अमेरिकाभर शनिबार “नो किङ्स” नामक विशाल प्रदर्शनमा करिब सात मिलियन मानिस सडकमा उत्रिए। राष्ट्रपति डोनाल्ड ट्रम्पको “सत्तावादी प्रवृत्ति” विरुद्ध भएको यो आन्दोलन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो राजनीतिक जनआन्दोलनमध्ये एक भएको बताइन्छ। आयोजकहरूले यसलाई लोकतन्त्र, स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा उठेको राष्ट्रिय आवाज भनेका छन्।
न्यूयोर्क सिटीको टाईम्स स्क्वायर शनिबार करिब एक लाखभन्दा बढी विरोधकर्ताले भरियो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा “नो किङ्स” नामक विशाल प्रदर्शन गरियो। देशभरका प्रमुख सहरहरूमा एकैसाथ भएको यो आन्दोलनमा सहभागीहरूले ट्रम्पको “सत्तावादी प्रवृत्ति” र “संविधानविपरीत शासन शैली” विरुद्ध आवाज उठाए।
न्यूयोर्कका सडकहरूमा प्रदर्शनकारीहरूले “No Fuhrers”, “ICE melts faster under pressure” जस्ता प्लेकार्ड बोकेका थिए। केहीले हिटलरको स्वास्तिक चिह्न काटिएको ब्यानर देखाए भने कतिपयले “Trump = Fascism” लेखेका पोस्टर बोकेका थिए।
७० वर्षीया पेगी कोल नामकी एक अवकाशप्राप्त कर्मचारीले आफ्नो जन्मदिन मनाउन मिचिगनबाट दस घण्टा गाडी चलाएर वाशिङ्टन डीसी आइन्। उनले भनिन्, “ट्रम्पले हाम्रो लोकतन्त्रलाई टुक्रा–टुक्रा गर्दै ध्वस्त पार्दै छन्। हामी केही गरेनौं भने सारा संरचना ढल्नेछ।”
देशभरका २,७०० भन्दा बढी स्थानमा प्रदर्शनहरू भएका थिए — न्यूयोर्क, वाशिङ्टन, शिकागो, लस एन्जलसदेखि स–साना गाउँसम्म। आयोजकका अनुसार, केवल न्यूयोर्कको टाईम्स स्क्वायरमै एक लाखभन्दा बढी मानिस सहभागी थिए।
अधिकांश प्रदर्शनहरू शान्तिपूर्ण भए पनि केही ठाउँमा झडपका घटनाहरू देखिए। साउथ क्यारोलिनामा एक महिलाले बन्दुक देखाएर प्रदर्शनस्थल नजिक आतंक मच्चाइन्, जर्जियामा एक व्यक्तिले झण्डा खोस्दै प्रदर्शनकारीलाई धकेलेको भिडियो सार्वजनिक भयो। आयोजक संस्था “Indivisible Project” ले भने हिंसालाई अस्वीकार गर्दै सबै प्रदर्शनकारीलाई अहिंसात्मक तालिम र सुरक्षा निर्देशिका प्रदान गरिएको बतायो।
सहभागीहरूले पहेंलो कपडा लगाएका थिए, जुन एकताको प्रतीकको रूपमा प्रयोग गरिएको थियो। उनीहरूले “This is what democracy looks like”, “No hate, no fear, immigrants are welcome here” भन्ने नारा लगाउँदै मार्च गरेका थिए। कतिपयले स्वातन्त्र्यदेवीको पोशाक, केहीले जनावरका रमाइला पोशाक लगाएर प्रदर्शनलाई उत्सवमय बनाए।
अटलान्टामा सिनेटर राफेल वार्नकले भने, “यो शक्तिशालीहरूको होइन, जनताको शक्ति हो। यो आन्दोलन सत्ता होइन, जनताको अधिकारको रक्षा हो।” न्यूयोर्ककी एक वृद्ध सहभागीले भनिन्, “६० को दशकमा हामीले अधिकार विस्तारका लागि लडेका थियौं, अहिले ती सबै अधिकार खोसिँदै छन्। अहिले लोकतन्त्रकै अस्तित्व संकटमा छ।”
वाशिङ्टन डीसीमा स्वतन्त्रता युद्धकालीन पोशाकमा देखिएका समूहले “Declaration of Independence is about no kings” भन्ने ब्यानर बोकेका थिए। नेब्रास्काकी बबी कास्टिलोले भनिन्, “अब हामी स्वतन्त्र रूपमा बोल्न पनि डराउँछौं — सरकार वा आफ्नै परिवारबाट प्रतिशोधको भय छ।”
डीसीमा वैज्ञानिक तथा टिभी व्यक्तित्व बिल नाई “The Science Guy” ले भीडलाई सम्बोधन गर्दै भने, “ट्रम्प र उनका सहयोगीहरू असहमति सहन सक्दैनन्। हाम्रो स्वतन्त्र अभिव्यक्ति उनीहरूलाई भयावह लाग्छ।”
अनेक प्रदर्शनकारीले आप्रवासन छापामारी र निर्वासन अभियानविरुद्ध आवाज उठाए। लस एन्जलसमा “NO KINGS, NO ICE” लेखिएका प्लेकार्डसहित हजारौंले जुलुस निकाले। मेक्सिकन मूलकी मरिया कुमिङ्सले भनिन्, “हामी सबै आप्रवासी हौं, र सबैलाई अधिकार छ।” शिकागोमा प्रदर्शनकारीहरूले “Hands off our Democracy” र “ICE OUT!” लेखिएका ब्यानर बोक्दै मार्च गरे। अभिनेता जोन कुस्याकले भने, “ट्रम्प प्रशासनलाई हाम्रो सन्देश स्पष्ट छ — सेना सडकमा उतार्ने अनुमति दिइने छैन।”
सरकार बन्दका कारण स्वास्थ्य बीमा, मेडिकेड र अन्य सामाजिक सेवामा कटौती हुने डरले पनि जनता आक्रोशित छन्। फेडरल कर्मचारी एन्थोनी लीले भने, “२० वर्ष सेवा गरेपछि सरकार आफैंले सार्वजनिक सेवाहरू ध्वस्त पार्न लाग्दा डर लाग्छ।”
मेरील्यान्डकी २५ वर्षीया सामाजिक कार्यकर्ता एलिजाबेथ नीले भनिन्, “हामीसँग आउने धेरै बिरामी घरविहीन छन्, मेडिकेडमा निर्भर छन् — सबै खतरा मुनि छन्।”
वाशिङ्टन डीसीमा बोल्दै सिनेटर बर्नी स्यान्डर्सले भने, “यो केवल एक व्यक्तिको लोभ होइन। यो धनी वर्गको संरचनागत कब्जा हो — जसले श्रमिक वर्गको मूल्यमा आफ्नो सम्पत्ति बढाइरहेका छन्।”
प्रतिक्रिया