२ दिनअघि चीनको तियानजिनमा सम्पन्न शंघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले गत महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा युक्रेन युद्ध अन्त्यका विषयमा “सम्झदारी” पुगेको दाबी गरेका छन्।
पुटिनले भने, “अलास्कामा राष्ट्रपति ट्रम्पसँग भएका सम्झदारी शान्तिको बाटो खोल्दैछन् भन्ने आशा छ।”
उनले युद्ध सुरु गर्नुको दोष पश्चिमी देशहरूको नाटो विस्तार प्रयास र २०१४ मा युक्रेनमा भएको पश्चिम-समर्थित कूपलाई दिए।
चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै, “युक्रेन सङ्कट समाधानतर्फ मद्दत गरेको” टिप्पणी गरे।
अमेरिकी विशेष दूत स्टिभ विट्कफका अनुसार, पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने कुरामा सहमति जनाएका छन्।
ट्रम्पले पनि युक्रेनलाई नाटोमा प्रवेश नदिने तर युरोप र अमेरिका मिलेर सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव अघि सारे।
उनले भने, “युरोप पहिलो सुरक्षा पंक्ति हो, तर हामी (अमेरिका) पनि संरक्षणमा रहनेछौं।”
तर उनले अमेरिकी सेनालाई युक्रेनमा पठाउने कुरा भने स्पष्ट अस्वीकार गरेका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले ट्रम्पले पुटिनलाई दिएको सोमबारभित्र प्रतिक्रिया दिने अल्टिमेटमलाई स्मरण गराउँदै भने, “यदि पुटिनले सहमति जनाएन भने फेरि एकपटक उनले ट्रम्पलाई छल्न खोजेका हुन्।”
ट्रम्पले यसअघि पनि “एक दिनमै युद्ध अन्त्य गर्न सक्छु” भनेका थिए, तर अब स्थायी शान्ति सम्झौतामा जोड दिइरहेका छन्।
उनले केही हप्ता समय थप दिएको बताउँदै CNN सँग भने, “पुटिनले अझै प्रतिक्रिया दिन समय पाउनेछन्, त्यसपछि हामी कदम चाल्नेछौं।”
राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीले भने रुस अझै कूटनीतिक रूपमा तयार नभएको आरोप लगाउँदै, “युद्ध टार्नभन्दा लम्ब्याउन मात्रै खोजिरहेको छ” भने।
उनले सुरक्षा ग्यारेन्टीको खाका यसै साताभित्र कागजमा आउनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।
तर, रूसले पश्चिमी प्रस्तावलाई “एकपक्षीय र रूसलाई नियन्त्रण गर्ने डिजाइन” भन्दै अस्वीकार गरेको छ।
रुसले केही दिनअघि मात्रै ६२९ ड्रोन र मिसाइल प्रहार गर्दै कीभमा २३ जनाको ज्यान लिएको ठूलो हवाई आक्रमण गर्यो।
यसले युरोपेली नेताहरूलाई झस्काएको छ। जर्मनी र फ्रान्सले रुसमाथि थप दबाब दिने बताएका छन्।
यता, जेलिन्स्कीले “रुससँग बफर जोनको कुरा अस्वीकार्य” भन्दै स्पष्ट सन्देश दिएका छन्।
पुटिन र ट्रम्पबीचको “सम्झदारी” कथनले नयाँ आशा जगाए पनि, रुसका निरन्तर आक्रमण र युक्रेनको असहमतिले तत्काल शान्ति सम्भावना अझै अनिश्चित देखिन्छ।
प्रतिक्रिया