले आफ्नो व्यवसायको पूँजीबाट निकालेर सहयोग गरेको हुन सक्छ।
त्यो रकम समयमा फिर्ता नआउँदा ऋणदाता स्वयं संकटमा पर्न सक्छ। तर ऋण लिने व्यक्तिले आफ्नो मात्र समस्या ठूलो र अरूको समस्या सानो ठान्छ। यही स्वार्थी सोचले सम्बन्धलाई पैसाभन्दा पनि सस्तो बनाइदिन्छ।
रकम ढिलो हुँदा केही समय पर्खन सकिन्छ। वास्तविक समस्या परे छलफल गर्न सकिन्छ। किस्ताबन्दीमा तिर्न सकिन्छ। तर सम्पर्कबाट भाग्नु, झूट बोल्नु, बहाना बनाउनु र पैसा माग्दा रिसाउनु बेइमानीको संकेत हो।
विश्वास संसारकै ठूलो सम्पत्ति हो। बैंकमा जम्मा भएको धन सकिन सक्छ, व्यवसाय डुब्न सक्छ, पद र प्रतिष्ठा खोसिन सक्छ; तर विश्वास कायम छ भने मानिस फेरि उठ्न सक्छ। विश्वास गुमेपछि भने पैसा भएर पनि मानिस सामाजिक रूपमा गरिब हुन्छ।
अहिले समाजमा विश्वासको गहिरो खडेरी देखिँदै छ। केही मानिसको खराब व्यवहारका कारण असल र इमानदार मानिसले पनि आवश्यक पर्दा सहयोग नपाउने अवस्था आउँदै छ। कसैले वास्तविक संकट सुनाउँदा पनि पहिलो प्रश्न उठ्छ “यो पैसा फिर्ता गर्छ कि गर्दैन?”
यसरी शंका बढ्दै जाँदा समाज कठोर बन्छ। आफन्त आफन्तसँग डराउँछन्, साथी साथीमाथि विश्वास गर्न सक्दैनन् र मानवीय सहयोगसमेत व्यापारिक सम्झौतामा सीमित हुन्छ। यसको दोष सहयोग गर्न डराउने मानिसको मात्र होइन; सहयोगको दुरुपयोग गर्नेहरूको हो।
एक जना बेइमान ऋणीले एउटा ऋणदाता मात्र गुमाउँदैन। उसले भविष्यमा सहयोग पाउन सक्ने अरू धेरै इमानदार मानिसको बाटो पनि बन्द गरिदिन्छ।
यति भनिरहँदा वास्तविक कठिनाइमा परेका सबै ऋणीलाई एउटै घेरामा राख्नु न्यायसंगत हुँदैन। कसैको व्यापार डुब्न सक्छ, जागिर जान सक्छ, बिरामी पर्न सक्छ, परिवारमा अप्रत्याशित संकट आउन सक्छ। परिस्थितिले मानिसलाई समयमै रकम तिर्न नसक्ने बनाउन सक्छ।
तर असल नियत भएको व्यक्तिको व्यवहार फरक हुन्छ। ऊ सम्पर्कबाट भाग्दैन। आफ्नो अवस्था स्पष्ट बताउँछ। माफी माग्छ। समय माग्छ। थोरै भए पनि किस्तामा तिर्न थाल्छ। विश्वास जोगाउन प्रयास गर्छ।
समस्या पैसा ढिलो हुनु मात्र होइन, नियत खराब हुनु हो। तिर्न नसक्नु र नतिर्ने मनसाय राख्नु एउटै कुरा होइन। बाध्यताले ढिलो गर्ने मानिस सहानुभूतिको पात्र हुन सक्छ; क्षमता हुँदाहुँदै छल्ने मानिस जवाफदेहिताको पात्र हुनुपर्छ।
केही मित्रहरूको सुझाव छ “यसै नराम्रो, उसै नराम्रो। पैसा नतिर्ने मनसाय राख्ने खराब मानिसहरूको फोटो र प्रमाणसहित सामाजिक सञ्जालमा सार्वजनिक सूचना राखिदिनुपर्छ।”
बारम्बार धोका खाएको मानिसलाई यस्तो सोच आउनु स्वाभाविक हो। आफ्नो पैसा गुमेको छ, सम्बन्ध बिग्रिएको छ र उल्टै अपमान सहनुपरेको छ भने आक्रोश उत्पन्न हुन्छ। तर सामाजिक सञ्जालमा कसैको तस्बिर, व्यक्तिगत विवरण र आरोप सार्वजनिक गर्नु अन्तिम विकल्प पनि निकै सावधानीपूर्वक मात्र प्रयोग गरिनुपर्छ। आवेगमा गरिएको सार्वजनिक आरोपले विवाद झन् चर्काउन सक्छ र सत्य, प्रमाण, गोपनीयता तथा प्रतिष्ठासम्बन्धी नयाँ समस्या जन्माउन सक्छ।
त्यसैले पहिले लिखित रूपमा रकम माग्ने, लेनदेनका प्रमाण सुरक्षित राख्ने, साझा चिनजानका व्यक्तिबाट मध्यस्थता गराउने, निश्चित समयसीमा दिने र आवश्यक परे कानुनी परामर्श लिने बाटो अपनाउनु उचित हुन्छ। सार्वजनिक चेतावनी दिनैपर्ने अवस्था आए पनि तथ्य, प्रमाण र जिम्मेवारीबिना कसैलाई अपमानित गर्ने उद्देश्य राख्नु हुँदैन।
उद्देश्य बदला लिनु होइन, आफ्नो अधिकार सुरक्षित गर्नु र अरूलाई पनि सचेत गराउनु हुनुपर्छ।
आजको परिस्थितिले भावनामा मात्र भर परेर आर्थिक लेनदेन गर्नु जोखिमपूर्ण भएको देखाएको छ। आफन्त वा मित्र भए पनि रकम, मिति र फिर्ता गर्ने सर्त स्पष्ट लेखेर राख्नु अविश्वास होइन, दुवै पक्षको सुरक्षा हो। बैंकमार्फत रकम पठाउने, रसिद राख्ने र कुराकानीको प्रमाण सुरक्षित गर्ने बानी बसाल्नुपर्छ।
सहयोग गर्दा आफूले पूर्ण रूपमा गुमाउन नसक्ने रकम दिनु हुँदैन। कसैको बोली, पद, प्रतिष्ठा, महँगो गाडी वा ठूला गफलाई आर्थिक क्षमताको प्रमाण मान्नु हुँदैन। ऋण माग्ने व्यक्तिको विगतको व्यवहार पनि बुझ्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा—सहयोग र व्यापारलाई छुट्ट्याउनुपर्छ। फिर्ता नआए पनि मन दुखाउन नपर्ने रकम सहयोगका रूपमा दिन सकिन्छ। तर फिर्ता चाहिने रकमलाई स्पष्ट ऋणका रूपमा व्यवस्थित गर्नुपर्छ।
ऋण लिएर नतिर्नुलाई सामान्य चतुराइ मान्ने प्रवृत्ति घातक छ। “उसले मागिरहन्छ, थाकेर छाडिहाल्छ”, “सम्बन्धका कारण मुद्दा हाल्दैन” वा “केही वर्ष टार्न सके पैसा पचिहाल्छ” भन्ने सोच आर्थिक बेइमानी मात्र होइन, नैतिक पतन हो।
ऋण तिर्नु आर्थिक दायित्व मात्र होइन, चरित्रको परीक्षा पनि हो। समयमै तिर्न नसके सत्य बोल्नु, सम्पर्कमा रहनु र समाधान खोज्नु नै सभ्य व्यवहार हो। सहयोग गर्ने व्यक्तिलाई अपमानित गर्नु, धम्क्याउनु वा दोषीझैँ व्यवहार गर्नु कृतघ्नताको पराकाष्ठा हो।
गुन गर्ने, अप्ठ्यारोमा साथ दिने र अपनत्व देखाउने संस्कार हराउँदै जानु समाजका लागि राम्रो संकेत होइन। एकअर्कालाई सहयोग नगरी समाज चल्दैन। तर सहयोगको सम्मान नगर्ने र विश्वासलाई कमजोरी ठान्नेहरूको संख्या बढ्दै जाने हो भने असल मानिसहरू पनि कठोर बन्न बाध्य हुन्छन्।
आफ्नै पैसा फिर्ता लिन भिखारीजस्तै बिन्ती गर्नुपर्ने, सहयोग गरेकै कारण सम्बन्ध गुमाउनुपर्ने र विश्वास गरेकै कारण अपमानित हुनुपर्ने हो भने सरसापटी, साथ र सहयोगको के अर्थ रह्यो र?
विश्वास साह्रै ठूलो सम्पत्ति हो। यसलाई पैसाका लागि बेच्नु हुँदैन। पैसा आज नहोला, भोलि कमाउन सकिन्छ; तर एकपटक गुमेको विश्वास र बिग्रिएको सम्बन्ध सधैँ फर्काउन सकिँदैन।
अहिले साँच्चै विश्वासको खडेरी चलिरहेको छ। यस्तो अवस्था व्यक्ति, परिवार र समाज—कसैका लागि पनि राम्रो होइन। सहयोग गर्ने हातहरू बन्द हुनुअघि, सम्बन्धहरू पूर्ण रूपमा व्यापारिक बन्नुअघि र मानिसले मानिसलाई विश्वास गर्नै छाड्नुअघि हामी सबैले आफ्नो व्यवहारमाथि गम्भीरतापूर्वक विचार गर्नुपर्ने बेला आएको छ।
प्रतिक्रिया