युरोपेली संघ (EU) को कार्यकारी प्रमुख उर्सुला भोन डेर लायनले रूसले किभमाथि गरेको पछिल्लो आक्रमणलाई कडा शब्दमा भर्त्सना गरेकी छन् । यो आक्रमण जुलाईयताकै सबैभन्दा भीषण भएको बताइन्छ, जसमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । मृतकमध्ये चारजना बालबालिका छन् भने दर्जनौँ घाइते भएका छन्।
रूसी मिसाइल आक्रमणमा किभको दक्षिण–पूर्वी डार्नित्स्की क्षेत्रमा रहेको पाँच तले आवासीय भवन भत्किएको छ। उक्त भवनभित्रै धेरै मानिसहरूको मृत्यु भएको बताइएको छ। आक्रमणका क्रममा युरोपेली संघको किभस्थित प्रतिनिधि कार्यालय र नजिकैको ब्रिटिश काउन्सिलको भवन पनि क्षतिग्रस्त भएको छ। भोन डेर लायनका अनुसार “२० सेकेन्डको फरकमा ५० मिटर दूरीमा दुईवटा मिसाइल खसेका थिए।”
यूक्रेनी अधिकारीहरूले बताएअनुसार, गत राति मात्रै रूसले किभमाथि करिब ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज मिसाइल प्रहार गरेको थियो। आक्रमणपछि उद्धार टोलीले भग्नावशेष हटाउने र बाँचेका मानिसहरू खोज्ने काम गरिरहेका छन्।
मृतक बालबालिकामध्ये २, १४ र १७ वर्ष उमेरका थिए भने अन्य केही बालबालिका घाइते भएका छन्।
यस आक्रमणले पश्चिमी मुलुकहरूलाई थप आक्रोशित बनाएको छ। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राष्ट्रपति भ्लादिमिर पुटिनमाथि “शान्तिको आशा तोड्ने” आरोप लगाए भने EU को विदेश नीति प्रमुख काया कलासले “रूसले शान्ति प्रयासमाथि उपहास गर्दै युद्ध चर्काएको” टिप्पणी गरिन्।
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले “रूसले वार्ता टेबल होइन, ब्यालिस्टिक रोजेको छ” भन्दै नयाँ कडा प्रतिबन्ध आवश्यक भएको दोहोर्याए। उनका अनुसार आक्रमणले शान्ति–सम्बन्धी पछिल्ला कूटनीतिक पहलमाथि स्पष्ट प्रतिक्रिया दिएको छ।
यसबीच, अमेरिकी विशेष दूत कीथ केलोगले रूसको आक्रमणलाई “राष्ट्रपति ट्रम्पले अघि बढाइरहेको शान्ति प्रयासलाई खतरामा पार्ने” बताएका छन्। जर्मन चान्सलर फ्रिड्रिख मर्जले रूसले “फेरि आफ्नो वास्तविक अनुहार देखाएको” बताएका छन्।
EU ले यस घटनापछि रूसी कार्यवाहक राजदूतलाई बोलाउने निर्णय गरेको छ भने बेलायतले पनि लण्डनस्थित रूसी राजदूतलाई तलबारा दिएको छ।
ब्रिटिश काउन्सिलले आफ्नो कार्यालय गम्भीर रूपमा क्षतिग्रस्त भएकाले अर्को सूचना नआएसम्म बन्द गर्ने जनाएको छ।
भोन डेर लायनले रूसविरुद्ध १९औँ चरणको नयाँ प्रतिबन्ध प्याकेज तयारी भइरहेको घोषणा गरेकी छन्। साथै, उनले लाट्भिया, फिनल्यान्ड, एस्टोनिया, पोल्यान्ड, बुल्गेरिया, लिथुआनिया र रोमानिया गरी सात EU सदस्य राष्ट्रको भ्रमण गर्ने योजना सार्वजनिक गरेकी छन्।
यसैबीच, अमेरिकी प्रयासमा राष्ट्रपति ट्रम्पले जेलेन्स्की र पुटिनबीच शिखर बैठक आयोजना गर्ने योजना अघि सारे पनि हाल स्थगित भएको छ। अमेरिकी प्रतिनिधि टोलीले शुक्रबार न्युयोर्कमा यूक्रेनी प्रतिनिधिसँग छलफल गर्नेछ, जहाँ “सुरक्षा प्रत्याभूति” सम्बन्धी सैन्य, राजनीतिक र आर्थिक पक्षबारे छलफल हुनेछ।
Image : BBC correspondent Dmitry Vlasov photographed parts of Kyiv affected by the attack
प्रतिक्रिया