रामेछापस्थित तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। दुर्घटनामा परेकामध्ये ९ जनाको सनाखत भइसकेको छ भने ३ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मंगलबार बिहान भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो भने बाँकी ६ जनाको शव घटनास्थलमै फेला परेको बताए।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा फेला परेको थियो। दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सीडीओ थापाले बताए। घाइतेहरूको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले समन्वय गरिरहेको उनले जानकारी दिए।
अरनिको यातायात समितिले उपलब्ध गराएको विवरणअनुसार बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा यकिन विवरण आउन बाँकी रहेको समितिले जनाएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलमा खोजी कार्य निरन्तर जारी राखेको छ। सबै शवहरू मन्थली अस्पताल पुर्याइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ पुरुष र ५ महिला रहेका छन्। हालसम्म सनाखत भएका मृतकहरू यस प्रकार छन्:
दोलखा भीमेश्वर नगरपालिका–७ की अन्दाजी २५ वर्षीया बबि तामाङ,
दोलखा भीमेश्वर नगरपालिका–८ का अन्दाजी ६० वर्षीय मानबहादुर तामाङ,
रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का अन्दाजी २८ वर्षीय दिपेश बस्नेत,
रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ की अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ,
रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ की अन्दाजी ३१ वर्षीया तारा तामाङ,
रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ का अन्दाजी ३६ वर्षीय भिमबहादुर तामाङ,
रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ की अन्दाजी १६ वर्षीया रमिता तामाङ,
रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत,
र सिन्धुली गोलन्जोर गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ।
अन्य तीन जनाको सनाखतका लागि प्रहरीले आफन्त तथा स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको र प्रारम्भिक रूपमा सडक अवस्था र चालकको लापरवाहीको कोणबाट छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।







प्रतिक्रिया