अमेरिकामा आयोजना हुने नेपाली चलचित्र अवार्ड कार्यक्रमहरूबारे पछिल्ला वर्षमा धेरै चर्चा, बहस र प्रश्न उठिरहेका छन्। आयोजक, सहभागी र दर्शक—तीनै पक्षबाट फरक अनुभव र दृष्टिकोण आएका छन्, जसले यस्ता कार्यक्रमको पारदर्शिता, निष्पक्षता र प्रभावकारिताबारे गहिरो सोच्न बाध्य बनाउँछ ।
अवार्डको उद्देश्य
आयोजकहरूले अमेरिकामा नेपाली चलचित्र अवार्ड आयोजना गर्नुको मुख्य उद्देश्य ‘नेपाली फिल्मलाई विश्व मञ्चमा चिनाउनु’ भएको बताउँछन्। यस्ता कार्यक्रमले कलाकार र निर्मातालाई अन्तर्राष्ट्रिय सम्पर्क र अवसर प्रदान गर्छन्, र नेपाली कला–संस्कृतिको प्रचार गर्छन्। साथै, प्रवासी समुदायमा सिर्जनात्मक चेतना र सहकार्यको वातावरण पनि तयार हुन्छ।
तर वास्तविकतामा, धेरै अवार्डमा कलाकारलाई अमेरिका ल्याउने इच्छा, फ्री टिकट, होटेल सुविधा र भव्य स्वागतले मुख्य आकर्षण बनाएको पाइन्छ। कतिपय कलाकारका लागि यो यात्रै मुख्य उद्देश्य हुन्छ। प्रशंसक र समर्थकले कलाकारलाई उपहार दिन्छन्, घुमाउँछन्, खर्च गर्छन्; तर नेपाल फर्केर पुग्दा त्यही कलाकारहरूले सम्पर्क नगर्ने गुनासो सुनिन्छ।
अवार्ड वितरण प्रक्रिया र पारदर्शिता
अवार्ड कसरी वितरण हुन्छ भन्ने विषयमा प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय स्तरमा, कलात्मकता, व्यावसायिकता र प्रदर्शनको गुणस्तर आधार मानिन्छ। तर अमेरिकामा कतिपय अवार्ड कार्यक्रममा सहभागिता वा आयोजकसँगको सम्बन्ध मात्र आधार भएर पुरस्कार दिइएको गुनासो सुनिन्छ। यसले निष्पक्षता र गुणस्तरीय मुल्यांकनमा शंका पैदा गरेको छ ।
लेखकको अनुभव अनुसार, २०१६ मा पहिलो पटक यस्तै अवार्ड आयोजना गर्दा पार्टनरसँगको मिलेर कार्य गर्दा वित्तीय क्षति व्यहोर्नुपरेको थियो । होटेल खर्चका लागि क्रेडिट कार्ड प्रयोग गर्दा ब्याजसहित रकम तिर्न झन्डै ३ वर्ष लाग्यो । जबकि, ती पार्टनरले भने टन्नै पैसा कमाएको कुरा नेपालबाट आएकी एक कलाकारले रक्सीको सुरमा एउटा पार्टीमा बोलेकी थिइन् ।
यसैगरी, दोस्रो अवार्ड कार्यक्रममा नेपालबाट सहयोग गर्न आएका एक बैंकका कर्मचारीलाई नेपाल–अमेरिका–नेपालको हवाई टिकट, बस्ने होटेल, विशेष सम्मान दिइयो भने पनि, उनको र उनका परिवारको सुविधालाई प्राथमिकता दिइए पनि, कार्यक्रमको वास्तविक सार्थकता भन्दा व्यक्तिगत सुविधा, घमण्ड र पैसाको प्रयोग गरेर अवार्ड किनेको अनुभव बढी भयो।
पैसाको आधारमा पुरस्कार बाँड्दा वास्तविक कला र प्रतिभाको अपमान हुन्छ । पहुँच भएका वा पैसा तिर्न सक्ने मात्र सम्मान पाउँछन् भने कार्यक्रमको उद्देश्य ‘व्यक्तिगत लाभ’ मा सीमित हुने खतरा हुन्छ । यसले चलचित्र उद्योगको स्वाभाविकता र दर्शकको विश्वासमा चोट पुर्याउँछ ।
एभरेस्ट नेपाल सांस्कृतिक समुहका निर्देशक तथा United Nepalese Artists Association North America (UNAANA) का महासचिव राजु बजाजले केही दिन अघि यस विषयमा आफ्नो फेसबुक स्ट्याटसमा व्यंग्य गर्दै अमेरिकामा पुनः ‘नक्कली कपालधारी र लंगडा घोडा’ हरूको वनभोज भएको उल्लेख गरेका छन् । उनले वर्षौँसम्म जुवा खेल्ने र मदिरामा खर्च जुटाउने बानी जस्तो भाव व्यक्त गरेका छन्, जसले बधाई दिनु हो कि चिन्ता व्यक्त गर्नु हो भन्ने द्विविधा उत्पन्न गरेको छ ।
किन सहभागी हुने ?
कार्यक्रममा भाग लिनु अघि विचार गर्नुपर्ने मुख्य प्रश्नहरू:
कार्यक्रम साँच्चै नेपाली चलचित्र सशक्तीकरणका लागि हो कि व्यक्तिगत लाभका लागि ?
आयोजक वा संस्थाको विगत पारदर्शी छ कि छैन ?
पुरस्कार योग्यता, निष्पक्षता र उत्कृष्टता अनुसार बाँडिएको छ कि छैन ?
पारदर्शी, निष्पक्ष र योग्य कलाकारलाई इमान्दारीपुर्वक सम्मान गर्ने अवार्डले सकारात्मक भुमिका खेल्छ। नत्र, सुविधा, पहुँच र व्यक्तिगत लाभमुखी आयोजनाले दीर्घकालीन दृष्टिले नकारात्मक प्रभाव पार्छ।
अमेरिकामा नेपाली चलचित्र अवार्ड चलाउनु आफैँमा नकारात्मक होइन। तर पारदर्शिता, निष्पक्षता र व्यक्तिगत स्वार्थभन्दा माथि रहेको उद्देश्य अनिवार्य छ। आयोजकले व्यक्तिगत लाभभन्दा बढी उद्योग र समुदायको हितलाई प्राथमिकता दिनुपर्छ। अन्यथा यस्ता अवार्डले कलाकर्मी, प्रवासी समाज र दर्शकबिच केवल तीतोपन मात्र फैलाउने छ ।
प्रतिक्रिया