अन्तर्राष्ट्रिय समाचार, अक्टोबर २२, २०२६। मध्यपूर्वमा जारी युद्ध र तनाव थप खतरनाक मोडमा पुगेको छ। यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भीषण लडाइँ जारी रहँदा साउदी अरेबियाका प्रमुख विमानस्थल, तेल उत्पादन केन्द्र तथा रक्षा मन्त्रालयमाथि आक्रमण गरिएको हुथी समूहले दाबी गरेको छ। उता इरानले अमेरिकालाई चेतावनी दिँदै तनाव बढाइए क्षेत्रभर रहेका अमेरिकी सैन्य अखडासमेत निशानामा पर्न सक्ने जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत अगस्टदेखि यमनमा चर्किएको युद्धमा कम्तीमा १ हजार ५७४ जनाको मृत्यु भएको छ भने ६ हजार ९३९ जना घाइते भएका छन्। मृतक तथा घाइतेमध्ये कति सर्वसाधारण र कति लडाकु हुन् भन्ने छुट्टाछुट्टै विवरण भने सार्वजनिक गरिएको छैन।
संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण अगस्टयता करिब २ लाख ६० हजार मानिस विस्थापित भएका छन्। विस्थापितमध्ये ठूलो संख्याले ताइज प्रान्तमा शरण लिएका छन्। यमनको सरकारी सेना र हुथी विद्रोहीबीच ताइजका विभिन्न क्षेत्रमा लगातार भीषण लडाइँ भइरहेको छ। युद्धका कारण आवास, खाद्यान्न, स्वास्थ्य सेवा तथा शिक्षामा गम्भीर संकट उत्पन्न भएको छ।
यसैबीच, हुथी विद्रोही समूहले पछिल्लो ४८ घण्टामा साउदी अरेबियाको राजधानी रियादस्थित रक्षा मन्त्रालय, यान्बुमा रहेको साउदी अरामकोको तेल केन्द्र तथा दम्माम र आभाका अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।
हुथी समूहले ती आक्रमण साउदी नेतृत्वको गठबन्धनले यमनमा गरेको सैन्य कारबाहीको प्रतिशोधस्वरूप गरिएको बताएको छ। यद्यपि हुथीले दाबी गरेका सबै आक्रमण र क्षतिका विवरण स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा मानवीय क्षति भएको विवरणसमेत सार्वजनिक भएको छ।
लगातारका आक्रमणपछि विश्वकै ठूलो तेल कम्पनीमध्ये एक साउदी अरामकोले पूर्वी सहर धहरानस्थित मुख्यालयका कर्मचारीलाई कार्यालय खाली गरी घरबाटै काम गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तेल उत्पादन तथा ढुवानीमा अवरोध आउने आशंकाले अन्तर्राष्ट्रिय ऊर्जा बजारसमेत प्रभावित भएको छ।
उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा जारी सैन्य गतिविधि र समुद्री मार्गसम्बन्धी विवादलाई लिएर अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी पक्षले अमेरिकाले जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्न जहाजहरूलाई प्रोत्साहन गर्ने तथा इरानविरुद्ध सैन्य दबाब बढाउने कार्य जारी राखे क्षेत्रका अमेरिकी सैन्य अखडासम्म द्वन्द्व विस्तार हुन सक्ने चेतावनी दिएको छ।
आईआरजीसीले आफ्नो सैन्य रणनीति केवल रक्षात्मक नभई आवश्यक परे आक्रामक कारबाही गर्ने दिशामा परिवर्तन भएको जनाएको छ। इरानी अधिकारीहरूले देशको सुरक्षा र सार्वभौमिकतामाथि खतरा उत्पन्न भए त्यसको जवाफ सीमित प्रतिरक्षात्मक कारबाहीमा मात्र नरोकिने स्पष्ट पारेका छन्।
यद्यपि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले आफ्नो देशको उद्देश्य युद्धलाई थप विस्तार गर्नु नभएको बताएका छन्। उनका अनुसार तेहरान भविष्यमा पुनः युद्ध हुने सम्भावना कम गर्ने परिस्थितिमा वर्तमान युद्ध अन्त्य गर्न चाहन्छ। इरानले आफ्नो सुरक्षा सुनिश्चित गर्ने विश्वसनीय व्यवस्था र कूटनीतिक समाधान आवश्यक रहेकोमा जोड दिँदै आएको छ।
अमेरिका र इरानबीचको बढ्दो तनाव, होर्मुज जलडमरूमध्यमा जहाजमाथिका आक्रमण तथा साउदी अरेबियामा हुथी समूहको सैन्य गतिविधिले मध्यपूर्वमा थप ठूलो क्षेत्रीय युद्ध फैलिने आशंका बढाएको छ। विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज मार्गमा असुरक्षा बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत प्रभावित भएको छ।
यसैबीच, साउदी अरेबियामा तेल क्षेत्रलाई लक्षित गरी भएको छुट्टै ड्रोन आक्रमणमा एक नेपाली नागरिकको समेत मृत्यु भएपछि नेपालका लागि पनि मध्यपूर्वको सुरक्षा अवस्था चिन्ताको विषय बनेको छ। नेपाल सरकारले सार्वजनिक पूर्वाधार तथा नागरिकमाथि हुने आक्रमणको कडा निन्दा गर्दै युद्धको सट्टा संवाद र कूटनीतिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।
मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली श्रमिक कार्यरत रहेकाले क्षेत्रीय युद्धको विस्तारले उनीहरूको सुरक्षा, रोजगारी तथा आवतजावतमा समेत गम्भीर चुनौती उत्पन्न गर्न सक्ने देखिएको छ। लगातारका सैन्य आक्रमण, प्रतिशोध र धम्कीबीच तत्काल युद्धविराम तथा राजनीतिक समाधानको पहल हुन नसके मध्यपूर्वको वर्तमान संकट थप भयावह बन्न सक्ने चिन्ता बढेको छ।
प्रतिक्रिया