काठमाडौं, भदौ २४ / देशभर तातेको जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई अझै ठूलो धक्का दिएको छ। सोमबार साँझ भएको घटनामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री आरजु राणा देउवा समेत आफ्नै निवासमै प्रदर्शनकारीको आक्रमणमा परेर कुटपिटमा परेका छन्।
स्थानीयबासीले बताएका अनुसार, उग्र रूपमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूको ठूलो समूह सुदूरपश्चिमबाट समेत आएका समर्थकहरूसहित देउवा निवासतर्फ पुगेको थियो। प्रहरी सुरक्षा व्यवस्था सामान्य भएपनि तत्कालै सुरक्षा बलले नियन्त्रण लिन नसक्दा घर वरिपरि भीड प्रवेश गरेको बताइएको छ।
देउवा निवासमा स्थायी रूपमा रहने प्रहरी टोली घटनाको बेला किन उपस्थित थिएनन् भन्ने गम्भीर प्रश्न उठेको छ। घटनास्थलमा रहेका केही प्रत्यक्षदर्शीका अनुसार, त्यतिबेला प्रहरीको उपस्थिति न्यून थियो, जसले गर्दा भीड सजिलै घर परिसरमा प्रवेश गर्न सफल भयो। आन्दोलनकारीहरूलाई रोक्ने प्रयत्न कमजोर भएको र सुरक्षा संयन्त्र विफल भएको आरोप लगाइएको छ।
जेनजी आन्दोलनले सामाजिक सञ्जाल प्रतिबन्ध, प्रहरीको गोलीप्रयोग र हालै भएका १९ भन्दा बढी मृत्युसहितको घटनाप्रति सरकारविरुद्ध आक्रोश पोख्दै आएको छ। प्रदर्शनकारीहरूले सत्ताधारी दलका शीर्ष नेताहरूमाथि आक्रोश देखाउँदै, “भ्रष्टाचार र निरङ्कुशता” का विरुद्ध प्रत्यक्ष कारबाही गर्ने भन्दै देउवा निवाससम्म पुगेको आन्दोलनकारीहरूले बताएका छन्।
आन्दोलनकारीले घर घेराउ गर्दा देउवा दम्पती भाग्न नसकेको जानकारी दिइएको छ। पाँच पटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा र मन्त्री समेत रहेकी आरजु राणा देउवालाई “भ्रष्ट राजनीतिको प्रतीक” भन्दै प्रदर्शनकारीहरूले लक्षित गरेका थिए। उनीहरूलाई आकस्मिक रूपमा सुरक्षित स्थानमा सार्न सकिने सम्भावना भए पनि तत्कालीन सुरक्षाको कमजोरीकै कारण घटनास्थलमै कुटपिट भएको प्रारम्भिक विवरण आएको छ।
नेपाली राजनीतिमा शेरबहादुर देउवा र आरजु राणा दम्पती निरन्तर विवादास्पद रहँदै आएका छन्। विभिन्न समयमा भ्रष्टाचारका आरोप, नातावाद र पद प्रयोगका कारण उनीहरू आलोचनामा परेका छन्। यही कारणले गर्दा जेनजी आन्दोलनले उनीहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यो घटना नेपाली राजनीतिमा ठूलो मोडको संकेतका रूपमा हेरिएको छ। प्रहरी प्रशासनको कमजोरी, नेताहरूको असुरक्षा र आन्दोलनकारीको उग्रतालाई लिएर देशभित्र थप अस्थिरता बढ्न सक्ने देखिएको छ। देउवा दम्पतीमाथिको कुटपिटले अब राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रलाई गम्भीर प्रश्नसामु उभ्याएको छ।
प्रतिक्रिया