नेपाली काँग्रेसका सभापति गगन थापाजीले फागुन २१ गतेको आम निर्वाचनमा भएको आफ्नै व्यक्तिगत र पार्टीको पराजयका कारणले पार्टीको सभापति पदबाट नै राजिनामा दिनुभएछ । पराजयका यस्तै कारणले पार्टी सभापतिले राजिनामा नै दिएको पार्टीको विगतको इतिहासमा यस्तो अवस्था आएको थिएन । पार्टीगत व्यवस्थाको नेपालको इतिहासमा गगनजीले नैतिकताको नयाँ मानक स्थापित गर्नुभएको छ, जुन अरु पार्टीहरुका लागि पनि शिक्षाप्रद हुनसक्तछ ।
तर यहाँ गगन थापाको राजिनामाको प्रसङ्गले केही गम्भीर विषय पनि उठाएको छ, जसलाई समस्त नेपाली काँग्रेसका पार्टी पंक्तिले विचार गर्नु अत्यन्त आवश्यक छ ।
जेनजी आन्दोलन पछिको विशेष महाधिवेशनमा नेपाली काँग्रेसले आफ्नो पुरानो चोला फेरेर समय सापेक्ष एजेन्डाहरु सहितको नयाँ चोलामा प्रस्तुत भएको हो । पुरानो नेतृत्व र यसका अदूरदर्शी निर्णय प्रक्रियालाई हटाई दीर्घकाल सम्म पार्टी र नेपाली समाजको समय सापेक्ष रुपान्तरणका लागि अङ्गिकार गरिएका युगान्तकारी एजेन्डाहरु एउटै चुनावको पराजयसगैं असफल हुँदैन । पार्टीका नयाँ विचार र एजेन्डाले मात्र चुनाव हाँकिदैन, पार्टीका विचार र एजेन्डालाई जनस्तरसम्म पु¥याएर विश्वस्त बनाउन समय पनि लाग्छ । पुरानो नेतृत्वको निरन्तरको असहयोग र व्यवधानले गर्दा चुनावका लागि बाँकि रहेको थोरै समयभित्र युगान्तकारी नयाँ एजेन्डाहरु जनस्तरमा प्राविधिक रुपमा पु¥याउन नसकेकै हो ।
पार्टीको पुरानो नेतृत्व, नीति, कार्यक्रम, कार्यान्वयन प्रक्रिया र जनस्तरमा पर्ने प्रभावले पार्टीप्रतिको जनमत निर्धारण गर्दछ । केही अघि सम्म रहेको पार्टीको पुरानो नेतृत्व, र त्यसले लिएका नीति, कार्यक्रम र कार्यान्वयन प्रक्रियाका साथ साथै चुनावका लागि बाँकि रहेको बहुमुल्य समयमा यसको मौन असहयोग प्रमुख रुपमा जिम्मेवार रहेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।
पार्टी सभापति गगन थापाजीले आफ्नो व्यक्तिगत पराजयका कारणले दिनुभएको राजिनामा एउटा व्यक्तिको राजिनामामा मात्र सीमित छैन, पार्टीले स्वामित्व लिएका युगान्तकारी एजेन्डा र निर्णयहरुको कार्यान्वयन सबैभन्दा बढी महत्वपूर्ण छ, यसले नै पार्टीको आगामी कार्यदिशा र कार्यक्रमहरु निर्धारण गर्दछ, नयाँ जनमत बनाउंदै लग्छ । गगनजीको ओजस्वी वत्तृmत्व, विषयवस्तुको गहनता, र संप्रेषण क्षमता ती एजेन्डाहरुको सफल कार्यान्वयनका लागि वहाँको नेतृत्वको निरन्तरता अपरिहार्य छ । त्यसैले पार्टीको कार्यसमितिको बैठकले सर्वसम्मतिबाट सभापति गगन थापाजीको राजिनामा अस्वीकृत गर्दै, आगामी नियमित महाधिवेशनमा समेत वहाँलाई नै सभापतिमा पुनः निर्वाचित गर्नु पर्दछ ।
प्रतिक्रिया