काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नुपर्ने भन्ने अभिव्यक्ति दिएका राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनालको धारणा प्रति ‘सत्य र न्यायको खोजी अभियान’ले गम्भीर आपत्ति जनाएको छ। अभियानका अध्यक्ष ध्रुवलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिलाई “अराजक र असहिष्णु राजनीतिक सोच” को संज्ञा दिएका छन्।
विज्ञप्तिमा पछिल्लो ३६ वर्षदेखि गणतन्त्रको नाममा विभिन्न राजनीतिक दलहरूले पालैपालो देशको दोहन गरेको आरोप लगाइएको छ। “कुनै पनि नेता पूर्ण रूपमा नैतिक र पारदर्शी देखिएका छैनन्। विकल्पका रूपमा अघि सारिएकाहरू पनि ठगी, विदेशी प्रभाव र स्वार्थमा लिप्त देखिए,” विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठले हालको राजनीतिक परिस्थिति, संविधानको व्याख्या र निर्वाचन प्रक्रियालाई समेत प्रश्न गरेका छन्। उनले वर्तमान सरकार गठन प्रक्रियामाथि शंका व्यक्त गर्दै “संविधान र कानुनी अवस्थासँग मेल नखाने ढंगले राजनीतिक अभ्यास भइरहेको” दाबी गरेका छन्। निर्वाचन विदेशी प्रभावमा हुन लागेको भन्ने जनगुनासो बढ्दै गएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनता नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
अध्यक्ष श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्रले व्यक्त गरेको राजनीतिक सहमति र राष्ट्रिय एकताको आह्वानलाई “देशहितमा गरिएको धारणा” का रूपमा व्याख्या गरेका छन्। “यस्तो संवेदनशील अवस्थामा देशका लागि आवाज उठाउने व्यक्तिलाई पक्राउ गर्नुपर्ने भन्नु लोकतान्त्रिक मूल्यविपरीत हो,” विज्ञप्तिमा भनिएको छ।
उनले नेपालमा राजसंस्था समर्थन गर्ने जनसंख्या ठूलो रहेको दाबी गर्दै “राजालाई पक्राउ गर्नुपर्ने भन्ने अभिव्यक्ति लाखौं नागरिकको भावनाविरुद्ध जान सक्ने” चेतावनी दिएका छन्।
विज्ञप्तिको अन्त्यमा अभियानले राजनीतिक दलहरू, बौद्धिक वर्ग र नागरिक समाजलाई देशको भविष्यबारे गम्भीर बहस र सहमतिको वातावरण बनाउन आह्वान गरेको छ।
प्रतिक्रिया