तिम्रो रगतको भेल
यिनैलाई कुर्सीमा राख्न थिएन
तिम्रो रगतको भेल
यिनकै “फेरि उठ्नेछौँ” हुँकारका लागि थिएन
तिम्रो रगतको भेल
तिम्रो भविष्य चुसेर बनेका महल
“फेरि ठड्याउँछौँ” भन्नेका लागि थिएन
तिम्रो रगतको भेल
सिर्फ यो पीडादायी मध्यान्तरका लागि थिएन
मध्यान्तरपछिको उही सिनेमाका लागि थिएन
तिम्रो आमा र बाबाका लागि थियो
तिम्रो छोरा र छोरीका लागि थियो
तिम्रो विपना र सपनाका लागि थियो
नेपाल र नेपालीका लागि थियो
एक दिन त “त्यो दिन” आउँछ-आउँछ
माथिबाट तिमीले देख्छौ या देख्दैनौ —
थाहा भएन
म माथि आउँदा भने शुभ-सन्देश लिएर आउनेछु
तिम्रो रगतमा फुलेको नेपाल बोकेर आउनेछु!
××××××××××
ती कलिला, र क्रूर नेताका कारण प्रताडित, आत्मा सबैलाई शान्ति मिलोस्। फेरि कहिल्यै यस्तो नहोस्! (फोटो: Kathmandu Post)
प्रतिक्रिया